• १२ वैशाख २०८१, बुधबार

भूकम्पले क्षतिग्रस्त स्वास्थ्य संस्था पुनर्निर्माण गरिँदै

blog

बनेपा समाचारदाता

काभ्रेपलाञ्चोक, मङ्सिर २२ गते । २०७२ सालको भूकम्पबाट क्षति पुगेका काभ्रेपलाञ्चोक जिल्लाका २६ वटा स्वास्थ्य संस्था पुनर्निर्माणको कामले गति लिएको छ । 

सघन सहरी तथा भवन निर्माण आयोजना काठमाडौँका अनुसार भूकम्पबाट क्षति भएका काभ्रेपलाञ्चोकका २६ वटा स्वास्थ्य संस्थामध्ये १४ वटा नेपाल सरकार र १२ वटा स्वास्थ्य संस्था भारत सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ । भारत सरकारको सहयोगमा महाभारत गाउँपालिकामा रहेको बनखु स्वास्थ्य चौकीको भवन निर्माण जग्गा विवादका कारण हालसम्म पनि काम भने सुरु हुन सकेको छैन ।

आयोजनाका इन्जिनियर निकास रेग्मीका अनुसार भारत सरकारको सहयोगमा नाला स्वास्थ्य चौकी र चण्डेनीमण्डन स्वास्थ्य चौकी निर्माणपछि हस्तान्तरणको चरणमा रहेको छ । 

दुवै स्वास्थ्य चौकीको भवनको सबै काम सकिए पनि भवनबाहिरको पर्खाल र आँगनमा ब्लक ओछ्याउने काम बाँकी रहेको उहाँले बताउनुभयो । रेग्मीले निर्माणाधीन स्वास्थ्य चौकीका भवनमध्ये जिल्लाको महाभारत गाउँपालिकाको गोकुले स्वास्थ्य चौकी भवनको फिनिसिङ, साल्धारा स्वास्थ्यचौकीको दोस्रो ढलान, फलामेटार स्वास्थ्य चौकीको पहिलो ढलानको काम भइरहेको बताउनुभयो । 

यसैगरी जिल्लाको पनौती स्वास्थ्य चौकीको भवनमा रङरोगन गर्ने, फोक्सिङटार स्वास्थ्य चौकीको प्लास्टरको काम भइरहेको छ । जिल्लामा निर्माणाधीन स्वास्थ्य चौकीको ६० प्रतिशत काम सम्पन्न भएको भन्दै उहाँले भारत सरकारको सहयोगमा निर्माण भइरहेका दुईवटा स्वास्थ्य चौकीको निर्माणको समय पुस मसान्तमा सकिन लागेकोले म्याद थपको प्रक्रिया अघि बढाइएको बताउनुभयो । 

नेपाल सरकारबाट दोलालघाट स्वास्थ्य चौकी, रविओपी, महेन्द्रज्योति, चापाखोरी, ढुङ्खर्क, खरेलथोक, खनालथोक, सिसाखानी, अनैकोट, महादेवटार, मथुरापाटी र सरमथली स्वास्थ्य चौकीको भवन पुनर्निर्माण भइरहेको छ । नेपाल सरकारले पुनर्निर्माण भएको ठूलोपर्सेल स्वास्थ्य चौकी र सिम्थली स्वास्थ्य चौकीको भवन हस्तान्तरण भई सञ्चालनमा आइसकेको आयोजनाले जनाएको छ । 

यस्तै भारत सरकारको सहयोगमा पहिलो चरणमा जिल्लाको चण्डेनीमण्डन स्वास्थ्य चौकी, खोपासी, नाला, फोक्सिङटार, साल्धारा, फलामेटार स्वास्थ्य चौकीको भवन र दोस्रो चरणमा धुलिखेल आयुर्वेद, पनौती स्वास्थ्य चौकी टौखाल, गोकुले, मिल्चे, चौँरीदेउराली र बनखुचौर स्वास्थ्य चौकी निर्माण भइरहेको छ । 

पहिलो चरणका भवन निर्माणको लागि १९ करोड ७० लाख र दोस्रो चरणका भवन निर्माणका लागि १९ करोड ७० लाख रुपियाँ भारत सरकारले सहयोग उपलब्ध गराएको छ । काभ्रेका स्वास्थ्य चौकी भवन पुनर्निर्माणका लागि करिब ५७ करोड रुपियाँ खर्च हुने सघन सहरी तथा भवन निर्माण आयोजना काठमाडाँैले जनाएको छ ।