• ६ वैशाख २०८१, बिहिबार

दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या बढ्दै

blog

बनेपा समाचारदाता

काभ्रेपलाञ्चोक, मङ्सिर २२ गते  । अदालतमा दर्ता भएका मुद्दा प्रकृतिको आधारमा अधिकतम डेढ वर्ष (१८ महिना)भित्र टुङ्गो लाग्नुपर्ने उल्लेख भए पनि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या बढ्दो मात्रामा रहेको छ । 

सर्वोच्च अदालतको मुद्दा व्यवस्थापनसम्बन्धी दिग्दर्शन २०७६ मा अदालतमा दर्ता भएका मुद्दा १८ महिनाभित्र टुङ्गिनुपर्ने उल्लेख भए पनि अदालतमा दुई वर्षमाथिका दुई सयभन्दा बढी मुद्दा फर्स्योट हुन बाँकी रहेका छन् । 

जिल्ला अदालतको मङ्सिर १६ गतेसम्मको तथ्याङ्क हेर्दा अदालतमा दुई वर्षमाथिका २२४ वटा  मुद्दाको टुङ्गो लाग्न सकेको छैन । दुई वर्ष माथिका कुल २२४ मुद्दामध्ये ६१ वटा मुद्दा भने तीन वर्ष नाघेका छन् । 

सर्वोच्च अदालतको दिग्दर्शनमा सरल प्रकृतिका मुद्दा छ महिनाभित्र, सामान्य प्रकृतिका मुद्दा एक वर्षभित्र र विशेष प्रकृतिका मुद्दा डेढ वर्षभित्र टुङ्ग्याउनुपर्ने उल्लेख छ । सर्वोच्च अदालतले डेढ वर्षभित्र मुद्दाको टुङ्गो लाग्नुपर्ने उल्लेख गरे पनि दुई वर्षभन्दा बढी समयसम्म पनि मुद्दाको टुङ्गो नलाग्दा पीडितले समयमा नै न्याय पाउन नसकेको अनुभूति गरेका छन् । मुद्दाका पक्षहरूले अदालतमा आउने र जाने खर्चसमेत बढेको छ । 

अदालतका स्रेस्तेदार गोविन्दप्रसाद घिमिरेले कार्यविधि झन्झटिलो, मुद्दाको आवश्यक अङ्ग पुर्‍याउन लाग्ने समय, भौगोलिक कारणले म्याद तामेलीमा ढिलाइ, मुद्दामा संलग्न सरोकारवाला कार्यालयले मुद्दासम्बन्धी कागजात समयमा नै उपलब्ध नगराइदिने कारणले मुद्दाको टुङ्गो लाग्न ढिलाइ हुने गरेको बताउनुभयो । 

उहाँले सरकारवादी मुद्दामा समयमा परीक्षण प्रतिवेदन उपलब्ध नहुनु, जाहेरवालालगायत सरकारी साक्षीहरू अदालतले तोकेको मितिमा उपस्थित नहुनु, पीडितहरू अदालतमा उपस्थित हुन नचाहनु कारणले पनि मुद्दाको फर्स्योटमा ढिलाइ हुने गरेको बताउनुभयो । 

उहाँले तीन तहका निर्वाचनका कारण तथा कानुन व्यवसायीले पटक÷पटक पेसी स्थगित गर्दा मुद्दाको फर्स्योटमा ढिलाइभएको बताउनुभयो । जिल्ला अदालतमा हाल फर्स्योट हुन बाँकी रहेका एक हजार ७३१ मुद्दामध्ये छ महिनाभित्रको ४५० थान, छ महिनादेखि एक वर्षभित्रको ५०१ थान, एक वर्षदेखि १८ महिनाभित्रको २०२ थान, १८ महिनादेखि दुई वर्षभित्रको २१२ थान र दुई वर्षमाथिको २२४ थान मुद्दाको फर्स्योट हुन बाँकी रहेको छ । 

चालू आर्थिक वर्षका लागि गत आर्थिक  

वर्षबाट एक हजार ५५४ मुद्दाको जिम्मेवारी सरेर आएको थियो । यस वर्ष ६२६ नयाँ मुद्दा दर्ता भएको अदालतले जनाएको छ । गत वर्षको जिम्मेवारी सरेर आएको र 

यस वर्ष दर्ता भएको मुद्दा गरी हालसम्म दुई हजार १८१ थान मुद्दा रहेकोमा साढे चार महिनाको अवधिमा ४५० थान मुद्दा फर्स्योट भएको अदालतले जनाएको छ । 

अदालतका स्रेस्तेदार घिमिरेले अदालतमा फर्स्योट हुन बाँकी रहेका पुराना मुद्दालाई छिटो फर्स्योट गर्ने अभियान चलाइएको बताउनुभयो । 

उहाँले दुई वर्ष नाघेका मुद्दालाई छिटो व्यवस्थापन गर्नका लागि सातदेखि दस दिनको मात्रै तारिख दिन सुरु गरिएको बताउनुभयो । उहाँले मुद्दाको चाँडो व्यवस्थापनका लागि सरोकारवालासँग माग गरेका कागजात छिटो प्राप्त गर्नका लागि कार्यालय प्रमुखलाई सम्बोधन र ताकेता गर्न सुरु गरिएको बताउनुभयो ।