• ७ वैशाख २०८१, शुक्रबार

कामका लागि बाहिर जाने पुरुषलाई महिलाको परामर्श

blog

डोटीको आदर्श गाउँपालिका –५ मा रहेको दुर्गा आप्रवासी समुहका सदस्यहरु सुरक्षित आप्रवासन, आयआर्जन लगायतका बिषयमा छलफल गर्दै । तस्बिर : डिलबहादुर सिंह

डिलबहादुर सिंह 

डोटी, मङ्सिर २१ गते । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाका ग्रामीण क्षेत्रबाट अधिकांश पुरुषहरू कामका लागि भारत जाने गरेका छन् । नेपाल–भारत खुला सिमाना, भारतमा न्यून ज्यालामा समेत जोखिमपूर्ण काम गर्नुपर्ने बाध्यताले कामका लागि भारत गएकाहरूले उल्टै दुःख पाउने गरेका छन् । सो दुःख नहोस् भनेर महिलाले पुरुषलाई परामर्श दिने गरेका छन् । 

पछिल्लो समय कामका लागि भारत लगायतका तेस्रो मुलुक जाँदा भोग्नु पर्ने समस्या र समाधानका उपाय बारेमा महिलाले जनचेतनामूलक कार्यक्रम गर्न थालेका छन् । डोटीको विभिन्न स्थानीय तहमा गठन भएका आप्रवासी समूहमा आबद्ध महिलाले यात्राका क्रममा बोक्न पर्ने कागजपत्र, समस्या पर्दा सम्पर्क गर्ने व्यक्ति तथा स्थान, काम गर्दा गर्नु पर्ने व्यवहार, रकम पठाउँदा बैङ्कको प्रयोग लगायतका विषयमा छलफल थालेका छन् ।

डोटीको आदर्श गाउँपालिका –५ मा रहेको दुर्गा आप्रवासी समूहका अध्यक्ष देवी बोहराका अनुसार सकेसम्म आफ्नै गाउँ ठाउँमा केही गर्नु राम्रो हो । बाध्यताले कामका लागि विदेश जानेहरूलाई यात्राका क्रममा आइपर्ने समस्याको बारेमा जानकारी गराइएको छ । 

वैदेशिक रोजगारी सहज र राम्रो होस् भनेर समूहको तर्फबाट कामका लागि विदेश जानेहरूलाई बिदाइ र घर फर्किनेलाई स्वागत गर्ने गरिएको बोहराले बताउनुभयो । घर फर्कनेले विदेशमा काम गर्दा भोग्नुपरेको समस्याको बारेमा जानकारी गराउँदा कामका लागि जाँदैगरेकालाई समेत यात्रामा सहज भएको समूहकी अर्का सदस्य सरु बोहराले बताउनुभयो ।  

अधिकांश पुरुष कामका लागि भारत गएका कारण समूहमा महिला बढी देखिने गरेको महिलाको भनाइ छ । मासिक रूपमा समूहको बैठकमार्फत बचत सङ्कलन गर्ने, ऋण प्रवाह गर्ने आयआर्जन लगायतका क्रियाकलापमा सहयोग गर्ने गरिएको छ । आप्रवासी समूहकी चन्द्रिका विष्टले भन्नुभयो, ‘कामका लागि धेरैका श्रीमान् भारतमा छन् । काम गर्ने क्रममा सधैँ समस्या पर्दैन भन्ने छैन ।’ 

घरमा भएका महिलालाई बाख्रापालन, कुखुरापालन, तरकारी खेती लगायतका आय आर्जनका क्रियाकलाप गर्न प्रेरित गर्ने गरिएको विष्टले बताउनुभयो । समस्यामा परेर श्रीमान् पैसाबिना नै घर फर्किए पनि घर खर्चमा समस्या नहोस् र नेपालमै पनि केही गर्न सकिन्छ भन्ने देखाउन पनि आयआर्जनका काममा सरिक गराएको उहाँले बताउनुभयो । 

भारतमा लामो समयसम्म काम गरेका पुरुषहरू पनि प्रवासी समूहमा आबद्ध भए पश्चात् स्थानीयस्तरमा नै व्यवसाय गरेर बस्न थालेका छन् । भारतमा तीन वर्षसम्म होटलमा खाना पकाउने काम गरेर मासिक ३० हजार आम्दानी गर्दै आउनुभएको छ । 

डोटीकै आदर्श गाउँपालिका –५ भाडसैनका शेरबहादुर भाटले स्थानीयस्तरमा नै विद्युतीय सामग्रीहरूको पसल राखेर राम्रै आम्दानी गर्दै आउनुभएको छ । कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीले भारतमा गर्दैआएको काम छुट्टिएपछि घर फर्किनु भएका भाट निड्स नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालन गरेको तीन महिने हाउस वायरिङ्को तालिम लिएका थिए । सोपछि स्थानीय स्तरमा नै व्यवसाय सुरु गरेको उहाँको भनाइ छ ।

निड्स नेपाल नामक गैरसरकारी संस्थाले डोटीको शिखर नगरपालिका र आदर्श गाउँपालिकामा सुरक्षित आप्रवासका लागि लक्षित वर्गहरूको क्षमता विकास कार्यक्रम अन्तर्गत २५ वटा आप्रवासी समूहमार्फत कार्यक्रम गर्दैआएको छ ।