अमरराज नहर्की
तनहुँ, मङ्सिर ५ गते । प्रतिनिधि सभातर्फ तनहुँको दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ मतपत्र मिलाउने काम पूरा भई ४ः१५ बाट तनहुँ–१ को मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभामा यस क्षेत्रबाट सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, स्वतन्त्र उम्मेदवार पूर्व गृहमन्त्री गोविन्दराज जोशी र एमालेका एकबहादुर रानाबीच मुख्य प्रतिस्पर्धा छ । १ लाख २३ हजार ४९० मतदाता रहेको यस क्षेत्रबाट प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६७ हजार १३० खसेको थियो ।
तनहुँ –२ मा दिउँसो १ बजेबाट मतगणना भइरहेको छ । तनहुँ २ मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका शङ्कर भण्डारी र एमालेका किरण गुरुङबीच छ । सुरुवाती मत परिणामअनुसार कांग्रेसका भण्डारीले अग्रता लिनुभएको छ । ६ हजार ३ मत गणना हुँदा भण्डारीले दुई हजार ६५१ र गुरुङले दुई हजार १३२ मत प्राप्त गर्नुभएको छ ।
उहाँहरू दुवै उम्मेदवार पूर्ववनमन्त्री हुनुहुन्छ । तनहुँ– २ को प्रदेश सभा (क) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले ६८१ र एमालेका श्यामराजा महतले ४७३ मत पाउनुभएको छ ।
तनहुँ –२ मा एक लाख २५ हजार ५ मतदाता रहेकोमा ६८ हजार १७३ मत खसेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । तनहुँ–मा ५३.८२ प्रतिशत र तनहुँ –२ मा ५४.५३ प्रतिशत गरी तनहुँमा कुल ५४.१८ प्रतिशत मत खसेको ढकालले जानकारी दिनुभयो ।