• २२ वैशाख २०८१, शनिबार

जो जीवनमै अन्तिम चुनाव लड्दैछन्

blog

झलनाथ खनाल र महन्थ ठाकुर । फाइल तस्बिर

काठमाडौँ, मङ्सिर १ गते । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा उमेरले पाका केही उम्मेदवारहरूले यसपटकको चुनावी लडाई आफ्ना लागि राजनीतिक जीवनकै अन्तिम रहेको बताउनुभएको छ । 

यसपटक उम्मेदवार रहनुभएका थुप्रै नेताहरू उमेर हदको कारण अर्कोपटक निर्वाचनको प्रतिस्पर्धामा रहन सक्दैनन् । तर, केहीले मात्रै अर्को निर्वाचन नलड्ने सार्वजनिक रूपमा घोषणा गर्नुभएको छ । 

अर्को निर्वाचन नलड्ने घोषणा गर्नुभएकामध्ये कतिपयले प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने रहन सकिएकोले अर्कोपटक उम्मेदवारी नदिने बताउनुभएको छ । कहिले भने उमेरको कारणले यस्तो निर्णय लिइएको बताउने गर्नुभएको छ । 

उहाँहरू अहिले आफ्नो अन्तिम उम्मेदवारी भएको बाचा गर्दै आफूलाई मत दिएर एक पटक जसरी पनि जिताइदिन मतदाता समक्ष अनुनय गर्दै हिँड्नुभएको छ । यो निर्वाचन नै आफ्नो अन्तिम स्पर्धा भएको बताउनेमा पार्टी अध्यक्षदेखि केन्द्रीय स्तरका नेताहरू समेत रहनुभएको छ । तर, मतदाताहरूले भने नेताहरूको बाचामा विश्वास गर्न सकिरहेका छैनन् । 

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले यसपटक आफ्नो अन्तिम उम्मेदवारी भएको बताउनुभएको छ । निर्वाचन आयोगको विवरण अनुसार उहाँको उमेर ७२ वर्ष छ । 

उहाँ इलाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । खनाल यो क्षेत्रमा २०४८ सालदेखि उम्मेदवार हुँदै आउनुभएको छ । गत वर्ष मात्रै नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट अलग्गिएर समाजवादी पार्टीमा लाग्नुभएका खनालले आफ्नै पूर्वसहकर्मी नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग मुख्य प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पनि यसपटकको निर्वाचन र आफ्नो उम्मेदवारी अन्तिम पटकका लागि भएको बताउनुभएको छ । निर्वाचन आयोगको विवरण अनुसार उहाँको उमेर ८० वर्ष छ । उहाँले महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ । अध्यक्ष ठाकुरले मत माग्ने तथा घरदैलो गर्ने क्रममा आफूलाई अन्तिमपटकका लागि भोट दिन आग्रह गरिरहनुभएको छ । 

उहाँ विसं २०७४ पनि यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उनी मधेसको पहिचान र हक–अधिकारसम्बन्धी केही काम गर्न बाँकी रहेकाले त्यही बाँकी काम गर्नका लागि आफूलाई पुनः एकपटक जिताउन जनतासँग आग्रह गर्दै मत मागिरहनुभएको छ । 

ललितपुर क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका  नेपाल कम्युनिष्ट पार्टी (माओवादी) नेतृ पम्फा भुसालले पनि आफू अर्को निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । 

अर्को निर्वाचन आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले आफूले निर्वाचन नलड्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले ६० वर्ष पुगेँ । अब अर्को संसद् आउने बेलासम्म म ६५ वर्ष पुग्छु । त्यसैले अब उमेर अवस्थाले गर्दा प्रत्यक्ष निर्वाचन लड्दिन ।’’ 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले पनि आफ्नो लागि यसपटकको निर्वाचन अन्तिम भएको बताउनुभएको छ । भावी प्रधानमन्त्री बन्नकै लागि यसपटक चुनावी मैदानमा उत्रिएको उहाँले बताउने गर्नुभएको छ । उहाँ यसपटक नवलपुर क्षेत्र नं एकबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । डा. कोइराला अहिले चौथोपटक चुनावी मैदानमा हुनुहुन्छ । उहाँ अहिले ६४ वर्षको हुनुहुन्छ । 

त्यस्तै नेपाली कांग्रेसकै केन्द्रीय सदस्य ७५ वर्षीय अर्जुननरसिंह केसीले पनि यो निर्वाचन आफ्नो लागि अन्तिम भएको बताउनुभएको छ । उहाँ यसपटक नुवाकोट क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । उहाँले भन्नुभएको छ, “यो मेरो अन्तिम निर्वाचन हो । फेरि म लड्न पनि सक्तिन होला । योभन्दा अघिल्लो निर्वाचनमा अन्तिम भनेको रहेछ भने त्यो होइन, यो चाहिँ अन्तिम हो ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता दीपक बोहोराले पनि यो निर्वाचन प्रतिस्पर्धा आफ्नो लागि अन्तिम भएको बताउनुभएको छ । उहाँ ७१ वर्षको हुनुहुन्छ । उहाँ अहिले रुपन्देही क्षेत्र नं. ३ मा एमाले र जसपाको सहयोगमा उम्मेदवार हुनुहुन्छ । उहाँ २७ वर्षको उमेरमै २०३८ सालदेखि संसदीय राजनीतिमा लाग्नुभएको थियो । 

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले पनि यस पटकको उम्मेदवारी अन्तिम भएको बताउनुभएको छ । निर्वाचन आयोगको विवरण अनुसार उहाँको उमेर ८५ वर्ष छ । तर, नागरिकमा उक्त मिति उल्लेख भएपनि उहाँको उमेर सो भन्दा  कम रहेको उहाँले बताउने गर्नुभएको छ । 

उहाँ २०७० र २०७४ सालमा सर्लाही क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । अहिले पनि सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ । यसपटक निर्वाचन जितेपछि कृषि, उत्पादन वैज्ञानिक र प्राविधिक शिक्षा लगायतका क्षेत्रमा अधूरा रहेका काम पूरा गर्ने यादवको भनाई छ । यसपछि अर्को निर्वाचनमा आफू चुनावी प्रतिस्पर्धामा नउत्रने यादवको भनाई छ । 

सार्वजनिक रूपमा घोषणा नगरेपनि उमेरकै कारण दर्जनौँ नेताहरू (अबको पाँच वर्षपछि नै निर्वाचन हुने हो भने) अर्को पटकको निर्वाचनमा प्रतिस्पर्धा गर्न कठिन हुने देखिन्छ । तर नेताहरूको भनाइमा सत्यता नभएका कारण उहाँहरूको अहिलेको घोषणालाई पत्याउन मुस्किल पर्ने कुशेश्वरका चिरञ्जीवी सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको नेताको के विश्वास गर्नु ? चुनाव जित्नका लागि जे पनि भन्छन् । अर्को चुनावमा फेरि उही कुरा दोहोर्‍याउनछन ।”

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।