• ७ वैशाख २०८१, शुक्रबार

काठमाडौं महानगर दिवस साताव्यापी मनाइँदै

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर २१ गते । सप्ताहव्यापी विविध कार्यक्रमसहित २८ औँ काठमाडौं महानगर दिवसका कार्यक्रम आयोजना हुँदैछन् । मङ्सिर २३ गते महसुस यात्रा र विशेष सरसफाइबाट औपचारिक रूपमा सुरु हुने कार्यक्रम २९ गते वसन्तपुरमा आयोजना हुने मूल समारोहसँग समापन हुनेछन् । दिवसको अवसरमा पारेर यस अघि पनि विद्यालय स्तरमा विशेष प्रतियोगिताहरू सञ्चालन भइरहेका छन् । 

अनलाइनमार्फत सेवाग्राही सर्वेक्षण, मौलिक बाजागाजामा युवाहरूको रुचि बढाउन धिमे बाजा प्रतियोगिता, विद्यालयका विद्यार्थीहरू लागि चित्रकला र निबन्ध लेखन, शिक्षकस्तरमा वक्तृत्वकला, जेलभित्रका विद्यालय, फरक क्षमता भएका (सुस्त श्रवण, सुस्त मनस्थिति, विशेष विद्यालय) विद्यार्थीहरूका लागि कुर्सी दौड प्रतियोगिता, महानगरका कर्मचारीका बिचमा हाजिरी जवाफ प्रतियोगिता आयोजना हुनेछन् ।  

परम्परागत गुरुहरूको सम्मान, मेयर ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्री फुटबल खेल, महिला जनप्रतिनिधि र कर्मचारीका लागि कुर्सी दौड प्रतियोगिता आयोजना हुनेछन् । 

कलाहरूको प्रवर्धन गर्न मङ्सिर २९ गते प्रतियोगितात्मक चित्रकला प्रदर्शनी र तस्बिर प्रदर्शनी हुनेछ । महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्न उद्यमी मेला र स्थानीय परिकारको प्रवर्धन गर्न खाना मेला हुनेछ । 

दिवस विशेष आयोजना गरिने यी कार्यक्रमसँगै गुणस्तरीय र पहुँचयुक्त स्वास्थ्य, प्रतिस्पर्धी र व्यावहारिक शिक्षा, मूर्त अमूर्त सम्पदाको सन्तुलित विकास, संरक्षण र प्रवर्धनका क्षेत्रमा काम गरिरहेका छौँ । सहरी विकासका लागि काम गर्ने सरकारी कार्यालयहरूमा छरिएर रहेको योजना, स्रोत र कार्यक्रमलाई समेटेर एकीकृत पूर्वाधार विकासको प्रयास थालिएको छ । 

सिफारिस लिन, राजस्व तिर्न, भवन नक्सा स्वीकृति लिन जस्ता कामका लागि कार्यालय पुग्नै नपर्ने व्यवस्थाका लागि प्रणाली विकास भइसकेको छ । 

ई—वीपीएस, इजलास, ई—सिफारिसजस्ता प्रणालीबाट हातमै रहेको मोबाइलबाट यी सेवा प्राप्त गर्न सकिन्छ । नागरिकका गुनासा सुन्न तथा समस्याको समाधान गर्न कल सेन्टर सञ्चालन गरेका छौँ । महानगरका महत्त्वपूर्ण छलफल तथा बैठकहरू तत्काल हेर्नका लागि प्रत्यक्ष प्रसारणको वातावरण मिलाएका छौँ । 

उत्थानशील सहर निर्माणका लागि भवनलगायतका संरचनागत जोखिमलाई घटाउन मापदण्डको पूर्ण पालनामा हाम्रो जोड छ । सहरी सुन्दरता बढाउने होर्डिङ बोर्ड नियमन गर्ने, सार्वजनिक यातायात प्रणाली र पार्किङमा सुधार गर्ने काम प्राथमिकताका साथ नियमित भइरहेका छन् । फोहोरमैला व्यवस्थापनका लागि समन्वय, साझेदारिता र सहकार्यको प्रयास भइरहेको छ ।