• १५ वैशाख २०८१, शनिबार

ज्येष्ठ नागरिक अक्षयकोष स्थापना गर्दै फुङ्लिङ

blog

फुङ्लिङ नगरपालिकाद्वारा सम्मानित ज्येष्ठ नागरिकहरू । तस्बिर : चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १७ गते । फुङ्लिङ नगरपालिकाले ज्येष्ठ नागरिक अक्षयकोष स्थापना गर्ने भएको छ । एक सय वर्ष माथिका ज्येष्ठ नागरिकको उपकार तथा हितका लागि नगरपालिकाले उक्त अक्षयकोष स्थापना गर्ने भएको हो । 

फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले आगामी आर्थिक वर्ष २०८०/८१ बाट ज्येष्ठ नागरिक अक्षयकोष स्थापना गर्ने बताउनुभयो । नगर प्रमुख मादेनका अनुसार नगरपालिकाभित्र बसोबास गर्दै आएका सय वर्ष पूरा हुने ज्येष्ठ नागरिकका लागि प्रतिव्यक्ति पाँच लाख रुपियाँका दरले अक्षयकोष स्थापना गरिने भएको छ । ज्येष्ठ नागरिकको उपकार तथा  हितका लागि अक्षयकोष स्थापना गर्न लागिएको बताइएको छ । 

नगरपालिकाले स्थापना गर्ने ज्येष्ठ नागरिक अक्षयकोषको रकम सय वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई प्रदान गरिने नगरप्रमुख मादेनका स्वकीय सचिव अञ्चल गुरुङले बताउनुभयो । अक्षयकोषमा नगरभित्रका सय वर्ष पुग्ने ज्येष्ठ नागरिकको सङ्ख्याअनुसार पाँच लाख रुपियाँको कोष जम्मा हुने र सो कोषको ब्याजबाट प्राप्त हुने रकम ज्येष्ठ नागरिकलाई वार्षिक रूपमा प्रदान हुने गुरुङले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकले पाएको रकम औषधोपचार, लत्ताकपडा, खानपानलगायत आफ्नो आवश्यकता र इच्छाअनुसार खर्च गर्न सक्ने उहाँको भनाइ छ । 

यसैबिच फुङ्लिङ नगरपालिकाले नगरभित्रका ७० वर्ष माथिका २५० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बिहीबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण, आँखा जाँच साथै निःशुल्क चस्मा तथा औषधि वितरण गरी सम्मान गरिएको नगरपालिकाले जनाएको छ । 

ज्येष्ठ नागरिकमध्ये सबैभन्दा बढी उमेका एक जना महिला र एक पुरुषलाई विशेष सम्मान गरिएको फुङ्लिङ नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सीता गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार फुङ्लिङ नगरपालिका–३ की १०४ वर्षीया सञ्चमति पालुङ्वा लिम्बू र वडा नं १० का ९९ वर्षीय मानबहादुर तामाङलाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको छ । ज्येष्ठ नागरिकलाई नगरप्रमुख मादेन र उपप्रमुख भीमादेवी ओझा लगायतले सम्मान गर्नुभएको थियो । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।