भनुँ भने सुन्नेलाई अवश्यै मन पर्ने छैन र मलाई पढ्दा पनि पढ्नेको आँखामा म मानवताविहीन मान्छेका रूपमा गनिने, ठहरिन सक्छु । मैले पहिला पनि मेरो यो यथार्थता एकचोटि लेखेको थिएँ । तर टाइप गर्न पठाउँदा ती टाइपकर्ताले तपाईंको रचना कता प-यो प-यो म खोज्दै छु भनी रचना नै हराइदिए । हाराइदिए वा आफ्नै नाममा कतै प्रकाशित गरे म अझै अनविज्ञ नै छु । टाइप गर्न गलत मान्छेको हातमा दिएकोमा आफैँलाई निकै ग्लानि छ । तर उपचारविहीन छु र, एक चोटि मेरो मानसिकतालाई यहाँ पुनः कोर्ने जमर्को गरेको छु ।
हो, मलाई सबभन्दा मन नपर्ने र बोल्दा पनि दिगभिग लाग्ने शब्द भन्नु नै ‘आमा’ ‘बाबु’ हुन् । मलाई मन नपर्ने श्लोकमा ‘स्वर्गभन्दा पनि प्यारो आमा बाबु स्वदेश हुन्’ भन्ने श्लोकले मेरो रगत तताउने गर्छ । स्वदेशका हकमा स्वदेश ठीकै हो । म पनि स्वदेशलाई माया गर्छु तर अगाडिका बाँकी शब्द मेरा लागि गाली हुन् । हुन त म आमाको कोखबाटै जन्मेको हुँ । आमाले गर्भधारण गर्न कुनै पुरुषको सहारा पनि लिएकै होलिन् र संसारिक मान्यताअनुसार ऊ मेरो बाबु पनि हो ।
तर मैले यो उमेरमा पनि आमा र बाबुको परिभाषा बुझेको छैन, खै बाबु आमा कसलाई भन्ने ? आमाको रगत चुसाएर जो सन्तानका लागि दिनरात न्यानो काख दिइरहन्छे ऊ, आमा हो कि यौवनको उन्मादमा अवैध गर्भधारण गरी जिउँदै बच्चा मारेर फाल्ने यौवनालाई आमा भन्ने हो या आफ्नो सन्तानलाई सालनालसहित कुनै सडकमा मर्नलाई फालिदिने आमालाई आमा भन्ने हो ? त्यस्ता समयमा त्यो बाबु भन्ने के गरिरहन्छ ? रमाएको हुन्छ कि डराएर कतै भागेको हुन्छ ? त्यस्तो दायित्वहीन क्रुर मान्छेलाई पनि चलनचल्तीको भाषामा बाबु नै भनिन्छ । त्यसैले बाबु आमाको परिभाषा नै बुझ्न सकेको छैन । समष्टिमा मेरा परिभाषा त्रुटिपूर्ण होलान् तर मैले बाबु र आमाको नातालाई घृणित अर्थमै लिएको छु ।
मैले आमा भनेर चिन्दा वा भनौँ मलाई आमा भनेर जसलाई चिनाइयो त्यहाँ एउटी मात्र आमा थिइनन् । त्यहाँ चार जना थिए जो सबै मेरा आमा थिए । भवानी आमा, दुर्गा आमा, रेवती आमा र मीना आमा गरी चार जना आमा मेरा आमा बन्न पुगेका थिए । तर ती आमाहरूको बीचमा मेरो ‘बा’भन्ने चाहिँ कतै थिएन । त्यस बेला ‘बा’ भन्ने कोही मान्छे हुन्छ भन्ने पनि मलाई थाहा थिएन ।
आमा पनि एउटी मात्र हुन्छिन्, चार जना मिलेर एउटा बच्चा जन्माउन सक्दैनन् भन्ने यथार्थताको बोध पनि थिएन । समयको चक्रमा घुम्दै गर्दा म स्कुल जान थालेँ र बुझ्दै गएँ कि म कुनै अनाथालयमा पालिँदै छु र आमा बाबुविहीन एउटा टुहुरो बालक हुँ । मेरो जीवन अनाथालयको दया निगाहा पो चल्दैरहेछ । जब म यी कुरा बुझ्ने हुँदै गएँ र जब एसएलसी परीक्षा दिने अवस्थामा पुगँे त्यतिबेला भने म आफ्नै आँखामा, आफ्नै मनमा प्रश्न बन्न पुगेँ । म को हुँ त ? यहाँ कसरी आइपुगेँ ? मेरो यहाँको आगमनमा कसको हात होला ? मेरो वंशजको पनि कुनै परिचय होला कि नितान्त परिचयहीन अवस्थाको मान्छे हुँ ? यी यस्ता धेरै प्रश्नले मेरो मनको शान्ति, निन्द्रा र अध्ययनप्रतिको ध्यान भड्किँदै गयो । त्यतिबेलासम्म भवानी आमा र दुर्गा आमा सेवानिवृत्त भई अनाथाश्रमबाट बिदा भइसक्नुभएको थियो ।
मीना आमा सेवा प्रवेश गरेको, त्यस्तै ५–७ वर्ष मात्र भएको थियो । त्यहाँ भएका आमाहरूमा रेवती आमा नै पुरानो हुनुहुन्थ्यो र म उहाँसँग मेरा बारेमा के बुझ्न सक्छु भन्ने ध्यानउन्मा धेरै दिनदेखिन मौका खोजिरहेको तर बिहानभर शारीरिक व्यायम, गृहकार्य घोकी तयारी गर्ने निर्धारित समय अनि खाना खाई पाठशाला जाने निर्धारित समयले गर्दा बिहानको समय मेरा लागि अनुकूल हुँदैनथ्यो र बेलका पनि केही समय गृहकार्य एवं पठन पाटनमा व्यस्त हुनुपर्ने र त्यसपछिको फुर्सदमा भेटघाट गरौँ भन्दा उहाँहरू दिनभरिको थकानले गर्दा चाँडै नै विच्छ्यौनामा जाने हुँदा मनवाञ्छित समय मैले पाउनै सकेको थिइनँ ।
एक दिन अन्त्यमा मलाई रेवती आमासँग फुर्सदले कुरा गर्ने मौका मिलेरै छोड्यो । त्यो दिन सरस्वती पूजाको दिन थियो, आश्रमका सम्पूर्ण विद्यार्थीहरूलाई पिक्निक गएजस्तो पनि हुने र सरस्वतीको पूजा पनि गर्न पाइने उद्देश्यले स्वयम्भूस्थित सरस्वती मन्दिर लैजाने आश्रमको कार्यक्रम थियो । उक्त कार्यक्रमको पूर्वसूचना हामी सबै छात्र छात्रालाई दिइसकेको हुँदा मलाई सजिलो भयो नाटक गर्न ।
हो, मैले नाटक नै गरेँ, ज्यादै नै पेट दुःखेको, वान्ता पनि भएको र यो नाटकलाई यथार्थ देखाउन म पटक पटक ट्वाइलेटमा पनि गइरहेँ । मेरो उक्त नाटक सफल पनि भयो र हेडसरले बेलुका डाक्टर आएपछि राम्ररी देखाइदिन्छु, तिमी आज आराम नै गर है भनी फकाउनुभयो । मेरो उमेर पनि १६ वर्षको हाराहारीमा भएकाले ममाथि अविश्वास गर्ने र हप्काउने दप्काउने कुरै भएन । मैले अँध्यारो मुख बनाउँदै हुन्छ भनी टाउको हल्लाइदिएँ । दिउँसो फुर्सद भयो, रेवती आमा पनि आश्रमको रेखदेख गर्नुपर्ने हुँदा पिक्निकमा जानुभएन । त्यही मौकामा मैले उहाँसामु आफ्नो जिज्ञाशा पोख्ने मौका पाएँ । उहाँले मेरो जिज्ञाशा राम्ररी सुन्नुभयो ।
मेरो निराशा, मेरा कम्पित आवाज र मेरो भावुकताले उहाँलाई सायद राम्ररी नै छोयो । उहाँले मलाई बताउनुभयो कि उहाँ आउँदा म दुई तीन वर्षको भइसकेको थिएँ र भवानी आमाको निगरानीमा हुर्किंदै थिएँ । मेरा बारेमा उहाँले सोध्दा पनि भवानी आमाले विशेष केही बताउनुभएको थिएन रे– भन्नुभएको थियो रे यो आश्रमको कर्मचारीले फेला पारेर ल्याएको बालक हो । कोही यही टोलको भट्ट बाजेको छोरीले अवैध गर्भ भनेर फालेकी हो भन्थे, कोही होइन भन्थे, हामीले पनि राम्ररी बुझेनौँ र ज्यादै दुःखले जोगाउँदै पाल्यौँ ।
यो भाग्यमानी छ यस आश्रममा आइपुग्यो, जे होस्, जसको सन्तान होस, अब यो हाम्रो सन्तान हो । यसभन्दा बढी रेवती आमाले केही भन्नु भएन, अरू थाहा छैन भन्ने एउटै मात्र उत्तर दिइरहनुभयो रेवती आमाले । मेरो मनमा तत्काल एउटा प्रश्न तुरुन्तै उठ्यो र मैले उहाँसँग भवानी आमाको घर र ठेगाना बारेमा सोधिहालेँ । तर रेवती आमालाई भवानी आमाको बारेमा पनि विशेष केही थाहा रहेनछ । यति थाहा भयो कि भवानी आमाको थर पाण्डे हो र मखन टोलको पशुपतिनाथको मन्दिरभन्दा भित्रको टोलमा उहाँको घर छ । यति मात्र परिचय र ठेगानाले उहाँलाई फेला पार्न सकुँलाझैँ मलाई लागेन तर मसँग अन्य कुनै विकल्प पनि थिएन ।
प्र्रशासन शाखाका शाखा अधिकृत तीर्थमान डङ्गोल दाइसँग मेरो राम्रो सम्बन्ध थियो । मैले भवानी आमाको ठेगाना पत्ता लगाई भवानी आमासँग भेट्ने आफ्नो इच्छा उहाँलाई बताएँ र प्रशासनका पुराना फाइलमा केही भेटिन्छ कि उहाँको बारेमा भनी खोजिदिन अनुरोध गरेँ । दुई दिनपछि तीर्थमान दाइले एउटा सानो पर्चामा भवानी आमाको बारेमा यति लेखेर दिनुभयो । जसमा उहाँको पतिको नाम माधव पाण्डे हो र ठेगाना मखन टोल गल्ली भन्ने मात्र उल्लेख थियो । अन्य कुनै पनि अतिरिक्त जानकारी त्यहाँबाट पनि पाउन सकिएन ।
एक दिन सरले परीक्षाको तयारीका लागि बोलाउनुभएको छ, सम्भावित प्रश्नहरू टिपाइदिन्छु भन्नुभएको छ भन्ने बहाना बनाई म आश्रमबाट निस्किएँ । भवानी आमा, रेवती आमा र त्यस्तै केही आमाहरूले म सानै हुँदा कुमार पूजा गरेको भनेर टीका लगाइदिँदा दिनुभएका केही पैसा मैले अन्यत्र खर्च गर्ने ठाउँ र मौका नहुँदा आफ्नै कन्तुरमा नै जम्मा गरेको थिएँ । ती पैसा त्यतिबेलामा काम आए । आश्रमबाट निस्किएर बस चढी रत्नपार्क पुगेँ र सोध्दै खोज्दै अन्ततः मखनटोल पुगेर छोडेँ । तर समस्या घर पत्ता लगाउने रह्यो । धेरै घरघर पुगी म माधव पाण्डे र भवानी आमाको नाम लिएर सोध्दै हिँडेँ । तर प्रायः सबैबाट अज्ञानता नै जाहेर हुँदै गयो । खोजे भगवान् पनि भेटिन्छ भनेझैँ अन्ततः मैले र एउटी बूढी मान्छेबाट भवानी आमाको घर चिन्न पाएँ र बल्ल म भवानी आमाको घेरा पुगेँ । तर मेरा सारा परिश्रम निरर्थक भए र वर्षौंका सपना आँसु र असिना बनेर छरपष्ट छरिए । भवानी आमा र उहाँका श्रीमान् माधव पाण्डे बितिसक्नु भएको रहेछ । उहाँका छोराहरूले मलाई चिनेनन् र चिन्ने अवस्थै थिएन पनि ।
त्यस बेलाका मेरा मनका हतासहरू यहाँ शब्दमा व्याख्या हुनै सक्दैनन् । म निरास त्यतिकै फर्किन बाध्य भएँ । भवानी आमाको मृत्युसँगै मेरो विगत पनि मेरर गइसकेछ । म यस उमेरमा पनि, अध्यापि आफ्नो परिचय गुमाएको एउटा लावारिसको जिन्दगी बाँचिरहेको छु । सायद अब मैले कहिल्यै पनि आफ्नो तीनपुस्ते विवरण दिन सक्ने छैन । म न थर, न गोत्रको मानिस भएर बाँच्न बाध्य भएको छु । सायद मेरो यही परिचयविहीनता नै मेरो नियति हो ।
प्रत्येक वर्ष आमाको मुख हेर्ने औँसीका दिन जब म टोलटोलमा महिलाहरू ट्याक्सीभरि मिठाइ र फलपूmल बोकेर आफ्ना आमाको मुख हेर्न गएको देख्छु, हलुवाईका पसलमा मिष्ठान्नको परिकार देख्छु, विशेष गरी सजाइएका फलफूलका पसल देख्छु, मन त्यसै खिन्नताले भरिएर तड्पिन्छ । त्यस्ता अवसरमा म मातातीर्थ पनि पुगेको छु, धेरै पटक तमासा हेर्न । दिवङ्गत आमाप्रति त्यहाँ श्राद्ध गर्ने छोरा छोरी र तर्पण दिने श्रद्धालुहरूको भीड देखेर म निकै भावुक पनि बनेको छु । त्यस्तै बाबुको मुख हेर्ने दिन गोकर्णेश्वरको मेलाले पनि मलाई धेरैचोटि विचलित पारेको छ । अन्ततः म यही निष्कर्षमा पुगेको छु कि सन्तानप्रतिको आफ्नो दायित्व पूरा गर्ने आमा बुबाले सन्तानबाट पनि जीवित हुँदाको त कुरै छोडौँ मृत्युपर्यन्त पनि आत्मिक श्रद्धा पाउँदा रहेछन्, धन्य छन् ती बाबुआमाहरू । तर मेराझैँ जन्म दिना साथै मर्नलाई फालिदिने आमा बाबुप्रति म कसरी आफ्ना भावनाहरू व्यक्त गरौँ ।
आफ्ना आमा र बाबुको कल्पनाले पनि मन दिग्मिग हुन्छ । उनीहरूलाई नभेटे पनि, उनीहरूको सम्झना मात्र नै गरेर भए पनि म झैँ बेसहारा, अनाथ, लावारिस मान्छेले आफ्नो भावना व्यक्त गर्न जाने कुनै त्यस्ता मातातीर्थ वा गोकर्णेश्वरको साटो अर्कै कुनै क्रुर मूर्तिको मन्दिर किन बनाइएन जहाँ वर्षको एकफेर नै भए पनि म झैँ लावारिसले पुग्ने संस्कार होस् र आफ्ना मनभित्रका सम्पूर्ण घृणा, रिस, आवेश पोख्न पाइयोस्, तर्पण दिनको साटो थुक्न पाइयोस्, श्राप्न पाइओस् र वर्षदिनका लागि मन अलि हलुका पार्न पाइयोस् ? हुन त हो, यहाँ सम्पूर्ण संस्कारहरू सम्पन्न वर्गकै लागि बनाइका छन् । मुक्तिका लागि शान्ति उन्नति र प्रगतिका लागि निर्धारण गरिएका चारधाम, तीन धामका चर्चा र नवाह, सप्ताहका कुरा बाँचुञ्जेली एकछाक पेटमा ढिँडो खान धौधौ पर्नेका लागि हीनताबोध गराउनै बनाइएका न हुन् । मलाई त्यसैले पूजा, व्रत, जस्ता संस्कारमाथि पटक्कै आस्था छैन, यस्ता संस्कार हुने खानेका लागि हुने खानले बनाएको आडम्बर मात्र हो ।
म आफ्नो खुसीले जन्मिएको पनि होइन, जन्म देऊ भनी कसैलाई अनुनय गरेको पनि होइन, कुन मान्छेको वीर्यले कुन कोखमा जन्मने हुँ भनी मैले रोजेको पनि होइन, फेरि किन त्यो सृष्टिकर्ताले मेरो सृष्टि ग-यो ? उसको के बाध्यता थियो ? खैर, सृष्टि त ग-यो ग-यो तर किन जन्मनासाथ मेरो मुखबाट आमाको दूधको हक खोस्यो ? किन म मर्नलाई बीच सडकमा फालिएँ, त्यो आमा भनाउँदीको मन कुन चट्टान वा कुन धातुले बनेको थियो । जहाँ पुत्रत्वले ठाउँ नै लिन सकेन र त्यो कुन पुरुष हो जो आफ्नो वीर्यको विजोग हुँदा पनि तमासे बनिरह्यो ? त्यस्ता धेरै प्रश्नले मलाई आध्यात्मकताप्रति अलिकति पनि आस्था राख्नै दिँदैनन् । सृष्टिकर्ता बच्चासँग पनि किन र केको रिस पोख्छ थाहा भएन ।
अब एसएलसी पास गरेपछि म यो आश्रमबाट बाहिर निस्किनुपर्नेछ । कुनै डेरामा गई स्वावलम्बी जीवन बाँच्नुपर्नेछ । खैर स्वावलम्बी जीवन बाँच्नु मेरा लागि समस्याको विषय पटक्कै छैन । किनकि मेरा दिमाग, हात, गोडा, सग्लै छन् तर अब समाजमा गएपछि ममाथि तेर्सिने मेरो परिचयको प्रश्नहरूको कल्पनाले नै मलाई कहाली लगाइदिन्छ । के भनी दिँदै जाऊँ म आफ्नो परिचय ? तर ढाँट्ने कुरै छैन, मैले भन्नैपर्ने हुन्छ म अनाथाश्रममा हुर्किएको परिचयहीन फालिएको मान्छे ।