• ११ वैशाख २०८१, मङ्गलबार

चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन नेता पौडेलेको निर्देशन

blog

नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेल । फाइल तस्बिर

काठमाडौं, मङ्सिर २१ गते। नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई छिटो अगाडि बढाउन निर्देशन दिनुभएको छ। 

बुधबार एकान्तकुना ललितपुरस्थित काठमाडौं चक्रपथ सुधार योजनाको कार्यालयमा पुगेर नेता पौडेलले चक्रपथ विस्तारको सम्बन्धमा भइरहेको कामको जानकारी लिनुभएको हो। 

उहाँले चक्रपथ विस्तारको काममा ढिलासुस्ती हुँदा आम नागरिकलाई समस्या परिरहेको भन्दै छिटोभन्दा छिटो बाँकी रहेका कामलाई अगाडि बढाउन निर्देशन दिनुभएको हो। उहाँले विष्णुमती र सामाखुसी खोलामा वर्षातको समयमा हुने डुबान र सडक विस्तारको क्रममा ढल निकासको समस्यालाई पनि समाधान गर्नेगरी काम गर्न आग्रह गर्नुभयो।

पौडेलले स्थानीय समस्याको समाधान गर्दै दोस्रो चरणको कलङ्कीदेखि वसुन्धरासम्मको सडक विस्तारको काम र तेस्रो चरणको वसुन्धरादेखि चाबहिलसम्मको कामलाई पनि तत्काल सुरु गर्न आग्रह गर्नुभयो। 

उहाँले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय लगायतका सरोकारवाला निकायसँग पनि आफूहरूले कुरा गर्ने भन्दै चक्रपथ विस्तारलाई छिटो अगाडि बढाउने परिस्थिति निर्माण गर्न लागि पर्ने बताउनुभयो। 

नेता पौडेलसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै काठमाडौं चक्रपथ सुधार योजनाका प्रोजेक्ट म्यानेजर सजना अधिकारीले दोस्रो चरणको काम अन्तर्गत कलङ्की वसुन्धरासम्मको सडक खण्डमा काम भइरहेको जानकारी गराउनुभएको छ। उहाँले उपभोक्ताले ढल निर्माणको माग राख्नुभएको र स्थान अपुग भएका कारण ढल हाल्न नसक्ने समस्या परिरहेको भन्दै यस सम्बन्धमा स्थानीयसँग छलफल भइरहेको उल्लेख गर्नुभयो।