• ११ वैशाख २०८१, मङ्गलबार

अर्थतन्त्र चलायमान बनाउन साझेदारी आवश्यक

blog

काठमाडौँ, मङ्सिर १६ गते । मुलुकको अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको सम्बद्ध निकायका अधिकारी र राजनीतिक दलका नेता तथा सरोकारवालाले जोड दिएका छन् । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रमका वक्ताले अर्थतन्त्र सुधारको बाटोमा अगाडि बढेको भन्दै यसलाई थप चलायमान बनाउन नीतिगत र संरचनागत सुधार आवश्यक रहेको बताए । 

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा सङ्कट नभएको र समग्र अर्थतन्त्रका सूचकाङ्क पनि सुधारोन्मुख रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा देखिएका केही चुनौतीलाई सामना गर्न सरोकारवालासँग छलफल र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 

उहाँले यस क्षेत्रमा देखिएका चुनौतीलाई निजी क्षेत्रसँगको सहकार्यमा समाधान खोजिनुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्री शर्माले पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्रमा सुधार भइरहेको उल्लेख गर्नुभयो ।

“नेपालको अर्थतन्त्र सङ्कटमा छैन, हाम्रा अगाडि केही चुनौती छन् ती चुनौती सामना गर्ने उपाय खोज्नुपर्छ तर अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हो । नेपालमा मिश्रित खालको अर्थतन्त्र भएकाले तत्कालै सङ्कट र उचाइमा पुग्ने होइन,” यी समस्याको समाधानका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको चर्चा गर्दै उहाँले भन्नुभयो ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारको बाटोमा अगाडि बढे पनि यसभित्र केही कमजोरी रहेको बताउनुभयो । 

बजार सुधारका लागि आफूहरू खुला भएको चर्चा गर्दै उहाँले यसबाट निजी क्षेत्र सशङ्कित हुनुपर्ने अवस्था नरहेको धारणा व्यक्त गर्नुभयो । “समस्या समाधानका लागि हामी खुला छौँ । केही समस्या छन् भने समाधानका लागि हामी खुला छौँ,” गभर्नर अधिकारीले भन्नुभयो । उहाँले गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा यस वर्ष छ अर्ब बचत रहेको जानकारी दिनुभयो । अर्थतन्त्रमा रहेका कमजोरी सुधार गर्न जरुरी रहेको धारणा व्यक्त गर्दै उहाँले यसका लागि निजी क्षेत्रसँग छलफल र सहकार्य आवश्यक रहेको बताउनुभयो । 

निजी क्षेत्रसँग सहकार्य आवश्यक 

मुलुकको अर्थतन्त्रको सवाल र आगामी कार्यदिशा विषयक छलफलमा नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य (सांसद) गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउनुभएको छ । 

उहाँले अर्थतन्त्रको समस्यालाई अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताउनुभयो । “मुलुकको अर्थतन्त्र यही अवस्थामा चल्न सक्दैन । अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ,” उहाँले भन्नुभयो । अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक भएको उहाँको भनाइ छ ।

यसैगरी नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य (सांसद) विष्णु पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक भएको बताउनुभयो ।

“निजीकरण मोडेलमा त्रुटि भए सुधार गर्नुपर्छ । अर्थतन्त्र चलायमान बनाउनका लागि सही नीति र सही नेतृत्व आवश्यक छ,” उहाँले भन्नुभयो । उहाँले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि नीतिगत र संरक्षनागत सुधार हुनुपर्नेमा जोड दिनुभयो ।

निजी क्षेत्रलाई विश्वासमा लिन आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढे समृद्धिको लक्ष्य सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले नेपालले आर्थिक मुद्दालाई प्राथमिकतामा नराखेसम्म विकास र समृद्धि हासिल गर्न नसकिने भन्दै सरकार र निजी क्षेत्रको सहकार्य अझ बलियो बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउन सरोकारवाला गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।