ध्रुव नेपाल
रामेछाप जिल्लाका साथी हिम्मतसिंह लेकालीको प्रस्ताव भनौँ वा आग्रह थियो, “रामेछाप जिल्ला अस्पतालको रणनीतिक योजना बनाइदिनुप¥यो भन्ने आग्रह आएको छ, रामेछाप जिल्लालाई सहयोग गर्नुप¥यो है ! तपाईंको सहमति हुनेछ भनेर मैले हुन्छ भनेको छु ।”
बडो आत्मीय तवरले मनले जितेर गरिएको आग्रह थियो ।
कसैको बानी हुने रहेछ, खोजेको कुरा भेट्दा पनि अरूका लागि गरिदिएझैँ गर्ने, “तिमीले भनिहाल्यौ र मात्र, अरूले भनेको भए यो काम छुने र गर्ने नै थिइनँ” भन्ने । मलाई यस्तो आडम्बर गर्न मन लाग्दैन, अनि भनेँ पनि– बडो राम्रो प्रस्ताव, यस्तै काम गर्न मनले खोजिरहेको थियो । म खुसीसाथ गर्छु ।
एकातर्फ एक अस्पतालको रणनीतिक योजना बनाउने अवसर प्राप्त हुनु ढुङ्गा खोज्दा देवता मिलेझैँ थियो, स्वास्थ्य क्षेत्रमा काम गर्न रुचि राख्ने भएकाले । रामेछाप जान चाहनुका विशेष कारण छन् मेरा । पहिलो त, जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ पुस्तक खुब रुचाएर पढेको हुँ । घिमिरे रामेछापका नै रहेछन् र उनले पुस्तकमा रामेछाप जिल्लासम्बन्धी अनेक प्रसङ्गका कुरा गरेका छन् ।
अर्को कारण के थियो भने लगभग चालीस वर्षदेखिका मेरा अभिन्न मित्र सुवर्ण कर्माचार्य उहाँ रामेछापको साँघुटार बजारको हुनुहुन्छ, त्यसैले साँघुटारको बखान खुब सुनेको हुँ ।
मनले खोजेको काम गर्न पाइएकोमा खुसी त थिएँ, सोचेको भने थिइनँ दुई चार दिनमा नै रामेछाप गइहाल्नुपर्ला । म त्यसताक अर्काे काममा व्यस्त थिएँ । तर ती दिनपछि नै हिम्मतजीले भन्नुभयो, “पर्सि अस्पतालले अन्तक्र्रिया कार्यक्रम राखेको छ उहीँ नै, जानुपर्ने भयो !” म एक रिपोर्ट बुझाउने चपेटामा थिएँ, त्यसैले ३ दिन काठमाडौँ बाहिर जान सक्ने अवस्था थिएन । त्यसैले भन्नै प¥यो– यस पटक म जान नपाउने भएँ, जुमबाट उपस्थित हुने व्यवस्था मिलाउनुभएमा म यहीँबाट उपस्थित हुनेछु ।
म व्यवस्थापन विषयको विज्ञको हैसियतले सहभागी हुन लागेको हुँदा पहिलो अन्तत्र्रिmया कार्यक्रममा नै उपस्थित हुन सक्दिनँ भन्नु पहिलो गाँसमा नै ढुङ्गा लागेझैँ हुने थियो । त्यसैले अलि असहज लाग्यो यसो भन्नु । तर के गर्नु, सधै फुर्सद हुनेलाई पनि कहिलेकहीँ भ्याइनभ्याइ हुन्छ भनेझैँ भैदियो । मैले के सूचना सङ्कलन गरी ल्याउने र के बोल्ने भनी बताउने तथा यहीँबाट उपस्थित हुने भनेपछि उहाँलाई अलि आड मिल्यो र बेखुसीसँग हुन्छ भन्नुभयो । म वास्तवमा यस काममा ढाड भैदिनुपर्ने थियो ।
मैले रणनीतिक योजनाबारे विषयप्रवेश जानकारीका साथै केके तथ्य र विचार सङ्कलन गर्ने भनी खाका बनाइदिएँ । त्यो पहिलो अन्तत्र्रिmया कार्यक्रमको उद्देश्य थियो तथ्य र विचार सङ्कलन गर्नु । साथीहरू हिम्मत र सुवर्णले जुमबाट म पनि सहभागी हुन सक्ने प्रबन्ध मिलाउनु भएछ । कोरोना महामारीले २०२० को मार्चमा घरबन्दी हुनुपरेदेखि इन्टरनेटको माध्यमबाट आमनेसामने नभई पनि बैठकमा उपस्थित हुने प्रचलन खुब बढेको थियो ।
तोकिएभन्दा अलि ढिलो गरी कार्यक्रम सुरु भयो । यसो हुनु त नेपाली संस्कृति नै बनेको समेत भन्छन् मानिसहरू ‘नेपाली समय’, ‘नेपाली संस्कृति’ भनेर । मलाई भने यो भनाइ स्वीकार्न अलि गाह्रो लाग्छ– नेपालको समय र घडी ढिलो चलेको हो र ? मानिस पो ढिलो भएका, समयको मामिलामा मानिस पो लापरवाह भएका ! मानिस ढिलो भएको दोष किन नेपाली राष्ट्रिय पहिचानलाई ? नेपालमा सबै कुरा ढिलो हुने गरेको पनि त छैन, रेडियो र टेलिभिजनले तोकेको समयमा कार्यक्रम सुरु र अन्त्य गर्छन्, सिनेमा घरमा सिनेमा प्रायः भनेकै बेला सुरु हुन्छ– अनि कसरी जहाँ र जहिले पनि नेपालमा ढिलो गरी कार्यक्रम सुरु हुन्छ भनी मान्नु !
जुममा हेर्दा थाहा भयो ५०–६० जना जति उपस्थित रहेछन् । म र अर्का एक साथी कृष्ण चन्द थियौँ काठमाडौँबाट जुममा उपस्थित । कृष्ण जनस्वास्थ्य क्षेत्रमा काम गरी वरिष्ठ ओहोदाबाट हालै अवकाश प्राप्त । सरकारी नीति, ऐन, कानुनको कुरो आएमा उनको योगदान रहने आशा गरिएको थियो ।
अस्पतालहरू बनेका छन् जिल्ला तथा गाउँगाउँमा समेत । सबै पालिकामा अस्पताल खोल्ने नीति... त्यसमध्ये धेरै नबने पनि केही बने, केही पहिलेदेखि नै थिए । तर बिडम्बना बनेका अस्पताल डाक्टर, नर्स तथा अन्य कर्मचारी नपाएर टाक्सिएका छन् । ठूला सहरबाहेक अन्यत्र योग्य स्वास्थ्य प्राविधिकबाट स्वास्थ्य सेवा पाउनु लगभग दुर्लभ छ भने भौतिक रूपमा भर्खर २७/२८ करोड लागतमा जिल्ला अस्पताल बनेको छ, त्यसलाई चाहिने सामग्रीसमेत केही हदमा उपलब्ध रहेको छ । यस्तो अवस्थामा अस्पताल सञ्चालक समिति अध्यक्ष रोशन पाख्रिनले अस्पताल राम्रोसँग चलाउँछु भनी रणनीतिक योजना बनाउने पहल गरेका रहेछन् ।
बुझ्दै जाँदा थाहा भयो– अधिकांश अस्पतालले यस खाले योजना बनाउँदा नै रहेनछन् । यो पूर्वसक्रियता देखाएर गर्न खोजिएको काम रहेछ । पहिले अरूले गरेको कामबाट सिक्ने सामग्री नरहेको । पूर्ण मौलिक रूपमा काम गर्नुपर्ने थियो, त्यसले कामलाई चुनौतीपूर्ण त थियो नै रुचिकर पनि थियो ।
छलफल सुरु भयो । छलफलको मुख्य मुद्दा भनौँ वा समस्या भनौँ सरोकारवाला अधिकांशले उठाएका– अस्पताल त बन्यो कल्पना गरेभन्दा बढी लागतको र राम्रो पनि बनेको छ । तर यसमा बिरामी कसरी ल्याउने, डाक्टर तथा अन्य स्वास्थ्य कर्मचारी कसरी ल्याउने र टिकाउने ? अस्पतालको निर्माण तथा र सामग्री आपूर्ति जर्मन सरकारको सहयोगमा भएको छ । ५० शøयाका लागि आवश्यक पूर्वाधार बनेका छन्, जिल्ला स्तरीय अस्पताल भनिएको भए पनि जिल्लाभरिका बिरामी आउने सम्भावना कम छ । कारण हो अस्पताल रहेको रामेछाप बजारमा आउन जिल्लाका अन्य क्षेत्रका मानिसलाई पायक पर्दैन ।
रामेछाप अस्पताल डाँडाको सिरानमा बन्नु तर मानव बस्ती भने बेँसीतिर झर्नु– नेपालमा देखिँदै गरेको विकास दृश्यको नमुना थियो । अचेल यस्तै भएको छ ठाउँठाउँमा, मानिस तलतिर झर्ने तर विकासे संरचना माथितिर उक्लिने । यसो हुनुका विभिन्न ठाउँका कारण फरक फरक होलान्, तिनको केस्रा केलाएर हेर्दा हिङ बाँधेको टालोप्रतिको आसक्ति, भौतिक संरचना बनाउन सार्वजनिक वा सस्तो जग्गाको उपलब्धता वा प्रभावशाली नेताको हठजस्ता कारण हुँदा रहेछन् ।
सबैलाई अलि पायक पर्ने ठाउँ भनेको जिल्ला सदरमुकाम रहेको, बेँसीमा रहेको, उत्तरबाट बगी आउने तामाकोसी र पूर्वबाट बगी आउने सुकाजोर खोलाको दोभानमा रहेको मन्थली बजार हो । त्यो मन्थली बजारबाट रामेछाप बजार आउन ११ किलोमिटर मोटर यात्रा गर्नुपर्छ पूर्व–दक्षिणतर्फ । डाँडाको सिरानमा छ अस्पताल । जताबाट पनि सवारी साधनमा आएर झर्न पाइने मन्थली बजारबाट दिनमा एक पटक मात्र बिहानमा बस चल्छ रामेछाप बजारसम्म । काठमाडौँबाट एक सुमो जिप दिउँसो आइपुग्छ मन्थली हुँदै । अनि अरू बेला आउनुपरे आफ्नो व्यवस्था गर्नुपर्छ, गाडी नै रिजर्भ गर्नुपर्छ; यसो गर्दा ७÷८ हजार तिर्नु पर्छ, नभए एम्बुलेन्सको चर्काे शुल्क तिर्नुपर्छ । योभन्दा त निकै कम खर्चमा सार्वजनिक सवारी साधन चढेर धुलिखेल अस्पताल पुग्न सकिन्छ । धुलिखेल अस्पताल ठूलो छ, विशेषज्ञ डाक्टरहरू हुन्छन् । यी सबै कुरा विचार गर्दा अस्पतालमा बिरामी किन र कसरी आउलान् भन्ने चुनौतीबारे उपस्थित सबैले चासो र चिन्ता देखाइरहे ।
जिल्ला सदरमुकाम भनिने सौभाग्य खोसिएको छ रामेछाप बजारको, अनि यस्तो शृङ्गार गुमाएको बजारमा बनेको छ भव्य अस्पताल । यसको भव्यता जोगाउन नै गाह्रो पर्ने भएको छ । रामेछाप बजारका मानिसहरू सदरमुकामको सौभाग्य खोसिएपछि मन्थली, काठमाडौँ, तराई अनि कोही खुर्काेटतिर बसाइँ सरेका छन् । रामेछाप गन्तव्य बजारबाट, मुकाम बजारबाट नाका बजारमा फेरिन सकेन । नाका बजार– टाढाका ठाउँतिर जाँदा आउँदा बाटोमा पर्ने बजार । डाँडाको सिरानमा रहेको बजार हुनाले गन्तव्य बजारबाट नाकामा फेरिनै सकेन । न त गन्तव्य, न त नाका बजार बन्न सकेको रामेछाप बजार फेरि गम्किनु गाह्रो छ, असम्भव नै त छैन बन्दीपुर बजारको कायापलट हेरेर पनि । अस्पतालले त्यो भूमिका खेल्न सक्ने हो तर त्यो भूमिका खेल्ने बनाउन असजिलो हिमाल मनास्लु चढ्नुसरह नै हो । यसो किन भनेको भने निकै अनुभवी र नाम कहलिएका विशेषज्ञ डाक्टर रामेछापको जिल्ला अस्पतालमा लान र टिकाउन नै गाह्रो पर्नेछ, अनि अस्पताल नाम कमाएर कति गम्किन सक्ला र !
ताज्जुब मानेर सोचिरहेँ– यो अस्पताल बनेर सुरु नहुँदैदेखि चिन्ता छ बिरामी कसरी आउलान्, बिरामी ल्याउने तारतम्य के मिलाउने होला ? मेरो मनमा अव्यक्त नै रहने गरी प्रश्न उठ्यो– सबैलाई पायक पर्ने मन्थली बजारमा यो अस्पताल बनेको भए के हुँदो हो ? अव्यक्त किन रहने थियो भने यो प्रश्न गर्न उचित थिएन ।
यो प्रश्नको अब कुनै अर्थ थिएन; हामी जस्तो बनेको अस्पतालको रणनीतिक योजना बनाउनेहरूका लागि त यो प्रश्न बर्जित हुने भइहाल्यो किनकि बनेको अस्पतालको रणनीतिक योजना बनाउनु थियो, अस्पतालको कहाँ बनेको भए हुने, कस्तो बनेको भए हुने भन्ने प्रश्न गर्नै मिल्दैन कार्यसर्तगत विवरणअनुसार ।
अरू जो प्रश्न गर्ने हैसियत राख्थे, उनकै लागि पनि यो प्रश्न तिहारपछिको पिठोसरह थियो, प्रश्नका लागि प्रश्न हुन्थ्यो– गल्ती देखे पनि केही गर्न नसकिने । यो प्रश्न उठाउन सक्नेले पनि अस्पताल बन्नुअघि यो प्रश्न उठाउनुपथ्र्याे, अब कुनै अर्थ थिएन । प्रश्न र कुरा गर्नुको पनि समय हुन्छ नि, जहिले पनि उही कुरा कहाँ सान्दर्भिक हुन्छ र ! अब त यो प्रश्न मात्र सान्दर्भिक हुन्थ्यो– अस्पतालबाट गुणस्तरीय सेवा धेरैभन्दा धेरैसम्म कसरी पु¥याउने ?
अपायकको, जानआउन नै मुस्किल हुने ठाउँमा अस्पताल भएपछि बिरामी आउन नसके अस्पताल नै बिरामीसम्म पुग्ने उपाय गर्नुपर्ने देखियो । त्यस दिनको अन्तक्र्रियाले गरेको दिशानिर्देश थियो त्यो ।
योजना बनाउने हामी कार्यदलकाले सोच्यौँ– कसरी पु¥याउने अस्पताल जनताको घरघरमा ? एक मन्दिरभित्र बसेका देवताले त आफूकहाँ दर्शन गर्न आउने भक्तजनलाई दर्शन दिए हुन्छ, आएनन् भने देवताको कृपादृष्टि परेन भन्छ, चित्त बुझाउँछ । अस्पताल त त्यस्तो होइन, मन्दिरभित्र देवता गजधम्म परेर बसेझैँ गरे हुने ! जनता बिरामी पर्दा पनि सेवा पाएनन् भनिहाल्छन्– अस्पतालले केही गरेन, भएर पो के भयो !
हामी हिन्दुले जात्रा भन्दै खटमा कुनै कुनै देवतालाई राखेर जनताको घरछेउ पु¥याउने चलन छ प्रायः वर्षमा एक पटक देवतालाई गजधम्म राखेर मात्र हुन्न भनेर । देवता त त्यसरी पु¥याइन्छ भने अस्पतालको सेवा पनि जनतासमक्ष पु¥याउने कुरा सोच्यौँ । कसरी पु¥याउने त ? घुम्ती शिविर चलाएर, जनतामा कुनै रोग छ कि पत्ता लगाउन रगत, खकार, पिसाब, दिसाको नमुना सङ्कलन गरी ल्याबमा ल्याई त्यसको परीक्षण गरी प्रतिवेदन मेसेन्जर वा इमेलबाट पठाइदिने व्यवस्था गरेर, स्वास्थ्यसम्बन्धी शिक्षा स्कुल तथा जनताको भेला गरी त्यसमा दिने व्यवस्था गरेर । यस्ता उपाय पो गर्नु ठीक होला कि ! साथै मिर्गाैला बिरामीले प्रत्यारोपण गर्न नपाउँदासम्म डायलाइसिस सेवा दिनु पर्दा अस्पतालको ५० शøयाको तुरुन्त भर्ना गरेर उपचार नगरी नहुने बिरामीले नभरिएको बेला त्यो शøयामा बस्ने सुविधा दिए होला नि ! कुनै मन्दिरले पार्टी, धर्मशालामा आफ्ना भक्तलाई एक दुई दिन वा अझ बढी दिन बस्न दिने चलन छ भने अस्पतालले पनि यसो गरे के भयो र ! यस्तो सल्लाह गरेर सुझाव दिए हुनेमा सहमत भइयो पनि ।
त्योभन्दा पनि जिल्ला अस्पताल भनिएको भए पनि स्वामित्व प्रदेश सरकारको मात्र रहने प्रबन्धले जिल्लाका राजनीतिक संरचनाले अपनत्वबोध नगर्ने सम्भावना देखिँदोरहेछ । अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रदेश सरकारले नियुक्ति गर्ने र नियुक्त हुने व्यक्ति प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रीको मन परेको मानिस हुने चाहे त्यो जिल्लामा नपत्याइने व्यक्ति नै किन नहोस् ! अनि अर्काे एक सदस्य अस्पताल रहेको पालिकाका एक निर्वाचित प्रतिनिधि हुने, अरू सदस्य सबै कर्मचारी हुने सञ्चालक समिति ।
जब जिल्लाका सबै पालिका जिल्ला अस्पतालको सञ्चालनमा संलग्न हुने प्रबन्ध नै मिलाइन्न भने सबै पालिकाले आफ्नो नठानेको अस्पतालले जिल्ला अस्पतालको अपनत्व कसरी पाउन सक्ला ? कुनै संरचना र विकासे तथा सेवामूलक प्रबन्धले काम नगर्नुको कारण सानो किला राम्रोसँग नकसिएर यन्त्र, उपकरणले काम नगरे जस्तो हुन्छ । त्यस्तै भएझैँ लाग्यो तर यो सच्याउने भेउ प्रदेश सरकारले पाउनु जरुरी छ किनकि जिल्ला अस्पतालको स्वामित्व प्रदेश सरकारमा रहने गराइएको रहेछ ।
यो लेखनीको सुरुमा रामेछाप जान पाइने भयो भनेर बडो उत्साह देखाएको यो मान्छे त रामेछाप नै गएनछ, जुम मिटिङकै भरमा पो रामेछापको बारेमा लेखेको रहेछ भन्ने ठान्नुभएको होला । त्यसो होइन, म किन छाड्थेँ पाएको मौका । गएँ नि, माथि नलेखेको मात्र हो । गएर नै प्रतिवेदन प्रस्तुत गरियो । नत्र कसरी रामेछापको बारेमा यति लेख्थेँ र देखेसरह बताउन सक्थेँ !