• ११ मंसिर २०८१, मङ्गलबार

नमुना धार्मिक सहरको प्रतीक्षा

blog

जनकपुर प्राचीनकालदेखि वर्तमानसम्म हिन्दुका लागि मात्र होइन, बौद्ध, जैनलगायत कतिपय अन्य धार्मिक समूहका लागि पनि आस्थाको केन्द्र रहिआएको छ । वाल्मीकीय रामायणअनुसार जनकपुरको प्राचीन नाम बैजन्त थियो । बैजन्त शब्दको चर्चा देवीभागवत पुराणमा पनि भेटिन्छ । निमिपछि मिथि राजा भए । उनले बैजन्त नामलाई परिवर्तन गरी मिथिलापुरी राखेका थिए । मिथिलापुरी आफ्नो नामले नै मिथिलाको राजधानी नगरलाई जनाउँछ । यो नाम धेरै वर्षसम्म कायम रह्यो । हिन्दुहरूका महान् ग्रन्थ रामायण, महाभारत तथा पुराणमा समेत यसै नामबाट प्रचलित थियो । प्राचीन कालमा जनकपुरको आकार निकै ठूलो थियो । सीमातिर हेर्दा पूर्वमा कमलादेखि पश्चिममा जलेश्वरसम्म तथा दक्षिणमा गिरिजास्थानदेखि उत्तरमा धनुषाधामसम्म यस क्षेत्रको सीमा थियो । प्राचीन जनकपुरको क्षेत्रफल ३१.२ वर्गमाइल थियो जो वर्तमान समयमा एउटा सानो क्षेत्रमा खुम्चिएको देखिन्छ ।

धार्मिक दृष्टिकोणले यो नगरी यस्तो पवित्र थियो, जसलाई चारैतिरबाट शिवजीले रक्षकको रूपमा रक्षा गरेका थिए । जो यसरी वर्णित छः पूर्वमा शिलानाथ तथा कपिलेश्वरनाथ, दक्षिणमा कल्याणेश्वरनाथ तथा कुपेश्वरनाथ, पश्चिममा जलेश्वरनाथ तथा भैरवनाथ र उत्तरमा जलाधिनाथ तथा क्षीरेश्वरनाथ थिए जो आज पनि विद्यमान छन् । 

मिथिलाको राजधानीको नाम जनकपुर कहिले प-यो यसबारे विद्वान्हरूका भनाइतिर जाँदा, जनकवंशी राजामध्ये शिरध्वज महान् राजा भए । मिथिलाकी राजकुमारी जानकी तथा आयोध्याका राजकुमार रामको विवाहले गर्दा  शिरध्वज अझै विख्यात भए । मानिस उनको वंशीय विशेषणलाई संज्ञाको रूपमा समेत प्रयोग गर्न थालेपछि उनी शिरध्वजबाट ‘जनक’ भएका थिए । यसैबेलादेखि मिथिलापुरीलाई मानिसहरूले जनकपुर भन्न थाले । मैथिली साहित्यका महाकवि विद्यापतिले आफ्ना पुस्तक ‘भूपरिक्रमामा’ जनकपुरलाई अझै उजागर गर्ने काम गरेका थिए । जो सन् १३६० देखि १४५० को अवधि थियो । त्यस बेलादेखि जनकपुर कहिले पनि अँध्यारोमा गएन । 

प्राचीन जनकपुर निकै सम्पन्न तथा वैभवशाली नगर थियो । त्रेतायुगमा जनकपुरको गुनगान निकै उचाइमा पुगेको थियो । यसको तुलना इन्द्रको जयन्तपुरीसँग भएको थियो । यसको गरिमा जनक ( शिरध्वज ) को समयमा अझ थप भएको थियो । रामको विवाहमा ब्रह्माजी जनकपुर आएका बेला आफूले बनाएका वस्तुहरू कहीँ कतै रहेका देखिएनन् अर्थात् ब्रह्माले जनकपुरलाई जुन रूपले निर्माण गरेका थिए त्यसभन्दा पनि ज्यादै सुन्दर लागिरहेको थियो । देवतागण पनि जनकपुरलाई हेरेर छक्क परेका थिए । उनीहरू वैदिककालीन आर्यावर्तको सभ्यतासँग जनकपुरको सभ्यतालाई तुलना गरेका थिए । यो ठाउँ जपतप ज्ञानको भूमि बनेको थियो । उत्तर वैदिक कालमा विद्या र कलाको धरोहर बन्न पुग्यो । यजुर्वेदमा पनि जनकपुरको उल्लेख छ । याज्ञवल्क्यजस्ता प्रख्यात दार्शनिक जनकका गुरु थिए । यस्तै अष्टाबक्र, गार्गी, मैत्रेयी, आरूणि जस्ता धुरन्धर ज्ञानीहरू पनि यसै दरबारमा बस्थे । यी महाज्ञानीहरूले जनकसभालाई सुशोभित बनाएका थिए जहाँ दिग्गज विद्वान्का विमर्शबाट ज्ञानको धारा बगिरहेको थियो । देश–विदेशबाट ज्ञानपिपासु जनकसभामा आउँथे र शास्त्रार्थबाट सन्तुष्ट भएर फर्कन्थे । व्यासपुत्र शुकदेव पनि आफ्ना शङ्का निर्वारण हेतु जनकपुर आएका थिए र जनकको उत्तरबाट तृप्त भएर हँसीखुसी घर फर्केका थिए । 

जनकपुरको पाण्डित्य विदेहमा मात्र सीमित थिएन, पाञ्चाल, कुरु तथा कोशलसम्म पुगेको थियो । यसै मिथिलाको कमलाकाननमा ऋषिहरूले न्यायसूत्रको रचना गरेका थिए । यसै कालमा शिरध्वजले राजर्षिजनकको नामले प्रसिद्धि पाएका थिए । सीतालाई प्रभुको प्रसाद सम्झेर पुत्रीवत रूपमा पालेका थिए । विश्वामित्र जस्ता महान् ऋषिले पनि मिथिलाकै पूर्वी क्षेत्रमा आफ्ना सिद्धाश्रम स्थापना गरेका थिए । विश्वाभित्र एउटा युगद्रष्टा ऋषि थिए । उहाँले नै सीतारामलाई पुलको रूपमा प्रयोग गरेर विदेह र कौशललाई मिलाएका थिए । सीता शक्तिस्वरूपा तथा सहनशील र सुशील नारी थिइन् । उनी जतिसुकै कठोर जीवनमा बस्दा पनि व्याकुल भइनन् । उनले साहसी जीवन लङ्का र वशिष्ट कुटीमा बिताएकी थिइन् । लाख प्रलोभन र धम्कीका बाबजुद पनि उनले नारी जातकी मानसम्मानलाई निरन्तरता दिई अडिग भएर सामना गरेकी थिइन् । उनी एउटा आदर्श छोरी, बुहारी, पत्नी तथा आमा बनेर विश्वलाई नै आदर्शको पाठ सिकाएकी थिइन् । घमण्डी रावणको वधका कारक भएर पृथ्वीलाई भयमुक्त गराएकी थिइन् । उनले एउटी आँटिली नारी भएकाले आफूलाई समेत सङ्कटमा हालेर पनि पतिको अभीष्ट पूरा गरेकी थिइन् । लाख त्याग गरे पनि जब नारीको अस्तित्वलाई स्वीकार गर्न नसकेकी देख्दा, स्वयं नै धर्तीलाई सुम्पेकी थिइन् । 

यसैकालमा जनकपुर श्रीरामचन्द्रको ससुरालीको रूपमा पूजित स्थल बन्यो । यहीँबाट एउटा नयाँ संस्कृतिको जन्म भयो जो सीताराम संस्कृतिको रूपमा विश्व प्रसिद्ध भयो । आज पनि भक्तजन जनकपुरधाम आउँदा मिथिला र अवधको सम्बन्धलाई यसरी प्रदर्शित गरेका हुन्छन् ः 

“कमला विमला मिथिलाधाम, अवध सरयू सीताराम ।”

ब्रह्मर्षि वशिष्ट पनि यहाँ आएर याज्ञवल्क्यसँग संवाद गरी जगतगुरुको विद्वताबाट भरपूर सन्तुष्टि पाएका थिए । द्वापरमा कृष्णले पनि यहाँ आएर जनकपुरको मुरलीसर (पोखरी) मा आफ्नो कर्मयोगको प्रकाश जगाएका थिए । यस्ता आगमनले के देखाउँछ भने जनकपुर यस कालमा पनि राजनीतिक गतिविधिको केन्द्र थियो । अर्कोतिर विदेहसँग कुरुदरबारको पनि बेग्लै रिस्ता थियो । दुर्योधन पुत्र लक्ष्मणका लागि यहाँ त कुस्ती तथा अन्य खेल खेल्ने अखाडा नै बनाइएको थियो । हलधर बलराम पनि यहाँ अतिथिको रूपमा आएका थिए । उनी दुर्योधनका गुरु नै थिए । यस्तै गौतमबुद्ध पनि मिथिला नरेश सुमित्रको पालामा जनकपुर आएका थिए । उनी एउटा मध्यमार्गी तथा जातिभेद विरोधी थिए । चिनियाँ यात्री हु येनसाङ पनि भारत भ्रमणको क्रममा जनकपुर आएका थिए । यस धर्तीका औतारी पुरुष परशुराम पनि यहाँ आएका थिए । यसरी मिथिला राजनीतिक भूगोलमा एउटा बेग्लै सार्वभौम देश थियो, जसले आर्यावर्त क्षेत्रमा नै प्रसिद्धि पाएको थियो । 

विद्वान्हरूका मतानुसार मिथि वंशका चौवन्न राजा भए । तीमध्ये शिरध्वज बाइसौँ थिए । उनी राजर्षिजनकको नामले विख्यात भए । लगभग मिथिवंश इसापूर्व साढे दुई हजार वर्ष शासन गरेका थिए । मिथिलाको अन्तिम राजा कराल थिए । उनको कामान्ध कर्तुतले एउटी कुमारीकन्याको सतित्व भङ्ग गरिदिएकाले जनकपुरका जनता उनीविरुद्ध आन्दोलनमा उभिए । यसै आन्दोलनले कराललाई राजमहलबाट तानेर हत्या गरिदिए । मिथिला राजाविहीन भएपछि मगध, पाल, कन्नौज, तुर्कादिले पालैपालो गरी राज गरेका थिए । यसरी बैजन्तपुरी÷मिथिलापुरी÷जनकपुरका नाम इतिहासको पानामा मात्र सीमित भयो । भूगोलबाट विलीन भए पनि यसका कला, संस्कृति, भाषा, साहित्य, रीतिरिवाज, मूल्यमान्यता, विश्वास तथा परम्परा अहिले पनि जीवितै छन्, जसले हामीलाई गौरवान्वित बनाएका छन् । 

जनकपुरमा पौराणिक सम्पदामध्ये विभिन्न मन्दिर, कुटी, सरोवर आदि रहेका छन् । तीमध्ये जानकी मन्दिर, जनक मन्दिर, राजदेवी मन्दिर, रामानन्द आश्रम (कुटी), रसिक निवास (कुटी), कुम्हार कुटी, गङ्गासागर, धनुषसागर, रत्नसागर, महाराजसागर आदि छन् । यी सबै मन्दिर, कुटी तथा सरोवरले आ–आफ्नै महìव बोकेका छन् । 

जनकपुरमा बाउन्न कुटी र बहत्तर कुण्ड (सरोवर) छन् जहाँ झुन्डै–झुन्ड सन्तहरू घुम्दै/फिर्दै/रमाउँदै रहन्छन् । यस्ता जलाशयहरूका अवस्था वर्तमान समयमा खस्किँदै गएको देखेर सम्बन्धित निकायले मर्मत तथा सरसफाइको सुरुआत गरिसकेका छन् । यस्तै मन्दिर तथा कुटीको खस्किँदो अवस्था रोक्न सरकारी तथा विभिन्न गैरसरकारी संस्थाहरूले अनुदान प्रदान गरेर सुधार्न सघाएका छन् । 

पर्यटकीय दृष्टिकोणले जनकपुरका यी धार्मिक सम्पदाको भूमिका निकै महत्वपूर्ण देखिन्छ । यस्ता सम्पदाले विश्वका पर्यटक आफूतिर तानिरहेका छन् । पर्यटकलाई आवतजावत गर्न बस, रेल तथा वायुसेवाको सुविधा पनि छ । जनकपुरभित्रका सडकसमेत पक्कीकरण भइसकेका छन् । जनकपुरसम्म सजिलोपूर्वक आवतजावतका लागि यी सडकहरू राष्ट्रिय राजमार्गसँग जोडिएका छन् । पर्यटकका लागि भोजन र बासका लागि आधुनिकदेखि साधारण होटलसम्मको राम्रो व्यवस्था छ । ठूल्ठूला धर्मशाला पनि यात्रीहरूलाई सुविधापूर्वक बस्नका लागि सेवा प्रदान गरिरहेका छन् । जनकपुरमा भोजनका परिकारमध्ये ‘मिथिला भोजन’ निकै प्रसिद्धि पाएको छ । 

शिक्षा क्षेत्रमा पनि जनकपुर निकै ठूलो फड्को मारेको देखिन्छ । राणाकालमा एउटा मात्र याज्ञवल्क्य संस्कृत विद्यालय थियो । प्रजातन्त्रको उदयपश्चात् दर्जनौँ शैक्षिक संस्था सञ्चालनमा आएका छन् । उच्च शिक्षातिर रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, जनक हजारी विद्यापीठलगायत प्राइभेट सेक्टरमा कैयौँ संस्था काम गरिरहेका छन् । अहिले जनकपुरमा राजर्षिजनक विश्वविद्यालय समेत स्थापना भई आफ्नो काम सुरु गरिसकेको छ । निम्न शिक्षातिर पनि प्राथमिक, निम्नमाध्यमिक तथा माध्यमिक विद्यालयहरू स्थानीय जनताको मागअनुसार ठाउँठाउँमा व्यवस्थित रूपले सञ्चालनमा रहेका छन् । शैक्षिक संस्था वृद्धि भए पनि गुणस्तरीय शिक्षामा देखिएको ह्रासलाई चिन्ताको विषयको रूपमा लिनैपर्छ । यस्तै स्वास्थ्यको क्षेत्रमा पनि जनकपुरधामले निकै प्रगति गरेको छ । ३०–४० वर्ष अघि एउटा पनि गतिलो अस्पताल नरहेको ठाउँमा अहिले प्रादेशिक अस्पताल, मेडिकल कलेज, स्वास्थ्य प्रतिष्ठानका साथै दर्जनौँ प्राइभेट अस्पताल, क्लिनिक, फार्मेसी सञ्चालित छन् । अहिले लगभग प्रत्येक रोगअनुसारका चिकित्सक उपलब्ध छन् । उद्योगधन्दातिर जाँदा साना साना उद्योग धन्दामा प्रगति भए पनि यहाँ रहेको ठूलो उद्योग जनकपुर चुरोट कारकाना लिमिटेड (जचुकालि) हाल धराशायी भइसकेको छ । यस उद्योगले धेरै बेरोजगारलाई रोजगार दिएको थियो । 

प्राचीन कला संस्कृतिलाई वर्तमानसम्म निरन्तरतामा दिएको देखिन्छ । त्रेतायुगमा भएको रामजानकी विवाहलाई अहिले पनि मङ्सिर शुक्लपञ्चमीका दिन पारेर विवाह वर्षगाँठको रूपमा प्रत्येक साल धूमधामका साथ मनाउने गरिन्छ । अहिले पनि यहाँ भारतको अयोध्याबाट बाराती आउने चलन कायमै छ । यस्तै यहाँ उहाँहरूका यादमा राम तथा जानकी नवमी, झुला, दशैँ आदि उत्सव धूमधामका साथ मनाउने गरिन्छ । जानकी मन्दिर, राम मन्दिर, सङ्कटमोचन मन्दिर, रामनन्द चोक, विवाह मण्डप, दुल्हादुल्हिन मन्दिर, रत्नसागर मन्दिरहरू पर्यटकका लागि आकर्षणका केन्द्र छन् । यस्तै गङ्गासागरमा महागङ्गा आरती, आकर्षणको केन्द्र बनेको छ । प्रत्येक पर्वतिहारमा गङ्गासागर, धनुषसागर, रामसागर, अङ्गराजसरलगायत अन्य जलाशयमा भक्तजनको भीडभाडका दृश्य हेर्न लायक हुन्छन् । 

आधुनिक जनकपुरधाम विश्वमा कसरी आफ्नो ठाउँ लिन्छ, त्यसका लागि पनि हामीले अझ केही मेहनत गर्नुपर्ने देखिन्छ । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा दर्ता गराइ विश्वको ध्यान यतातिर आकर्षित गर्न सक्छौँ । यस्तै यसलाई नेपालको धार्मिक राजधानीको रूपमा समेत विकसित गर्न यहाँका जनताको भूमिका उल्लेख्य छ । आशा गरौँ, आजका जनकपुरधाम पक्कै पनि विश्वसम्पदा सूचीमा दर्ता भई विश्वकै एउटा नमुना धार्मिक सहरको रूपमा विकसित हुनेछ ।