• १५ वैशाख २०८१, शनिबार

उन्नाइसौ“ विश्वकप–२०१०

अफ्रिकामा विश्वकप

blog

सबै महादेशमा पालैपालो विश्वकप आयोजना गर्ने फिफाको नीतिअनुसार अफ्रिकी महादेशको दक्षिण अफ्रिकाले सन् २०१० मा विश्वकप आयोजना ग-यो। अफ्रिकाका पाँच देशले आयोजनार्थ आ–आफ्नो प्रस्ताव राखेका थिए। फिफाको कार्यकारी कमिटीले संयुक्त आयोजना नगराउने निर्णय लिएपछि ट्युनिसिया पछाडि हट्यो भने लिबियाको एकल प्रस्तावले प्रस्तावित मापदण्ड पूरा गर्न नसकिने देखियो। यी दुई राष्ट्रको प्रस्ताव असफल भएपछि सन् २००४ मा फिफामा भएको मतदानबाट दक्षिण अफ्रिकालाई आयोजना अधिकार प्रदान गरियो, मोरक्को र इजिप्ट असफल भए। 

विश्वकप आयोजना गर्न दक्षिण अफ्रिकालाई सजिलो थिएन, आर्थिक दबाब झेलिरहेको उसले समयमै पूर्वाधार तयार पार्न नसक्ने सम्भावना देखिँदै थियो। यही भएर सन् २००७ मा हल्ला चल्यो, सन् २०१० को विश्वकप अन्तै सारिँदै छ। हुन पनि दक्षिण अफ्रिकाको तयारी सन्तोषजनक देखिएको थिएन। 

नेल्सन मन्डेलाको राष्ट्र दक्षिण अफ्रिकाले सबै अड्कलबाजी खारेज गर्दै अन्ततः विश्वकप सफलतापूर्वक सम्पन्न ग-यो। तथापि हरेक दिनजसो अपहरण, हिंसा, लुटपाटजस्ता घटनाको त्रास भने बनिरह्यो। यस कारण दक्षिण अफ्रिका विश्वकपलाई फिफाको एक साहसिक कार्य मानिन्छ। 

यस विश्वकपमा पहिलो पटक नवप्रवेशी टिम थिएन। स्लोभाकिया र सर्वियालाई नयाँ टिम भन्न सकिने अवस्था थियो तर दुवै टिम पहिले प्रतिस्पर्धा गरिसकेका देशको विगतमा हिस्सा भएका कारण नवप्रवेशी मानिएनन्।  

यस विश्वकपमा स्पेन विजयी भयो तर स्पेनको खेलले दर्शकको मन जित्न भने सकेन। तथापि विश्वकप विजेताको सूचीमा नयाँ नाम भने थपियो। स्पेनले प्रतियोगितामा मात्र आठ गोल ग-यो र फाइनल खेल पनि हल्यान्डविरुद्ध १–० गोलअन्तरले जितेको थियो। 

लिगका हरेक खेल मात्र १–० गोल अन्तरले जितेको स्पेनले सेमिफाइनलमा जर्मनीविरुद्ध सन् २००८ को युरोको फाइनल खेलसरह खेल्यो। छोटो छोटो पास खेलेर जर्मनीलाई यहाँ पनि स्पेनले कायल पा¥यो। कार्लोस पुयोलको एक गोलले स्पेन पहिलो पटक फाइनलमा पुगेको थियो। 

ब्राजिललाई हल्यान्डले र अर्जेन्टिनालाई जर्मनीले क्वाटरफाइनलबाट फिर्ता पठाएका थिए।