• ६ फागुन २०८२, बुधबार

कुशासन र बेथितिको सटर बन्द गर्ने हो : लामिछाने

blog

धनगढीमा आयोजित सभामा रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायतका नेता ।

अविनाश चौधरी

धनगढी, फागुन ६ गते । पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकमा अब कुशासन र बेथितिको सटर बन्द गर्ने बताउनुभएको छ । धनगढीमा आज आयोजित सो पार्टीको ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सभापति लामिछानेले जनताका अधिकार र सुदूरपश्चिमका मुद्दालाई वर्षौँसम्म अल्झाउने काम अब बन्द गरिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “एउटा सटर त बन्द हुनैपर्छ । कि उनीहरूको सटर बन्द गराउनुहोस् कि त हाम्रो सटर बन्द गराइदिनुहोस् । अब कुशासन, बेथिति, बेरोजगारी र अशिक्षाको सटर बन्द गर्ने हो ।”

लामिछानेले मुलुकमा नेताले पटक–पटक जिते पनि जनताको जित कहिल्यै नभएको टिप्पणी गर्नुभयो । यस पटक जनतालाई जिताउने दाबी गर्दै उहाँले भन्नुभयो, “हामी इतिहास बदल्ने सोचले आएका छौँ। मेरो वा अरु कसैको राजनीतिक आकाङ्क्षा ठुलो कुरा होइन, देशको आशालाई केन्द्रमा राखेर हामी आएका छौँ ।” उहाँले जनतालाई भोट नबाँड्न आग्रह गर्दै यसलाई ऐतिहासिक अवसरका रूपमा लिन अनुरोध गर्नुभयो ।

राजनीतिक विकृति र विसङ्गतिको अन्त्य गर्ने बताउँदै लामिछानेले रास्वपाले पाँच वर्षका लागि स्थायी सरकार मागेको उल्लेख गर्नुभयो । “पहिलो पटक नेपालको इतिहासमा हामीले जनतासँग करार गरेका छौँ । वाचा पूरा भएन भने सजाय जसले वाचा गरेको हो, उसैले पाउनुपर्छ,” उहाँले भन्नुभयो ।

सभालाई रास्वपाका वरिष्ठ नेता एवं काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाहसहित सुदूरपश्चिमका उम्मेदवारहरूले पनि सम्बोधन गर्नुभएको थियो । सभामा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट ठुलो सङ्ख्यामा जनसहभागिता रहेको थियो ।