• ८ वैशाख २०८१, शनिबार

अर्जेन्टिना साउदी अरबसँग स्तब्ध

blog

अर्जेन्टिनाविरुद्ध गोल गरेपछि साउदीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, मङ्सिर ६ गते । उपाधि दावेदार अर्जेन्टिना कतारमा जारी विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’ को पहिलो खेलमा एसियाली देश साउदी अरबसँग पराजित भएको छ । लुसेल आइकोनिक स्टेडियममा मंगलबार साँझ भएको खेलमा अर्जेन्टिना साउदी अरबसँग २–१ गोलले स्तब्ध भयो ।


पहिलो हाफमा अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा अग्रतालाई जोगाउन सकेन । साउदी अरबको जितमा  सलेह अल सेहरी र सलेम अल दसरीले गोल गर्नुभयो । अर्जेन्टिनाका कप्तान लियोन मेस्सीको सुरुवाती गोल सान्त्वना गोलमा परिणत भयो । 

अर्जेन्टिनाले पहिलो हाफमा सुरुवाती अग्रता लिएको थियो । मेस्सीले १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्नुभएको हो । लौटारो मार्टिनेजलाई डिबक्सभित्र विपक्षी रक्षकले फल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसलाई मेस्सीले सदुपयोग गर्नुभयो ।

पहिलो हाफमा अर्जेन्टिनाले ६३ प्रतिशत बल पोसेसन राखे पनि थप गोल गर्न सकेन । पहिलो हाफमै अर्जेन्टिनाको थप तीनवटा गोल अफ साइड भएको थियो । पहिलो हाफमा कमजोर देखिएको साउदी अरब दोस्रो हाफमा लयमा देखिएको थयो ।


दोस्रो हाफमा साउदी अरबले सुरुवाती पाँच मिनेटमै दुई गोल फर्काएको थियो । ४८औं मिनेटमा सलेह अल सेहरीले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ५३औं मिनेटमा सलेम अल दसरीले उत्कृष्ट गोल गर्दै साउदीलाई अग्रता दिलाउनुभयो । दुई गोलपछि रक्षात्मक देखिएको साउदी अरबविरुद्ध खेलको अन्तिमसम्म अर्जेन्टिनाको गोल फर्काउने प्रयास सफल भएन ।

यस हारसँगै अर्जेन्टिनाले लगातार ३६ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग सेमिफाइनलमा पराजित भएयताको ३६ खेलमा अर्जेन्टिनाले सबै अन्तर्राष्ट्रिय खेल जित्दै आएको थियो ।

साउदी अरबले भने पहिलो पटक अर्जेन्टिनालाई हराएको हो । यसअघिको चार भिडन्तमा सधैं साउदी अरब पराजित भएको थियो । उच्च लयमा रहनुभएका मेस्सीले टोलीका लागि गोल गरे पनि पाँचौं विश्वकपको सुरुवाती खेल उहाँको लागि सन्तोषजनक रहेन ।

३५ वर्षीय मेस्सीले यही विश्वकपलाई आफ्नो अन्तिम विश्वकपको रुपमा लिनुभएको छ । विश्व फुटबलमा सबैखाले उपाधि जित्नुभएका मेस्सी केवल विश्वकप उपाधिबाट भने वञ्चित हुनुहुन्छ । उहाँका लागि विश्वकप चुम्नु अन्तिम सपना हो । 



दोस्रो हाफमा ६८ प्रतिशत बल पोसेसन राखे पनि अन्ततः अर्जेन्टिना हार खेप्न बाध्य बन्यो । जितसँगै समूह ‘सी’ मा साउदी अरबले तीन अङ्क बनाएको छ । अर्जेन्टिनाले हारबाट खेलको सुरुवात गरेको छ । यस समूहमा अर्जेन्टिना, साउदी अरबसहित मेक्सिको र पोल्यान्ड छन् । एजेन्सी