• ८ मंसिर २०८१, शनिबार

दुर्भिक्ष (कथा)

blog

नयनराज पाण्डेको ‘लू’ पढ्दै गर्दा नरैनापुरबाट तरेर शङ्करपुर जान र शङ्करपुरबाट तरेर नरैनापुर आउन कठिन थाहा भयो । धरा नाकछोङले यो लाइनभन्दा अगाडि पढेन । बरु आँखा चिम्लियो । एक हुल मान्छे ओरालो झरेर नदीको किनार आइपुगेका थिए । टालेको लुगा लगाएका, कोही कछाड बेरेका, अनिकालले पेट दबिएका कुपोषित ली मान्छेहरूमध्येको एउटा पाको मान्छे अगाडि सरेर जम्लाहात गर्दै पुकारा ग¥यो, “हे जलदेवी हामीलाई पारि जाने बाटो देऊ ।”

नरैनापुर र शङ्करपुरबीचमा मान्छेहरूले मान्छेलाई बाधा गर्थे, अपमान गर्थे तर यहाँ मान्छेविरुद्ध मान्छे उभिएका थिएनन् बाटामा । यहाँ त प्रकृतिको एउटा अनुपम सृष्टि थियो जसलाई पार गर्ने शक्ति ती बटुवाहरूसँग थिएन । त्यसैले फेरि तिनीहरूले हात जोडेर बिन्ती गरे, “हे जलमाता हाम्रा छोराछोरी तीन महिनादेखि गिठ्ठा भ्याकुर खाएर जीर्ण विदीर्ण जीवन बाँचिरहेका छन् । हाम्रो गाउँमा अकाल परेको छ, जलवृद्धि भएको छैन र हाम्रो सृष्टि अनिकालले सखाप हुँदैछ । हामी चाँडै फिरेर आएनौँ भने हाम्रा ती सन्ततीको मासु निख्रिएको अस्थिपञ्जर मात्र देख्न पाउने छौँ ।”

पिठ्युँमा खाली डोको बोकेको अर्को मान्छे अगाडि आयो र टाउकाबाट नाम्लो सार्दै भन्यो, “म घरबाट हिँड्दा मेरा छोरा र छोरी भोक लागो बाउ भन्दै पछ्याई आएका थिए । तिनकी आमाले समातेर कुट्तै लिएर गई । त्यो मेरी स्वास्नीमा पिट्ने शक्ति र ती छोरा छोरीमा पिटाइ खाने शक्ति पनि अब त सकियो होला । जलदेवी हामीलाई बाटो देऊ ।” अर्को एउटा मान्छे टुक्रुक्क बगरको ढुङ्गामा बस्यो, उसको ओठबाट अस्पष्ट शब्द आइरहेका थिए । “अब त जङ्गलमा गिठ्ठा भ्याकुर पनि सकियो होला ।”

धराले आँखा खोल्यो र फेरि पुस्तक पढ्ने जमर्को ग¥यो तर जनश्रुतिबाट उसको मास्तिष्कमा भरिएका पुराना घटनाहरूबाट उ मुक्त हुन सकेन र पुस्तकका लेखकसँग माफी माग्दै फेरि आँखा चिम्लियो ।

ती बटुवाहरूले बगरको ढुङ्गा भेला पारेर लहरै राखे, बुरुलेन नामका ती पाका मान्छेले पूजा गर्न थाले । उभ्याएर राखिएका ती ढुङ्गामध्ये, सूर्य थिए, आकाश थिए, जल थिए, वायु थिए, पृथ्वी थिए । ती सबैलाई एक एक गरेर पूजा गरिसकेपछि उनले भने, “हामी प्रकृतिका उपासकहरूले जानेको यति नै हो जल माता ! हामीलाई पारि पु¥याइदेऊ ।”

नदीमा एउटा नाउ देखियो । उज्यालो अनुहार गरेको एउटा युवक नाउ खियाउँदै थियो । उसलाई देखेर बटुवाहरूले हात हल्लाए । युवक नाउ लिएर किनारमा आयो । बुरुलेन अगाडि आएर भने “हामीलाई यो नदी तारिदेऊ युवक !” “म त जल यात्रामा हिँडेको छु, कसरी तिमीहरूलाई तार्न सक्छु र !” युवकले भन्यो । हामीलाई कृपा गर युवक, हामी धेरै अप्ठ्यारोमा छौँ । हाम्रो गाउँमा अकाल परेर मान्छे मरिरहेका छन् । जङ्गलमा कन्दमूल पनि सकियो, हाम्रो परिवार भोकभोकै मृत्युको मुखमा छ । तिनीहरूको ज्यान जोगाउन हामी बेसाहारा खोज्ने हिँडेका छौँ । हामीलाई दया गर युवक हामीलाई यो नदी तारिदेऊ ।” 

मलाई के दिन्छौ तारेको ? युवकले सोध्यो हामीसँग भएको जे माग्छौ त्यही दिन्छौँ, उनीहरूले भने । 

यो ढाकर नाम्लो दिन्छौ ?

दिन्छौँ ।

खुकुरी ?

दिन्छौँ ।

तोक्मा ?

दिन्छौँ ।

लगाएको लुगा ?

लाज छोप्नेसम्मको छाडिदेऊ अरू सबै दिन्छौ ।

एक पल्टमा तीन जना मात्र तर्न सक्थे नाउमा । कबोल गरेका सामान लिँदै तारिदिँदै ग¥यो उसले, सबैलाई तारिसक्यो । युवकले नाउमा राखेका आफ्ना सामानतिर पुलुक्क हेरे र बाटो लागे बटुवाहरू ।

एकछिन पख त ! युवकको स्वर सुनेर सबै टक्क अडिए । लगाएको लगौँटी पनि माग्ने हो कि भन्ने त्रास देखियो तिनीहरूको आँखामा ।

यता आउ त । युवकले बोलायो ।

उनीहरू बाघको गन्ध पाएको बाख्राजस्तै डराए र पनि आएर युवकको अगाडि उभिए । उसले बटुवाको सबै सामान नदीको बगरमा फिँजाएर राखेको थियो । 

युवकले भन्यो, “बेसाहा बोकेर केमा ल्याउँछौ ?”

बटुवाहरूसँग उत्तर थिएन ।

ढाकर, नाम्लो र तोक्मा चिनेर आफ्नो आफ्नो लैजानु युवकले भन्यो ।

उनीहरू ढाकर बोकेर बाटो लागे ।

युवकले फेरि भन्यो “एक छिन पर्ख ।” 

सबै युवकतिर फिरे र प्रश्नवाचक आँखाले हेरे ।

घनाजङ्गलको बाटो छ । बाघभालु लाग्छन्, आफ्नो सुरक्षाका लागि आआफ्नो खुकुरी पनि लिएर जानू, युवकले भन्यो ।

सबैले आफ्नो आफ्नो खुकुरी टिपेर कम्मरमा बाँधे ।

अब हामी जाऔँ ? बुरुलेनले युवकलाई बिस्तारै सोधे ।

बिनावस्त्रका मान्छेलाई कसले गाउँ पस्न दिन्छ र आआफ्नो लुगा पनि लगाएर जाऊ । युवकले भन्यो ।

बुरुलेन युवकको अगाडि गए र एक टकले युवकलाई हेरे अनि सोधे आखिर तिमी को हौ युवक ?

तिमीहरूलाई नदी तार्न जलदेवीले पठाएको माझी हुँ म बटुवा !

यति भनेर युवक नाउमा चढेर ओझेल प¥यो । बटुवाहरूले नदीको पानी शिरमा छर्किए, तीन पल्ट नमस्कार गरे र बाटो लागे ।

धराले आँखा खोल्न खोज्यो तर बाहिरी आँखा पटक्कै खुलेन । बरु हजुरआमा अगाडि आएर भन्न थालिन्, “हो बाबु हाम्रो यो गाउँमा डरलाग्दो अनिकाल परेको थियो । अरुण पारि (अरुण पश्चिम) बेसाहा खोज्न गएका मान्छेहरू जसोतसो अरुण तरेर गएछन् तर तेरा पुर्खा बुरुलेन नाकछोङ भने बेसाहा नलिई, साथी छोडेर चाँडै फिरेछन् ।

झगडा परेछ साथीहरूसँग ?

हैन । 

किन आए त साथीसँग छुटेर, बेसाहा पनि नलिई ? धराले सोध्यो ।

“सपना देखेछन् ।” बोजूले भनिन् ।

“के देखेछन् सपनामा, त्यस्तो साथी छोडेरै फिर्नुपर्ने ?”

एउटा स्त्रीरूप आइछन् र मानेको पातमा पोको पारेको माटो दिइछन् ।

अनि ? 

यो लिएर जाऊ तिम्रो गाउँमा परेको अकालबाट यसले बचाउने छ भनिछन् ।

अनि ?

बिहान उठेर हेर्दा सिरानमा रहेछ त्यो, मानेको पातमा माटो । जस्तो सपनामा देखेको त्यस्तै ।

तपाईं पत्याउनुहुन्छ बोजू यो कुरा ? धराले सोध्यो । पत्याउँछु धरा ? 

पत्याउने प्रमाण छ  ।

ती स्त्रीरूपको थिइन् त बोजू ? 

बेसाहा खोज्न गएका अकाल पीडित मान्छेहरू बाखोरा भन्ने ठाउँमा बास बसेछन् । नजिकै एउटा जङ्गलमा एउटा ओढार रहेछ । त्यो ओढारभित्र छिन्ताङ भगवतीको बास रहेछ । त्यो ओढारमाथि अहिले पनि मानेका बोटहरू प्रशस्तै छन् । तीनै भगवतीले स्त्रीरूपमा त्यो माटो बुरुलेनलाई दिएकी थिइन् । 

बिहान उठेर अगाडिको गाउँमा जाने सल्लाह गरेर सुतेका थिए उनीहरू । भुल्के, दलगाउँ, सिक्तेल, गोगने र दावाँसम्म पुगेर बेसाहा खोज्ने सल्लाह गरेका थिए उनीहरूले तर बुरुलेनले एकाएक भने म त यहीबाट फिर्नुपर्ने भो साथीहरू ! न कोही आएको छ न केही भाको छ । न फोन छ, न आकाशवाणी छ त्यो जमानामा । किन फिर्नुपर्ने भयो ? के भयो ? किन बेसाहा नलिई फिर्छौ ? तिम्रा छोराछोरी भोकभोकै छन्, गएर के खान दिन्छौ ? साथीहरूले सोधे ।

मलाई सपनामा आदेश भयो, म जानै पर्र्छ । तिमीहरू बेसाहा लिएर आऊ, म जान्छु । यति भनेर बुरुलेन खाली ढाकर बोकेर बाटो लागे । नाम्लोले रगडेर धुजा परेको रोपी शिरमै थियो । एउटा भोटो र मैलो कछाड शरीरमा थियो । सपनामा प्राप्त भएको मानेको पातमा पोको पारेको माटो भने उनले पटुकाले बाँधेर कम्मरमा राखेका थिए । तल पुगुन्जेल बुरुलेनलाई साथीहरूले हेरिरहे ओझेल परेपछि उनीहरू पनि बाटो लागे । 

अरुण नदी कसरी तरे त बोजू बुरुलेनले ? धराले सोध्यो ।

उनलाई पनि त्यही चिन्ता थियो, नदी कसरी पार हुने भन्ने । घरमा लालावाला बाँचेका छन् कि छैनन् भन्ने चिन्ताले झन झन पिरोल्न थालेको थियो । बुरुलेन अरुणको किनारमा पुगेर अडिए । हिमाल पारिबाट आएको नीलो स्निग्ध हिमनदी आफ्नै धुनमा बगिरहेकी थिइन् । बरुण, सङ्खुवा, इर्खुवा, सभा मिसिएर बनेको विशाल जलराशी त्यसै तर्न सक्ने कुरै थिएन । बुरुलेन टुक्रुक्क बसे र अरुणको पानी शिरतिर छर्किए । तीनपल्ट नमस्कार गरे अनि भने, हे जलदेवी मलाई नदी तारिद्यौ ।

केही छिनपछि त्यही युवक नाउ लिएर प्रकट भयो । बुरुलेनले युवकलाई जम्लाहातले नमस्कार गरे ।

बेसाहा नलिई आयौ त पथिक ? युवकले सोध्यो ।

फिर्नुपर्ने भयो, नलिई आएँ । छोटो उत्तर दिए बुरुलेनले । युवकले नाउमा बस्न इसारा ग¥यो । एक्लो यात्री एक्लो माझी । नाउ माझमा पुगेपछि नदीको पानी झन धेरै देखियो । त्यही जलराशीलाई ढोग्दै बुरुलेनले भने मेरो गाउँमा जलवृष्टि नभएर अनिकाल परेको छ । खान नपाएर हाम्रा लालावाला मर्दै छन् । हामी मर्दैछौँ, हामीमाथि कृपा होस् जलदेवी !

नाउबाट ओर्लिए र बुरुलेनले युवकलाई हेरे, माझी हैन विधाता जस्तो लाग्यो उनलाई । युवकलाई नमस्कार गरेर उनी बाटो लागे । केही पाइला हिँडेपछि एउटा आवाज आयो । “तिम्रो गाउँमा सहकाल आओस्” आवाज नदी पारिको पहरामा ठोक्किएर प्रतिध्वनित भएको थियो । आवाज त्यही युवकको थियो । बुरुलेनले पछाडि फिरेर हेरे, नदीको टाढाटाढासम्म पनि त्यो युवक थिएन ।

बुरुलेन उकालो लागे । उनको शरीर रोमाञ्चित भएको थियो । आकाशवाणीजस्तो आवाजले हर्ष दिएको थियो । घर पुगेर स्वास्नी छोराछोरीलाई जीवित देख्न पाइन्छ कि पाइँदैन भन्ने भय थियो । बाटोमा देखिएको कुराले झन भय थपिँदै थियो । जङ्गल डडेलोले सखाप बनाएको देखे । चराका बचराहरू चारो नपाएर फ्यात फ्यात बाटोमा खसेका थिए । बारीका घाँसका पोथ्राहरू ऐलाएका देखिन्थे । गाईगोरु र माउ बाख्राहरू सबैले दाम्लो फुकाएर स्वतन्त्र छोडिदिएका रहेछन् । मासु खान हुने जति खाइसकेका रहेछन् ।

बुरुलेनले आफ्नै घरको दैलो विस्तारै ठेले । भित्र एउटै गुन्द्रीमा तीन जना छोराछोरी गुँडुल्को परेर सुतेका थिए । कुपोषणले थलिएका रूग्ण केटाकेटी, गालाका हड्डी निस्किएको परैबाट देखिन्यो । दैलो ठेल्दा आएको चुँइक्क आवाज सुने तिनीहरूले र आँखा खोलेर हेरे । भित्र पस्तै गरेका बुरुलेनलाई देख्ता भगवान् पसेजस्तो लाग्यो तिनीहरूलाई । उनीहरूका आँखा ढाकरमा पुगे तर ढाकर रित्तै थियो ।

बाउ ! भोक लाग्यो भनी सानी छोरीले । बुरुलेन बोलेनन् । छोरीले कम्मरमा बाँधेको पटुकातिर हेरी र औँलाले इसारा गरी । त्यहाँ चाहिँ पक्कै केही न केही खानेकुरा बोकेका छन् बाउले भन्ने विश्वास थियो केटाकेटीलाई । बुरुलेन घोसे मुन्टो लगाएर उभिइरहे । मनमा खपिनसक्नुको पीडा मडारियो । “जन्माएर मात्रै बाबु भइँदैन बुरुलेन !” उनले मनमनै भनेको यो वाक्य आवाज नै भएर मुखबाट निस्कियो तर केटाकेटीले बुझेनन् । उनीहरूका आँखा पटुकाको भुक्क उठेको ठाउँमा अडिएका थिए । 

सानी छोरीले दाहिने हात बाबुको अगाडि थापी । बुरुलेन यति असहाय र लज्जित अहिलेसम्म भएका थिएनन् । आँखाबाट अनायासै आँशु खसे । बुरुलेन पटुका फुकाउन थाले, जहाँ खानेकुरा छ भन्ने विश्वास थियो नानीहरूलाई । उनले पटुकाको फेरो फुकाउँदै गए, नानीहरूको उत्सुकता र आशा अझ गाढा हुँदै गयो । उनले पटुकाबाट झिके मानेको पातमा पोको पारेको माटो र भने “तिमीहरूको बाबुले तिमीलाई खानेकुरा ल्याउन सकेन । हेर यो त माटो हो खान हुँदैन ।” बलेको आगोमा एक्कासि पानी खन्याए जस्तो भयो नानीहरूको आशा र अनुहार । सानी छोरीले एक पल्ट “भोक लागो बाउ” भनी र रुन थाली । सहन नसकेर बुरुलेन बाहिर निस्किए ।

मानेको पात र माटो छानाको एउटा आटामा सिउरिएर बुरुलेन कन्दमूल खोज्न जङ्गलतिर गए । जसोतसो परिवारको प्राण धान्दै गए तर त्यसको तीन महिनापछि उनको घरमा अर्को विपत् सुरु भयो । घरमा घाउ खटिरा र रोगब्याध फैलियो । त्यसबेला उनलाई झ्वास्स सम्झना भयो । आटामा सिउरिएको माटोको । यसैको कारणले पो हो कि भन्ने लाग्यो । उनले सिउरिएको माटो झिके र केही पर मान्छेले फोहोर नगरेको सफा ठाउँमा लगेर राखिदिए । भोलिपल्ट हेर्न गए । त्यो माटो राखेको ठाउँमा पानी उम्रिएको थियो ।” त्यो रात सपनामा ती स्त्रीस्वरूपाले भनेको सम्झिए । भोलिपल्टदेखि दिउँसो गएर नियमित पूजाआजा गर्न थाले बुरुलेन । त्यो गाउँमा पानी पर्न थाल्यो । हरियाली छायो, अन्नबाली उब्जिन थाल्यो ।

हेर्दाहेर्दै माटो राखेको ठाउँमा एउटा बिरुवा उम्रियो । हलक्कै बढेर रुख भयो । कसैले आजसम्म कतै नदेखेको र नजानेको रुख थियो । यो रुखमा दुईवटा मानेका पात पनि देखिए । बुरुलेनको सपना साकार भयो । गाउँमा सहकाल आयो ।

ती अनिकालले आक्रान्त केटाकेटी बाँचे त बोजू ? धराले सोध्यो ।

बाँचे नाति बाँचे । तिनीहरूका सन्तान तिमी नै हौ । बुरुलेन नाकछोङको सन्तान धरा नाकछोङ । जल र सहकालकी देवी जाल्पादेवीको कृपा अहिले पनि हामीमाथि छ । भनेर हामी मान्छौ । नाति ! तिमीहरू पनि मानिरहनू पुर्खाले मानेको असल कुरा । छिन्ताङ भगवतीलाई अनास्था कहिले नगर्नू ।