दिनदिनै म विद्यालय गएर पढेको जस्तै, दिनदिनै मेरी ममीले विद्यालयमा गएर पढाएको जस्तै मेरा बाबा पनि दिनदिनै कार्यालय जानुहुन्छ । म त विद्यालय गएर पढ्छु तर बाबाचाहिँ कार्यालय गएर के के गर्नुहुन्छ होला ? कार्यालय किन जानुहुन्छ होला भन्ने प्रश्न मेरो मनमा बसिरहन्थ्यो । एकदिन त मलाई पनि बाबाको कार्यालयमा जाउँ जाउँ लाग्यो । मेरो विद्यालयमा छुट्टी थियो । मैले बाबा र ममीलाई नै आपूm बाबाको कार्यालयमा जान चाहेको कुरा भनेँ । यस कुरामा बाबा र ममी नै सहमत हुनुभयो तर अब भने मलाई डर पो लाग्न लाग्यो । ‘बाबाको कार्यालयमा के पो होला ? गएर के गर्ने होला ? को कोसँग भेट हुने होला’ यस्तो पो मनमा खेल्न लाग्यो । बाबासँगै बाबाको कार्यालयमा काम गर्ने अङ्कलहरूसँग त कहिलेकाहीँ मैले भेटेको थिएँ । उहाँहरूसँग थोरै थोरै कुरा पनि गरेको थिएँ तर राम्रोसँग बोलचाल गरेको थिइनँ । ती अङ्कलहरूले के पो भन्नुहोला भन्ने मनमा लाग्यो तर जान्छु भनेपछि जान्छु भन्ने ठानेर म बाबासँगै उहाँको कार्यालयमा गएँ ।
बाबाको कार्यालयको मूलढोकामै पुलिसको जस्तो पोसाक लगाएका गार्ड बस्नु हुँदोरहेछ । उहाँले मलाई त स्यालुट पो गर्नु भयो । मलाई खुसी लाग्यो । म बाबाको पछि पछि सिँढी चढ्दै उहाँ बस्ने कोठामा पुगेँ । सबैले सबैलाई नमस्कार गर्न लाग्नुभयो । मलाई पनि पो नमस्कार गर्न लाग्नुभयो । म त छक्कै परेँ । धेरैजसो ठाउँमा हामी सानाले नै ठूलालाई नमस्कार गर्नुपर्ने देखेको हुँ मैले तर बाबाको अफिसमा त सानालाई पनि पो ठूला मानिसले नमस्कार गर्दा रहेछन् । जसले पहिला देख्यो, उसले अर्कोलाई नमस्कार गरिहाल्ने ! मनमनै रमाइलो लाग्यो ।
बाबाले मलाई धेरै अङ्कलअन्टीहरूसँग परिचय गराइदिनुभयो । सबै जसोले मलाई केही न केही सोध्नुभयो । सुरु सुरुमा बोल्न अलि लाज वा डर लागे पनि पछि त मजाले बोल्न मन लाग्यो । बाबाले पनि ‘बोल्नुपर्छ है’ भन्नुभयो । म सबैसँग खुलेर बोल्न लागेँ ।
बाबा आफ्नो ल्यापटपमा हेर्दै काम पनि गर्न लाग्नुभयो । यसलाई इमेल गर्ने, उसलाई फोन गर्ने, विद्यालय निर्माणका काम कतिको हुँदै छन् ? बालबालिकालाई पुस्तकहरू पुगे कि पुगेनन् ? पढाइ शिविरहरू कसरी चलिरहेका छन् ? कुन फाइलहरूमा के के लेखेका छन्, कसरी यसलाई अगाडि बढाउने ? यस्ता छलफल गर्न लाग्नुभयो । विद्यालयमा हामीले दिनभरि पढ्ने काम भएको जस्तै कार्यालयमा पनि धेरै पो काम हुँदा रहेछन् । बालबालिका, शिक्षक, पढाइ सहजकर्ताहरूलाई तालिम पनि दिँदोरहेछ बाबाको कार्यालयले । म पनि त्यस्तो तालिममा सहभागी हुन पाए भन्ने आशा मनमा आयो ।
म यो कुरा बाबालाई भन्छु भन्ने पनि मनमा राखेँ । कार्यालयमा विभिन्न शाखा हुँदा रहेछन्, हाम्रो शरीरका विभिन्न अङ्ग भएजस्तै । अनि सबै जना एक आपसमा मिलेर काम गर्दा रहेछन् । धेरै मानिस भए पनि कार्यालयमा कुनै पनि हल्ला थिएन । हामी कक्षाकोठामा अलि बढी नै हल्ला गर्दा रहेछौँ । एक दिनमा मैले धेरै कुरा सिक्न पाएँ । बेलाबेलामा फरक–फरक कार्यालयमा जान पाए, कति धेरै कुरा सिक्न सकिन्थ्यो होलाजस्तो पनि लाग्यो ।