• १६ चैत २०८०, शुक्रबार

सडकको धुलोले सास्ती

blog

सर्लाही समाचारदाता

सर्लाही, मङ्सिर १६ गते । सर्लाहीका विभिन्न भित्री सडकमा धुलोका कारण सर्वसाधारण हैरान भएका छन्। जिल्लाको पूर्व–पश्चिम हुलाकी राजमार्गसहित अन्य भित्री सडकहरूमा अहिले असाध्य धुलो उड्ने गरेको छ। जसले गर्दा स्थानीयलाई आवतजावत गर्न निकै समस्या भइरहेको छ भने धुलोकै कारण उनीहरू बिरामी पर्न थालेका छन्।  

जिल्लामा हुलाकी सडकसँगै सलेमपुर–मदनपुर, हरिवन–कौडेनासहित अन्य भित्री सडकहरू जीर्ण भएर अत्यधिक धुलो उडिरहेको स्थानीयवासीले बताएका छन्। यहाँका २० वटै पालिकाका अधिकांश भित्री सडक अहिले धुलाम्मे अवस्थामा छन्। 

झन्डै एक दर्जन पालिकालाई सदरमुकाम मलङ्गवासँग जोड्ने जिल्लाकै प्रमुख पूर्व–पश्चिम हुलाकी सडक सबैभन्दा खराब छ। गाउँदेखि सदरमुकाम मलङ्गवासम्म पुग्दा धुलोले पूरै शरीर छपक्कै भई बिरामी नै पर्ने अवस्था रहेको पर्सा गाउँपालिका–४, जिगड्वाका केशव महतोले गुनासो गर्नुभयो। 

जिल्लाको पूर्वी भेग हरिपूर्वा, चन्द्रनगर, पर्सा, ब्रह्मपुरी तथा पश्चिमी भेग बलरा, गोडैता, विष्णु, चक्रघट्टा, रामनगर, कौडेनालगायत पालिकाका बासिन्दालाई सदरमुकामसम्म पुग्न निकै समस्या छ। धुलोले पैदलयात्री र मोटरसाइकल चालक बढी समस्यामा परिरहेका छन्। सडक छेउछाउका घरहरू धुलोले ढाक्ने गरेका छन्। हुलाकी सडकमा ठेकेदारले विभिन्न बहाना बनाएर काम नगर्दा जिल्लावासी लामो समयदेखि धुलोको सास्ती खेप्न बाध्य भइरहेका छन्।