• १३ वैशाख २०८१, बिहिबार

धनगढीको केही क्षेत्रमा निषेधाज्ञा

धनगढी तनावग्रस्त, ३७ सेल अश्रुग्यास प्रहार

blog

आन्दोलनरत विद्यार्थीलाई नियन्त्रणमा लिदैं प्रहरी। तस्बिर : सामाजिक सञ्जाल।

अविनाश चौधरी

धनगढी, मङ्सिर १६ गते। दोषीलाई कारबाहीको माग गर्दै निषेधाज्ञा उलङ्घन गरेर विद्यार्थी प्रदर्शनमा उत्रेपछि शुक्रबार धनगढी तनावग्रस्त बनेको छ। 

आफ्नो सहपाठीको ज्यान लिने दोषीलाई कारबाही हुनु पर्ने माग गर्दै विद्यार्थीले बिहीबारदेखि नै प्रदर्शन गरिरहेका छन्। उनीहरुले दोस्रो दिन पनि प्रदर्शन जारी राखेपछि स्थिति तनावग्रस्त बनेको हो। स्थितिलाई नियन्त्रणमा लिन ३७ सेल अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो। यसैगरी, विद्यार्थीसहित २१ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको उहाँको भनाइ छ।

सडक निर्माण गरिरहेको कालिका कन्स्ट्रक्सनको ग्रेडरले च्याप्दा धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालय कक्षा–८ मा अध्ययनरत १५ वर्षीया छात्रा चेतना साउदको बिहीबार ज्यान गएको थियो। 

घटनापछि दोषीलाई कडा कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै विद्यार्थीले आन्दोलन गरिरहेका छन्। स्थितिलाई नियन्त्रणमा लिन र थप क्षति हुन नदिनका लागि स्थानीय प्रशासनले बिहीबार बेलुकाबाट नै घटनास्थलसहित धनगढीको केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। 

ग्रेडर र चालक प्रहरी नियन्त्रणमा रहेकाले संयमता अपनाउन र कानुनी कारबाहीका लागि सहयोग गर्न आन्दोलनरत विद्यार्थी र विद्यालय परिवारलाई जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। आन्दोलनको कारण दोषी चालकमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन समस्या भइरहेको सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो। ‘दोषीमाथि कारबाही गर्न प्रहरी प्रशासन कटिबद्ध छ’, उहाँले भन्नुभयो,‘आन्दोलन रोकेर कारबाहीका लागि सघाउन सम्बद्ध सबैलाई हामी विनम्र आग्रह गर्दछौं।’ 

आन्दोलनरत विद्यार्थीले ग्रेडर चालकले आफ्नो सहपाठीको हत्या गरेको जिकिर गरेका छन्। उनीहरुले कडा कारबाहीको माग गरेका छन्। पञ्चोदय विद्यालय परिवारले विज्ञप्ति जारी गर्दै ग्रेडरको ठक्करबाट सामान्य घाइते छात्रा साउदको ग्रेडर ब्याक गरेर हत्या गरिएको ठहर गरेको छ। सो विद्यालयले छात्राको हत्या गर्ने व्यक्तिलाई कडाभन्दा कडा कानुनी कारबाही गर्नु पर्ने माग राखेको छ। 

मृतक छात्राका अभिभावक आइसकेकाले कानुनी प्रक्रिया अगाडि बढाउनका लागि छलफल भइरहेको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो। 

धनगढीको हसनपुरस्थित पिपल चौतारा नजिक सडक बनाइरहेको ना १ क ९७५ नम्बरको ग्रेडरले छात्रा साउदलाई कुल्चेको थियो। साउदको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। ग्रेडर चालक चितवनस्थित भरतपुर महानगरपालिका २७ वर्षीय विमल कुमाललाई प्रहरीले बिहीबारै नियन्त्रणमा लिइसकेको छ।