• ११ मंसिर २०८१, मङ्गलबार

अमेरिकी निर्वाचनको सन्देश

blog

निर्वाचन नै नेताको लोकप्रियता बढेको वा घटेको देखाउने कसी हो। निर्वाचनमार्फत अभिव्यक्त हुने जनमतले नेतालाई सचेत गराउँछ र सुधारिने मौका दिन्छ। देश र जनताका लागि राम्रो काम गरे जनताले पत्याउँछन् नत्र पत्याउँदैनन्। लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै निर्वाचनमार्फत प्राप्त हुने जनमत हो। निर्वाचन खर्चिलो भए पनि जनमत नाप्न योभन्दा भरपर्दो विकल्प छैन।  

यस पटक अमेरिकी राष्ट्रपति जोए बाइडेनको लोकप्रियतामा केही कमी आएको छ। सम्पन्न मध्यावधि निर्वाचनको परिणामले यो कुरा पुष्टि गरेको हो। दुवै सदनमा नियन्त्रण कायम राखेको राष्ट्रपति बाइडेनको सत्तारुढ डेमोक्रेटिक पार्टीले संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा बहुमत गुमाएको छ। सन् २०२० को नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा सो दलले २२० सिट जिती बहुमत ल्याएको थियो। तल्लो सदनमा ठूलो दल बनेको विपक्षी रिपब्लिकन पार्टीले अब सभामुख पाउने भएको छ। सो पार्टीका नेता केभिन मक्कार्थी सभामुख बन्नु हुनेछ। 

तल्लो सदनमा बहुमत गुमाएका राष्ट्रपति बाइडेनको अब बाँकी दुई वर्षको कार्यकाल केही चुनौतीपूर्ण हुने भए पनि सिनेटमा आफ्नै दलको बहुमत कायम रहेकाले काम गर्न ठूलो अवरोध आउँदैन। नोभेम्बर ८ मा भएको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले तल्लो सदनमा २१७ सिट जितेको छ। यसअघिको निर्वाचनमा सो पार्टीले २१२ सिट जितेको थियो। यस पटक तल्लो सदनको सबै ४३५ सिट, माथिल्लो सदन सिनेटका ३५ सिट र ३४ गभर्नरका लागि निर्वाचन भएको हो। तल्लो सदनमा बहुमत ल्याउन २१८ सिट आवश्यक पर्छ। 

तल्लो सदनमा बहुमत गुमाए पनि बाइडेनको राष्ट्रपतीय कार्यकालका लागि भने कुनै असर पर्दैन। तर यसले सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा भने चुनौती सामना गर्नुपर्ने हुनसक्छ। तल्लो सदनमा रिपब्लिकन पार्टी ठूलो भएकाले कानुन तथा नीति निर्माणमा अवरुद्ध पार्न सक्छ। रिपब्लिकनका तर्फबाट सन् २०२४ को राष्ट्रपतीय चुनावका मुख्य दाबेदार फ्लोरिडाका गभर्नर रोन डिसेन्टिस पुनः एक पटक विजयी हुनुभएको छ। 

माथिल्लो सदन सिनेटमा भने डेमोक्रेटिक र रिपब्लिकन पार्टीबीच निकै कडा प्रतिस्पर्धा भयो। सिनेटका एक सय सिटमध्ये ३५ सिटका लागि निर्वाचन भएको हो। यसअघि सिनेटमा दुवै दलको हाल ५०/५० सिट थियो तर डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति बनेकी कमला ह्यारिसले सिनेटमा निर्णायक मत दिन पाउनुहुने भएकाले डेमोक्रेटिक पार्टी बहुमतको अवस्थामा थियो। यस पटक भने डेमोक्रेटिक पार्टीले ५० र रिपब्लिकन पार्टीले ४९ सिट जितेका छन्। जर्जियामा डेमोक्रेटिकका राफेल वार्नक रिपब्लिकनका हर्सेल वाल्करभन्दा अघि भए पनि उहाँले ५० प्रतिशत मत कटाउन सक्नु भएन जसका कारण डिसेम्बर ६ मा पुनः चुनाव हुनेछ। 

अमेरिकी संसद्मा दुई सदन छन्। तल्लो सदनका सदस्यको कार्यकाल दुई वर्षको हुन्छ भने माथिल्लो सदनका सदस्यको कार्यकाल छ वर्षको हुन्छ। एक तिहाइ सदस्यको कार्यकाल दुई वर्षमा सकिन्छ। राष्ट्रपतीय निर्वाचित भएको दुई वर्षपछि हुने निर्वाचनलाई मध्यावधि निर्वाचन (मिड–टर्म इलेक्सन) भनिन्छ।

डेमोक्रेटिक पार्टीले संसद्को तल्लो सदनमा बहुमत कायम गर्न चुकेसँगै गर्भपतनको अधिकार, बन्दुक नियन्त्रणको मुद्दा र स्वास्थ्यसम्बन्धी सेवामा असर पुगेको छ। सर्वोच्च अदालतले गत जुनमा संवैधानिक रूपमा संरक्षण गरिएको गर्भपतनसम्बन्धी अधिकारको अन्त्य गरिसकेकाले अब संसद्मा बहुमत ल्याउने दलले अब नयाँ कानुन बनाउनुपर्नेछ। 

चुनावी मुद्दाका रूपमा डेमोक्रेटिक पार्टीले गर्भपतनमा कानुनी पहुँच कायम राख्ने वाचा गरेको थियो भने रिपब्लिकनले १५ साताभन्दा बढीको गर्भपतनमाथि कानुनी प्रतिबन्ध लगाउने बताएको छ। सो पार्टी अध्यागमन, धार्मिक अधिकार र हिंसात्मक अपराधसम्बन्धी नियममा थप कडाइ गर्ने पक्षमा छ । त्यस्तै, बाइडेन प्रशासनको अध्यागमन नीतिसमेत परिवर्तन गर्ने दाउमा रिपब्लिकन छ। आफ्नो जितसँगै सन् २०२१ को जनवरी ६ मा क्यापिटल हिल (संसद् भवन) मा भएको आक्रमणको अनुसन्धान बन्द गर्ने रिपब्लिकनको सोच छ। तत्कालीन राष्ट्रपति ट्रम्पले निर्वाचन हारेपछि उहाँका समर्थकले असहमति जनाउँदै संसद् भवनमा आक्रमण गरेका थिए। सो घटनामा पाँच जना मारिएका थिए भने संसद् भवन तोडफोड भएको थियो। घटना हुनुमा ट्रम्पलाई जिम्मेवार ठह¥याउँदै छानबिन प्रक्रिया अगाडि बढाइएको छ। 

चुनावी परिणामले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने सन् २०२४ को चुनावमार्फत पुनः राष्ट्रपतिमा फर्कने अवस्था केही असहज बनेको देखिएको छ। उहाँले छनोट गरेका कतिपय उम्मेदवार चुनावमा असफल भएका कारण उहाँमाथि फ्लोरिडाका गभर्नर रोन डिसान्टिस हाबी हुनसक्ने देखिएको छ। डिसान्टिस अत्यधिक मतसहित पुनः विजयी हुनुभएको छ। 

चुनावको अन्तिम नतिजा आ–आफ्नो पक्षमा पार्ने अन्तिम प्रयास स्वरूप यसअघि राष्ट्रपति बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम चुनावी ¥यालीमा सम्बोधन गर्नुभएको थियो। ट्रम्पले भने आक्रामक भाषण गर्दै अमेरिकाको पतन चाहनेले मात्र डेमोक्रेटलाई मतदान दिने बताउनुभएको थियो। ‘देशको विनाश रोक्न चाहनुहुन्छ भने रिपब्लिकनलाई मत दिनुपर्छ’, उहाँको भनाइ थियो।  

डेमोक्रेटिक पार्टीले कोरोना महामारी नियन्त्रण, राष्ट्रिय सुरक्षा, आप्रवासी कानुनमा सुधार, साना हतियारको नियन्त्रण, सामाजिक सुरक्षा र मेडिकेयर, जलवायु परिवर्तन, महिला अधिकार र अवसर, आर्थिक सुधारका लागि रोजगारी वृद्धि, साना व्यवसायका लागि करमा छुट, मध्यम वर्गका लागि करको दायरा विस्तार, कलेजको शिक्षालाई ऋणमुक्त र शुल्कमुक्त आदि विषयलाई चुनावी मुद्दा बनाएको थियो।  रिपब्लिकन पार्टीले भने आप्रवासी समस्या समाधान गर्ने, रोजगारी वृद्धि र अवसर, स्वतन्त्र, सुरक्षित र बलियो अमेरिका बनाउने नारा दिएको थियो। 

अमेरिकामा डेमोक्रेटिक पार्टीलाई उदार र रिपब्लिकन पार्टीलाई अनुदार पार्टी मानिन्छ। डेमोक्रेटिक पार्टी सत्तामा आएपछि अमेरिकालगायत विश्वभर उदारवाद र सुधारवादले स्थान पाउने गरेको छ भने रिपब्लिकन पार्टी सत्तामा आएपछि अनुदारवाद हावी हुँदै आएको छ।  

अमेरिकामा राष्ट्रपतिको कार्यकाल चार वर्षको हुने गर्छ। नोभेम्बरको पहिलो मङ्गलबार २ देखि ८ तारिखभित्र त्यहाँ राष्ट्रपतिको चुनाव हुने प्रचलन छ। त्यहाँको निर्वाचन प्रणाली मिश्रित, इलेक्ट्रोरल तथा पपुलर मतका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुन्छ।  अमेरिकी राष्ट्रपतिको चुनाव विश्वमै भिन्न प्रकृतिको रहेको छ। अमेरिकी मतदाताले राष्ट्रपतिका लागि प्रत्यक्ष मतदान गरे पनि राष्ट्रपतिको चयन भने अप्रत्यक्ष अर्थात् गठित ५३८ सदस्यीय इलेक्टोरल कलेजले गर्ने गर्छ। अमेरिकी कङ्ग्रेस दुई सदनात्मक छ। हाउस अफ रेप्रिजेन्टेटिभ र सिनेटको कुल सङ्ख्या ५३८ सिटमध्ये बहुमत २७० मत ल्याउने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन्।   

अमेरिकामा सन् १७८९ देखि राष्ट्रपतीय निर्वाचन सुरु भएको हो। पहिलो निर्वाचन हुँदा १३ राज्यमा इलेक्ट्रोरल मतदाता चयन गरिएको थियो। राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार हुन ३५ वर्ष उमेर पुगेको, जन्मजात अमेरिकी वा कम्तीमा १४ वर्षदेखि अमेकिकामा बसोबास गर्दै आएको हुनुपर्नेछ। एक व्यक्ति लगातार दुई पटकभन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था छ। ५३८ मतको इलेक्ट्रोरल कलेजमा ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया गरी ५१ स्थानमा निर्वाचन हुने गर्छ। 

तत्कालीन बेलायतको उपनिवेशमा रहेको अमेरिकामा सन् १६१९ मा काला जातिका मानिसलाई दासका रूपमा अफ्रिकाबाट भिœयाइएको हो। काला जातिका मानिसलाई त्यहाँ कुनै किसिमको नागरिक अधिकार दिइएको थिएन। बेलायती उपनिवेशबाट सन् १७७६ मा अमेरिका मुक्त भई जर्ज वासिङ्टन पहिलो राष्ट्रपति निर्वाचित बनेपछि अधिकारका लागि काला जातिका मानिसले आन्दोलन सुरु गरेका हुन्। आन्दोलनले गृहयुद्धको रूप लिएपछि सन् १८६५ मा अमेरिकाको संविधानमा संशोधन गरी दास प्रथा उन्मूलनको घोषणा गरिएको थियो। दास प्रथा उन्मूलन भएपछि अमेरिकी नेतृत्व समावेशी भएको छ। 

गोरा र काला जाति दुवैबाट सर्वोच्च पद राष्ट्रपति बनेका छन्। यो नै अमेरिकी संविधानको मूल विशेषता हो। अमेरिकाको इतिहासमै पहिलो पटक काला जातिको प्रतिनिधित्व गर्दै बाराक ओबामा राष्ट्रपति बन्नुभयो। उहाँ सन् २००८ देखि २०१६ सम्म दुई कार्यकाल डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति निर्वाचित हुनुभयो। दुई कार्यकालमा उहाँले मुलुकका लागि महत्वपूर्ण काम गर्नुभयो।  अमेरिका बेलायतबाट स्वतन्त्र भएको २४६ वर्ष पुगेको छ। यो अवधिमा अमेरिका ठूलो प्रगति गरी विश्वकै सर्वाधिक शक्तिशाली र पहिलो अर्थतन्त्र भएको मुलुक बनेको छ। यो अवधिमा अमेरिकाले गरेको प्रगति र उन्नति विश्वकै लागि उदाहरणीय छ। अहिले अमेरिका नै विश्वको नेता हो। अमेरिकामा हुने नेतृत्व परिवर्तन र निर्वाचनले विश्व राजनीति नै प्रभावित हुन्छ।