• १४ वैशाख २०८१, शुक्रबार

नाटक समीक्षा

जासुसीको कथा एन इन्स्पेक्टर कल्स

blog

काठमाडौँ, मङ्सिर ३ गते । सिनामङ्गलस्थित पुरानो नाटकघरमा नाटक ‘एन इन्स्पेक्टर कल्स’को मञ्चन सुरु भएको छ। नाटकलाई नैतिकतावादी ‘मोरालिटी प्ले’ भनेर पनि व्याख्या गरिएको छ। नाटक एउटा धनाढ्य मल्ल परिवारको घरमा भइरहेको पार्टीबाट सुरु हुन्छ। सौर्य मल्लकी छोरी शिला मल्लको इन्गेजमेन्ट आफूभन्दा समाजमा अझ उच्च दर्जामा गनिने शिशिरशमशेर राणासँग हुँदै छ। यसैको पार्टीमा खुसी मनाइरहेका बेला डोरबेल बज्छ र भित्र छिर्छ एउटा इन्स्पेक्टर। 

को हो त्यो इन्स्पेक्टर ? ऊ किन त्यहाँ छ ? यही प्रश्नभित्र नाटक रुमलिएको छ। नाटक हर समयको कथा हो। मानव सभ्यता सुरु भएदेखि नै विभिन्न किसिमका दासत्वहरूको जन्म भए। धर्म, अर्थ, छालाका रङ, राष्ट्रियता, भाषा, जात आदि विभिन्न परिधिमा बाँडिदै गए। यी सबै विभेदमा कुनै एक किसिमको वर्गले कुनै अर्को वर्गलाई पैतालामुनिको धुलो समान व्यवहार गरिराख्यो। 

१९औँ शताब्दीमा वर्गीय विभेदको अन्त्य गर्ने भनेर आएका कति राष्ट्रहरू आफैँ फुटेर गए, कति वर्गीय विभेदलाई राजनीतिक न्याय दिन कम्युनिजमको सँगसँगै विभिन्न समाजवाद र कतिले त प्रजातान्त्रिक पुँजीवादीलाई डोहो¥याएर लगे। ‘जुन जोगी आए पनि कानै चिरिएको’ भनेजस्तै दैनिक ज्याला गरेर जीवन चलाउनेहरू ठूलो भुमरीको बीचमा धपधप गर्दै बलिराखेको मैनबत्ती जसरी बल्छ, त्यहीँ मल्ल परिवारको भुमरीमा बाँच्ने अनेकन प्रयास गर्दा पनि निभ्नु परेको मुनाको कथालाई नाटकमा उजागर गर्न खोजिएको छ। ‘एन इन्स्पेक्टर कल्स’ जेबी पृस्ट्लीद्वारा १९४५ मा प्रकाशित नाटक हो। राजकमल (फकिर)को डेब्यु निर्देशन तथा अनुवाद रहेको नाटक जासुसी शैलीको छ। नाटकमा सेट डिजाइन निर्देशक फकिरले नै गर्नुभएको छ भने प्रकाश डिजाइन श्रवण राणामगरको छ।

निर्देशक फकिरले गर्नुभएको मञ्च व्यवस्थापनको सेट भव्य छ। निर्देशकले नाटकमाथि गर्नुभएको मेहनतले उहाँको यो डेब्यु निर्देशन हो जस्तो नै लाग्दैन। उहाँको निर्देशकीय पक्ष बेजोड छ। त्यस्तै कलाकारको अभिनयले अवश्य नै दर्शकको मन लोभ्याउँछ। आभास अधिकारी, विजय ताम्रकार, शारदा अधिकारी, सरिता भुजेल, सदिन लुइँटेल, शिशिर सिवाकोटी, मोनिका थापालगायतको अभिनयमा कतै खोट लगाउने ठाउँ छैन। सबै कलाकारले आआफ्नो अभिनयमा न्याय गर्नुभएको छ। नाटक मङ्सिर १२ गतेसम्म मञ्चन हुनेछ।