• १२ साउन २०८१, शनिबार

ताप्लेजुङमा वैज्ञानिक समाजवादी पार्टी माओवादीमा समाहित

blog

पार्टी समाहित भएको समजदारीपत्र आदान-प्रदान। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १ गते। ताप्लेजुङमा विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको जिल्ला समिति नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ। प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको संघारमा दुई पार्टीबीच एकता भएको उल्लेख गर्दै वैज्ञानिक समाजवादी पार्टी माओवादी केन्द्रमा समाहित भएको हो। 

बिहीबार विज्ञप्ति प्रकाशित गर्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई अझ मजबुत बनाउन र मङ्सिर ४ गते हुने निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई विजयी पार्टी एकता गरेको जनाइएको छ। विज्ञप्तिमा वैज्ञानिक समाजवादीका जिल्ला सचिव भीम काङ्भा र माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार लिम्बूले हस्ताक्षर गर्नुभएको छ।

वैज्ञानिक समाजवादीका केन्द्रीय सदस्य सुरज ओझाको उपस्थितिमा दुई कम्युनिस्ट पार्टी एक भएको वैज्ञानिक समाजवादीका तत्कालीन जिल्ला सचिव काङ्भाले बताउनुभयो। यता वैज्ञानिक समाजवादी पार्टी जिल्लास्तरमा माओवादीमा समाहित भएसँगै वैज्ञानिक समाजवादीबाट विद्रोह गरेर आउनुभएका नेता–कार्यकर्तालाई निर्वाचनपछि उचित जिम्मेवारी दिएर पार्टीलाई थप मजबुत बनाउनतर्फ लागिपर्ने संयोजक लिम्बूले बताउनुभयो।

मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुडाक्षेत्री वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बन्नुभएको छ। प्रदेश निर्वाचन क्षेत्र १ मा एकीकृत समाजवादीका खेमबहादुर वनेम र निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसका खगेनसिं हङ्गामा गठबन्धनका साझा प्रत्याशी रहनुभएको छ।