• १३ पुस २०८१, शनिबार

ईर्ष्याको अत्यास

blog

भनिन्छ, ईर्ष्या गर्नु हुँदैन । धर्मशास्त्र यही भन्छ, धर्मगुरु यही भन्छन्, घरपरिवार यही भन्छन्, समाज यही भन्छ तर ईर्ष्या नगरी बस्न भने कोही पनि सक्दैनन् । किन कि यो मानवीय स्वभाव हो । मानिसको जन्मजात छवटा गुणमा यो पनि पर्छ, जुन जन्मसँगै आउँछ र जीवनपर्यन्त साथै रहन्छ । त्यसैले ईष्र्या गर्नुहुन्न भन्ने होइन गर्नुपर्छ भन्ने हो तर व्यक्तिको होइन उसले गरेको कामको । व्यक्तिको ईष्र्या गर्न थाले चौपट हुन्छ, काम गर्न थाले प्रगति गर्न सकिन्छ । 

भागवतमा एउटा कथा छ । प्राचीनकालमा कश्य प्रजापतिका १३ वटी रानी थिइन् । तिनमा जेठीको नाम दिती थियो, माइलीको नाम अदिती ।  दितीका छोराहरू दानवमा पर्थे, जसलाई असुर पनि भनिन्थ्यो, अदितीका छोराहरू देवतामा पर्थे, जसलाई सुर पनि भनिन्थ्यो । आफ्ना छोराहरूका भन्दा सौताका छोराहरूका प्रगति दितीलाई मन परेन र देवताहरू खासगरी उनीहरूका राजा इन्द्रको ईष्र्या गर्न थालिन् । उनी चाहन्थिन् सौताको छोराहरूले भन्दा आफ्ना छोराहरूले प्रगति गरुन् तर चाहेको भरमा किन हुन्थ्यो र । प्रगति गर्न पौरख गर्नुपथ्र्यो, जुन उनका छोराहरूले जानेकै थिएनन् । 

यद्यपि दितीले इन्द्रलाई रोकेर आफ्नो छोराहरूलाई अघि बढाउन भरसम्भव प्रयास नगरेकी होइनन् तर जे गर्दा पनि केही लागेन । त्यसपछि उनी इन्द्रलाई नै सिध्याउने योजनामा लागिन् र त्यस्तै सन्तान जन्माउनका लागि एकान्तमा गएर पति कश्य प्रजापतिलाई फकाउन लागिन् । पहिले त कश्य प्रजापतिले कुरा सुन्नै चाहेका थिएनन् तर दितीको ढिपीको अघि उनको केही लागेन र कूटनीतिको सहारा लिएर पुंसवन नामक व्रतको नियम सुझाउँदै भने, “महारानी ! तिमीले साह्रै जिद्दी ग¥यौ । यदि त्यस्तो सन्तान नजन्माइ नछाड्ने हो भने नौ महिनासम्म यस व्रतको नियम पालन गर्नुपर्ने हुन्छ तर व्रतको नियम साह्रै कडा छ सानै चुक भयो भने पनि अनर्थ हुन सक्छ । यदि यसलाई पूर्ण गर्न सक्यौ भने तिमीले चाहेअनुसारको सन्तान जन्मनेछ ।” 

उनले व्रतको नियम कडा भएकाले दितीले सक्दिन भन्छिन् होला भन्ने ठानेर त्यसो भनेका थिए तर दिती त्यस्ता कुरामा ध्यान दिने पक्षमा दिइनन् । उनलाई जसरी भए पनि इन्द्रलाई मार्न सक्ने सन्तान चाहिएको थियो । तत्कालै अनुष्ठान सुरु गर्नतिर लागिन् । नियम कडा थियो । सबैरै उठ्नुपर्ने, चिसो पानीले नुहाउनुपर्ने, एक छाक खानुपर्ने, एकसरो कपडाले चिसो भुइँमा सुत्नुपर्ने, चिसो गोडाले सुत्न नहुने, ओभानो गोडाले पनि सुत्न नहुने यस्तैयस्तै तर दितीलाई यसको परवाह थिएन । उनलाई त जसरी भए पनि इन्द्रलाई मार्न सक्ने छोरो चाहिएको थियो । त्यसैले नियम पूर्वक अनुष्ठानलाई अघि बढाउन लागिन् । विस्तारै कुरा देवराज इन्द्रको कानसम्म पुगेकाले उनी जेठी आमाको व्रत भङ्ग गर्ने उद्देश्यले चियो गर्न लागे । 

दिन बित्दै गयो दितीको व्रत पनि नियमानुसार चली नै रह्यो । हुँदाहुँदा नौ महिना पूरा हुनै लाग्यो । दितीको गर्भमा तेजस्वी बालक हुर्कंदै गरेको छनक देखिन थालेकाले इन्द्रको बेचैनी बढ्दै गयो । यत्तिकैमा एक दिन दितीले व्रतको नियममा सानो चुक गरिन् । नियमानुसार सुत्नुअघि चिसो पानीले गोडा धोएपछि कपडाले पुछेर मात्र सुत्नुपर्ने थियो । 

सो अनुसार गोडा धुने काम पनि गरिन् तर थकानका कारण पुछ्न भने बिर्सिन् र चिसै गोडाले ओछ्यानमा पुगिन् । त्यसपछि यही मौका छोपेर इन्द्रले दितीको गर्भमा प्रवेश गरी गर्भस्थ शिशुलाई काटेर ४९ टुक्रा पारे तर व्रतको प्रभावले तिनको मृत्यु भने भएन । बरु हामीलाई नमार भन्दै रुन लागे । त्यसपछि इन्द्र नरोऊ भैगो मार्दिन भन्दै बाहिर निस्के । भोलिपल्ट बिहान दितीको गर्भबाट  एकएक गरी ४९ भाइ बाहिर निस्के । 

इन्द्र मार्ने एउटा छोरो पाउन व्रत गरेकोमा ४९ भाइ जन्मेको देखेर दितीले छक्क पर्दै सोधिन्, “बाबु हो ! यो के हो यो ? एउटा छोरो पाउन चाहेको थिएँ कसरी ४९ भयौ ?” आमाको कुरा सुनेर उनीहरूले रुँदै समग्र वृत्तान्त बताए । त्यसपछि दिती रिसले चुर भइन् र इन्द्रलाई बोलाएर भनिन्– “कपटी इ्रन्द्र ! तिमीले छल गरी धोका दियौ । यसको मूल्य तिमीलाई महँगो पर्नेछ । अहिले नै यस्तो कडा स्राप दिनेछु कि, जसलाई जीवनभर बिर्सन सक्ने छैनौ ।” 

दितीको कुरा सुनेर इन्द्र डराए । कदाचित कडा श्राप दिई हालिन् भने अनर्थ हुन्छ भन्ने ठानेर क्षमा माग्दै भने, “रिसानी माफ पाउँ जेठी आमा ! म निमित्त मात्र हुँ । मूल कारण तपाईं आफैँ हुनुहुन्छ । तपाईंले हिजो बेलुका चिसो गोडाले सुतेर व्रतको नियम भङ्ग गर्नुभयो त्यसैको फल पाउनुभएको हो ।”

बल्ल दितीको होस आयो । उनले  दैवको लीला ठानेर मन बुझाइन् र विनम्रतापूर्वक भनिन्, “बाबु इन्द्र ! जे भयो भयो छाडिदेऊ । बरु यी तेजस्वी ४९ भाइलाई कहाँ राखौँ । त्यसैले यिनीहरूलाई पनि देवताको पङ्क्तिमा स्थान दिएर आफ्नै साथमा राखिदेऊ ।”

यसलाई भने इन्द्रले टार्न सकेनन्  र उनीहरूलाई आफ्नै पङ्क्तिमा राखेर देवभाग दिन बाध्य भए । त्यस दिनदेखि ती ४९ भाइ देवताको हारमा बसेर ४९ वायुको नामले प्र्रख्यात भए, जसको वेदमा समेत व्यापक चर्चा भएको छ ।

यस व्यास कथामा के कति सत्यता छ उनै जानुन् तर जसले अर्काको ईर्ष्या गर्छ 

उसको अवस्था जहाँ पनि यस्तै हुन्छ भन्ने कुरा भने सत्य हो । 

महारानी दितीले इन्द्रको ईर्ष्या गरिन् । उनको उन्नति देखेर जलिन् र आफ्ना सन्तानलाई पनि इन्द्रको जस्तै पराक्रम गर्ने सल्लाह दिनुको सट्टा उल्टै इन्द्रलाई नै समाप्त पार्न खोजिन्,  जसले गर्दा आफैँले खडा गरेको समस्या समाधान गर्न उनै इन्द्रसित सहयोगको भीक्षा माग्नुपर्ने अवस्था आयो । 

उता इन्द्रको अवस्था पनि त्यस्तै छ । जेठी आमाले आफूलाई मार्न सक्ने सन्तान प्राप्त गर्न लागेको थाहा पाएपछि त्यसबाट बच्ने प्रयास गर्नतिर नलगी बालहत्या गर्नतिर लागे, जसले गर्दा जेठी आमासित माफी माग्नुपर्ने अवस्था मात्र आएन आफूहरूले दानव भनेर घृणा गर्दै आएको जेठी आमाको सन्तानलाई आफ्नै हारमा राखेर आफूले पाउँदै आएको भागबाट कट्टा गरी उनीहरूको भारण पोषण गर्नसमेत बाध्य हु्नुप¥यो ।