• ९ साउन २०८१, बुधबार

कृषि मन्त्रालयको २३ प्रतिशत बजेट खर्च

blog

काठमाडौँ, मङ्सिर ६ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा साढे २३ प्रतिशत बजेट खर्च गरेको छ ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रस्तुत प्रतिवेदनमा बजेट खर्च २३.६३ प्रतिशत भएको उल्लेख छ ।  

चालू आवका लागि मन्त्रालयलाई ५५ अर्ब ८९ करोड रुपियाँ बजेट विनियोजन गरिएको थियो । पहिलो त्रैमासिक अवधिमा १३ अर्ब २० करोड रुपियाँ बराबर बजेट खर्च भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले चालूतर्फ १३ अर्ब आठ करोड दुई लाख ३८ हजार रुपियाँ र पुँजीगततर्फ १२ करोड ४९ लाख ८९ हजार रुपियाँ बराबर मात्रै खर्च गरेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कृषि उपजको आयात ३२ प्रतिशतले घटेको छ । असोज मसान्तसम्ममा ६९ अर्ब १६ करोड रुपियाँ बराबरको कृषि उपज आयात भएको छ । 

सो अवधिमा एक खर्ब १६ करोड रुपियाँ बराबरको कृषि उपज आयात भएको थियो । मन्त्रालयको गत आर्थिक वर्षसम्ममा फर्स्योट हुन बाँकी रहेको बेरुजु आठ अर्ब २० करोड ४७ लाख ७७ हजार रहेको थियो । पछिल्लो तीन महिनामा ९२ करोड ७३ लाख ४६ हजार फर्स्योट भएर अहिले सात अर्ब २७ करोड ७४ लाख ३१ हजार बेरुजु कायम रहेको पनि मन्त्रालयले जनाएको छ । 

चालू आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्न १५ अर्ब  रुपियाँ निकासा भएकोमा असोज मसान्तसम्ममा १० अर्ब ७७ करोड रुपियाँ बराबरको मल आयातका लागि रकम निकासा भइसकेको पनि मन्त्रालयले जनाएको छ । 

पहिलो त्रैमासिक अवधिमा कुल दुई लाख ५७ हजार मेट्रिक टन रासायनिक मल खरिद गर्नका लागि ठेक्का लगाइएकोमा ९७ हजार मेट्रिक टन रासायनिक मल आयात भइसकेको मन्त्रालयले जनाएको छ ।

तीन महिनामा उखु किसानलाई उखु उत्पादन अनुदान वितरण गर्न विभिन्न आठ जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमा ७३ करोड ८७ लाख ४७ हजार रुपियाँ बजेट हस्तान्तरण भइसकेको मन्त्रालयले जनाएको छ । प्रतिक्विन्टल उखुको पाँच सय २० रुपियाँ न्यूनतम समर्थन मूल्य तोकिएको छ भने सरकारले प्रतिक्विन्टल ७० रुपियाँ अनुदान उपलब्ध गराउने गरेको छ । कृषि बीमा प्रिमियम शुल्क अनुदानबापत चालू आर्थिक वर्षका लागि १६ करोड बजेट विनियोजन गरेकोमा असोज मसान्तसम्ममा ७८ लाख १४ हजार रुपियाँ भुक्तानी भएको मन्त्रालयले जनाएको छ ।