• १२ साउन २०८१, शनिबार

गोल्डेन बुटको दौडमा एमबापे अगाडि

blog

दोहा, मङ्सिर २३ गते। विश्वकप फुटबलमा सबैभन्दा बढी गोल गरेर गोल्डेन बुट जित्ने खेलाडीको पनि ठूलो चर्चा हुने गर्छ। कतार विश्वकपमा पनि गोल्डेन बुट जित्ने खेलाडीको धमिलो तस्बिर बिस्तारै सफा हुँदै छ। विश्वकपको इतिहास हेर्ने हो भने प्रायः विश्व फुटबलका महान् स्ट्राइकरले गोल्डेन बुट जितेको पाइन्छ। सन् १९८२ मा गोल्डेन बुटको सम्मान पहिलो पटक प्रस्तुत गरिएको हो। यद्यपि सोभन्दा अघिका विश्वकपमा पनि सम्मान गर्ने परम्परा थियो।

समान गोलका कारण खेलाडीलाई छुट्याउन नसकेमा अन्य गोलमा सहयोगीको भूमिका सबैभन्दा बढीले जसले निर्वाह गरेको छ, उसैलाई गोल्डेन बुटको सम्मान दिइन्छ। यसपछि पनि अझै एकभन्दा बढी दाबेदार भएमा कम समय मैदानमा बिताएर बढी गोल गरेका खेलाडीलाई गोल्डेन बुटको योग्य ठानिन्छ। यसपालि पनि प्रिक्वाटरफाइनल सकिँदा प्रतिष्ठित गोल्डेन बुटको होडमा केही खेलाडी देखिसकेका छन्। जसमा फ्रान्सका स्ट्राइकर किलियन एमबापेको नाम सबैभन्दा अगाडि छ।

२३ वर्षीय एमबापेले क्वाटरफाइनलअघि नै कतार विश्वकपमा ठूलो प्रभाव पारिसक्नुभएको छ। विश्व फुटबलका राजकुमारको उपमा पाएका एमबापेले चार खेलमा पाँच गोल गर्नुका साथै दुई असिस्ट पनि गर्नुभएको छ। फ्रान्सको आक्रमणको उहाँ सेनापति हुनुहुन्छ। एमबापेले आफ्नो गोल सङ्ख्या अझ वृद्धि गर्ने अपेक्षा गरिएको छ। हालका लागि उहाँ गोल्डेन बुटका प्रमुख दाबेदार हुनुहुन्छ।गोल्डन बुटको होडमा एमबापेलाई अर्जेन्टिनाका लियोनेल मसी, नेदरल्यान्ड्का कोडी गाक्पो र इङ्ग्ल्यान्डका मार्कस ¥यासफर्डले तीन–तीन गोल गरेर पछ्याइरहनुभएको छ। 

नेदरल्यान्ड्सका कोडी गाक्पो यस विश्वकपमा चम्किएका फरवार्ड हुनुहुन्छ। पीसभी आइन्डहोनका फरवार्डले समूह चरणका तीन खेलमा गोल गर्नुभएको थियो। यस विश्वकपमा नेदरल्यान्ड्सका लागि तीनै खेलमा पहिलो गोल गाक्पोले नै गर्नुभएको हो।  गाक्पो नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालको प्रमुख हतियार हुनुहुन्छ।

गाक्पोको टिम नेदरल्यान्ड्सले क्वाटरफाइनलमा अर्जेन्टिनाविरुद्ध खेल्दै छ। अर्जेन्टिनाका कप्तान मेसी र गाक्पोबीच सो खेलमा आआफ्नो गोल अन्तर बढाएर गोल्डेन बुटको अझ नजिक पुग्ने प्रतिस्पर्धा पनि हुनेछ। यस संस्करणलाई मेसीको अन्तिम विश्वकप मानिएको छ। मेसीले आफ्नो सम्भवतः अन्तिम विश्वकपमा गज्जबको प्रदर्शन पनि गरिरहनुभएको छ। मेसीले चार खेलमा तीन गोल गर्नुका साथै एक असिस्ट गर्नुभएको छ। पोल्यान्डविरुद्धको खेलमा पेनाल्टीमा गोल गर्न नचुकेको भए मेसीको सम्भावना थप बलियो हुने थियो।

सन् २०१४ मा मेसीले विश्वकपको सर्वश्रेष्ठ खेलाडी घोषित भएर गोल्डेन बल जितिसक्नुभएको छ। यस पटक आफ्नो सङ्ग्रहमा विश्वकपको गोल्डेन बुट थप्ने अवसर मेसीसमक्ष छ। 

विश्वकपमा इङ्ग्ल्यान्डका स्ट्राइकर शानदार लयमा छन्। त्यसैले समूह चरणमा तीन गोल गरिसकेका फरवार्ड ¥यासफर्डले सेनेगलविरुद्ध पहिलो रोजाइमा स्थान पनि पाउनुभएन। ¥यासफर्डले उक्त खेलमा मात्र पहिलो रोजाइमा खेल्नुभएको छ तर पनि ¥यासफर्डले प्राप्त कम मौकामा नै आफूलाई साबित गरिसक्नुभएको छ। यस विश्वकपमा ¥यासफर्डका गोल निकै दर्शनीय छन्। एजेन्सी