• २३ वैशाख २०८१, आइतबार

११ वाणिज्य बैङ्कसहित १८ कम्पनीको लाभांश प्रस्ताव

blog

काठमाडौँ, मङ्सिर ६ गते । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीमध्ये १८ वटाले अहिलेसम्म आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् । यी कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् । लाभांश घोषणा गर्नेमा ११ वटा वाणिज्य बैङ्क, चारवटा बीमा कम्पनी, एक लघुवित्त संस्था, दुईवटा अन्य कम्पनी र एक होटल छन् ।

नेप्सेमा  सूचीकृत २४२ मध्ये १४६ बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने ५९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, छ लगानी कम्पनी, पाँच होटल, चार व्यापारिक संस्था र तीन अन्य समूहका छन् ।

अहिलेसम्म प्रभु बैङ्क, बैङ्क अफ काठमाण्डू, एभरेस्ट बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, ग्लोबल आईएमई बैङ्क, कुमारी बैङ्क, नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क, सानिमा बैङ्क, सिटिजन्स बैङ्क र मेगा बैङ्क नेपाल लिमिटेडको लाभांश प्रस्ताव सार्वजनिक भइसकेको छ ।

यता नबिल बैङ्क, एनआईसी एसिया बैङ्क, हिमालयन बैङ्क, कृषि विकास बैङ्क, नेपाल बैङ्क, प्राइम बैङ्क, एनएमबी बैङ्क, सिद्धार्थ बैङ्क, माछापुच्छ«े बैङ्क, लक्ष्मी बैङ्क, सनराइज बैङ्क, नेपाल एसबीआई बैङ्क, सेन्चुरी बैङ्क, सिभिल बैङ्कले भने लाभांश प्रस्ताव गरेका छैनन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले पनि लाभांश प्रस्ताव गरेको छैन यद्यपि यो बैङ्क नेप्सेमा सूचीकृत छैन ।

गत आर्थिक वर्षको मुनाफाबाट सबैभन्दा धेरै लाभांश दिनेमध्येको अगाडि बैङ्क अफ काठमाण्डू रहेको छ । बीओकेले छ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद गरी कुल २०.९५ प्रतिशत लाभांश दिएको छ ।

एभरेस्ट बैङ्कले पनि सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.६८ प्रतिशत नगद गरी कुल २०.६८ प्रतिशत लाभांश दिएको छ । बाँकी वाणिज्य बैङ्कहरूको लाभांश २० प्रतिशतभन्दा कम छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले चुक्ता पुँजीको १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । ग्लोबल आईएमई बैङ्कले तीन प्रतिशत बोनस सेयर र १०.६० प्रतिशत नगद गरी कुल १३.६० प्रतिशत प्रस्ताव गरेको छ । कुमारी बैङ्कले १२.५० प्रतिशत नगद, एनसीसी बैङ्क र नेपाल इन्भेस्टमेन्ट बैङ्कले समान ११ प्रतिशत लाभांश वितरण गरेका छन् ।

नेपाल इन्भेस्टमेन्ट बैङ्कले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको चार प्रतिशत बोनस सेयर र सात प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत तथा एनसीसीले ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

सानिमा बैङ्कले पनि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

मेगा बैङ्कले लाभांश प्रस्ताव गरेकोमध्ये सबैभन्दा कम ७.८३ प्रतिशत लाभांश दिन लागेको हो । बैङ्कले चुक्ता पुँजीको चार प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सिटिजन्स बैङ्कले नौ प्रतिशत नगद तथा प्रभु बैङ्कले ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत १.५० प्रतिशत नगद गरी आठ प्रतिशत लाभांश घोषणा गरेको छ ।

साधारण सभासमेत सम्पन्न गरिसकेका सिटिजन्स, कुमारी र एनसीसी बैङ्कले लाभांश पारितपछि नगद लाभांश भने वितरण गरिसकेका छन् । मर्जर प्रक्रियामा रहेका ग्लोबल आईएमई र बीओकेले मङ्सिर २३ गते साधारण सभा बोलाएका छन् । यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले मङ्सिर २५ गते साधारण सभा बोलाएको छ ।

उता जाल्पा सामुदायिक लघुवित्तले ७३ प्रतिशत बोनस र ३.८४ प्रतिशत नगद लाभांश गरी ७६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनीले पाँच प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश घोषणा गरेको छ । सिद्धार्थ इन्स्योरेन्सले बोनस सेयर घोषणा गरेको छैन भने नगद लाभांश ९.४७ प्रतिशत घोषणा गरेको छ । युनाइटेड इन्स्योरेन्सले पनि पाँच प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश गरी ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । प्राइम लाइफ इन्स्योरेन्सले १३ प्रतिशत बोनस सेयर र ०.६८ प्रतिशत नगद लाभांश गरी १३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

अन्य कम्पनीमा माउन्टेन इनर्जी नेपाल लिमिटेडले बोनस सेयर घोषणा गरेको छैन भने १०.५२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । युनिलिभर नेपाल लिमिटेडले भने १२५० रुपियाँ प्रतिसेयर नगद लाभांश दिने घोषणा गरेको छ । सोल्टी होटलले भने पाँच प्रतिशत बोनस सेयर र २१.३१ नगद लाभांश गरी कुल २६.३१ प्रतिशत लाभांश घोषणा गरेको छ ।