सिराज खान
नेपालगञ्ज, मङ्सिर ३ गते । आइतबार हुन गइरहेको आम निर्वाचनका लागि बिहीबार रातिदेखि यहाँस्थित नेपाल–भारत जमुनाहा नाकालाई बन्द गरिए पनि मतदानका लागि भारतबाट नेपाल फर्कनेहरूको सीमा नाकामा अझै भीड छ ।
सीमा नाका बन्द गरिएकाले मतदान गर्न आउनेलाई परिचयपत्र, नागरिकतालगायतका आवश्यक कागजपत्र हेरेर आउन दिने सहमति भएकाले कागजपत्र चेकजाँचमा समय लाग्दा नाकामा फर्किनेको भीड लागेको हो ।
भोलि ४ गतेको चुनावलाई लक्षित गरी स्थानीय प्रशासनले मङ्सिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म नाका बन्द गरेको भए पनि त्यसको जानकारी नपाउँदा भारतका विभिन्न सहरबाट नेपाल फर्कने सयौँ नेपालीहरू नाकामा आइपुगेका छन् ।
नाका बन्द भए पनि शनिवार बिहानदेखि भारतबाट आएका नेपाली नेपाल–भारत नाकामा आइपुगेको सीमामा खटेका सुरक्षाकर्मीको भनाइ छ । नाका बन्दको सूचना नपाएर आएका नेपालीलाई दुवै देशका सुरक्षा निकायको समन्वयमा भित्रिन दिइएको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
एसपी अधिकारीका अनुसार नेपालबाट बिरामी या आपतमा परेका तथा काम विशेषले आएर फसेका भारतीय नागरिकलाई आधार कार्ड हेरेर भारततिर जान पनि दिइएको छ । नेपालगञ्ज नाकाबाट मात्र दैनिक दश हजारभन्दा बढी मानिस ओहोर दोहोर गर्ने गर्छन् । चुनावले गर्दा नाका बन्द भए पनि थाहा नपाएका मानिस नाकासम्म आइपुगेकाले उनीहरूलाई आउन दिइएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
घर फर्केकाहरूलाई स्थानीय प्रशासनले नरम नीति अपनाउँदै आउन दिइएको जमुनाहा प्रहरीका प्रमुख वरिष्ठ सई माधव रिजालले बताउनुभयो । यसअघि सीमावर्ती जिल्लाका दुवै देशका सुरक्षा अधिकारीको नेपालगञ्जमा भएको बैठकले मङ्सिर १ गते रातिदेखि ४ गते राति १२ बजेसम्म नाका बन्द गर्ने र नाकामा कडा निगरानी गर्ने निर्णय गरेको थियो ।