• ११ मंसिर २०८१, मङ्गलबार
blog

बाबुराम देवकोटा

कुसुमटार (सिन्धुली), कात्तिक ३० गते । राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माण तीव्र गतिमा भइरहेको छ।

टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको एक महिनाको अवधिमा मङ्गलबारसम्म ५३८ मिटर सुरुङ खनिएको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ। आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका–२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो। 

उक्त सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले टनेल बोरिङ मेसिन (टीबीएम)बाट एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने लक्ष्य राखेको उहाँले सुनाउनुभयो। आयोजना प्रमुख बरालले भन्नुभयो, “एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने हाम्रो लक्ष्य हो। अहिलेसम्म भौगर्भिक समस्या नआएकाले लक्ष्यभन्दा अगाडि नै छौँ। भौगर्भिक समस्यामा निर्भर हुन्छ। चुरे पहाड र महाभारतमा पुगेपछि भौगर्भिक समस्या आउन सक्छ।”

अहिले दैनिक सरदर १८ मिटर र कुनै दिन ३८ मिटरसम्म सुरुङ निर्माण गरेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त सुरुङ निर्माणका लागि कोभेकसँग सन् २०२१ मार्च १९ मा सम्झौता भएको थियो। सुरुङ निर्माणको अवधि ५१ महिना भए पनि कोभेकले दुई वर्षभित्र १३ दशमलव तीन किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। उक्त कम्पनीले भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणको पनि ठेक्का पाएको छ।

सम्झौताअनुसारको समयमा १८ महिना बितिसकेको छ। टीबीएम राख्न कुसुमटार प्रवेशमार्गमा ४० मिटर लामो सुरुङ मानिसबाट खनिएपछि २३० मिटर लामो उक्त मेसिन जडान गरी खन्न सुरु गरिएको थियो। कोभेकले करिब ११ अर्ब रुपियाँमा ठेक्का पाएको उहाँले जानकारी दिनुभयो।

टीबीएमले आठ÷आठ घण्टाका दरले तीन सिफ्टमा गरी २४सै घण्टा सुरुङ निर्माण गरिरहेको आयोजना प्रमुख बरालले जानकारी दिनुभयो। आयोजनाका अनुसार खुर्कोटमा सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोसी नदीको पानी उक्त सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिणखोलामा खसालिनेछ। त्यहाँ ६६ मिटर पानी झारेर ३१ दशमलव सात मेगावाट  विद्युत् उत्पादन गरिने छ। उत्पादित विद्युत् ३७ दशमलव दुई डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडअन्तर्गत नवलपुर सबस्टेसनमा जोडिनेछ। आव २०७७/७८ बाट सुरु भएको आयोजना २०८४/८५ सम्ममा सक्ने लक्ष्य रहेको छ।

आयोजनाको कुल लागत करिब ४६ अर्ब रुपियाँ रहने अनुमान गरिएको आयोजनाले जनाएको छ। बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका जिल्लामा बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने रहेको छ।

सुनकोसीको पानी सुरुङमार्फत  मरिण खोलामा खसालेपछि ४४ किलोमिटर बगेर बागमती नदीमा मिसिन्छ। हाल बागमती सिँचाइ आयोजनाले आफ्नो कमान्ड क्षेत्रमा अहिले करिब ४५ हजार छ सय हेक्टरमा सिँचाइ सुविधा पु¥याएको र बाँकी ७६ हजार चार सय हेक्टरसहित कुल एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सुनकोसीको पानीले सिँचाइ सुविधा पु¥याउने योजना रहेको आयोजना प्रमुख बरालले जानकारी दिनुभयो। 

तराईको एक लाख २२ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगी वार्षिक २६ अर्ब रुपियाँ बराबरको कृषि उत्पादन बढ्ने र आयोजनाअन्तर्गत उत्पादन हुने बिजुलीबाट वार्षिक एक अर्ब ५५ करोड रुपियाँ आम्दानी हुन्छ। झन्डै २८ अर्ब रुपियाँ वार्षिक देशलाई आम्दानी हुने आयोजनाले जनाएको छ।