• १६ चैत २०८०, शुक्रबार

सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोजिने

blog

काठमाडौँ, मङ्सिर २० गते । सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौँ उपत्यकाका नदीकिनारमा बसिरहेका अव्यवस्थित बसोबासीको विकल्पसहित समाधान खोजिने बताउनुभएको छ । 

सहरी विकासमन्त्री चौधरीको कार्यकक्षमा ज्ञापनपत्र बुझाउन पुगेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एक टोलीसँगको भेटमा उहाँले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रालयले समिति नै गठन गरी काम अगाडि बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो समस्या आज नभए भोलि, भोलि नभए पर्सि त हल गर्नैपर्छ । हामी विकल्प खोज्दै छौँ । म पनि किसानको छोरा हुँ । सुकुम्बासीका समस्या बुझेको छु । तपाईंहरूकै बस्तीमा पुगेर, छलफल गरेर समाधान निकाल्नेछु । तपाईंहरू पनि सरकारको कानुन मानेर अगाडि बढ्नूस् ।”

मन्त्री चौधरीले सानो परिवारका लागि अपार्टमेन्ट व्यवस्था, ठूलो परिवारका लागि ठाउँ खोजी गरी घर बनाउन सुरु गर्ने बताउनुभयो । व्यवस्था नहुन्जेलसम्मका लागि उनीहरूको घरभाडा सरकारले तिरिदिने पनि मन्त्री चौधरीको भनाइ थियो ।

सुकुम्बासी बस्तीमा डोजर आतङ्क सुरु गरिएको, सिङ्गो बस्ती नै त्रसित हुन पुगेको र बाध्य भएर सडक आन्दोलनमा आउनुपरेकाले गम्भीरतापूर्वक उचित निकास निकाल्न टोलीले मन्त्रीसमक्ष आग्रह गरेको मन्त्री चौधरीको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।