• ११ मंसिर २०८१, मङ्गलबार

सार्वजनिक प्रशासनमा परिवर्तन

blog

सामान्यतया परिर्वतनले चालू स्थितिको तुलनामा हुने विचलन वा फरकपनालाई जनाउँछ। परिवर्तन एउटा बिन्दुबाट अर्को बिन्दुतर्फको प्रस्थानको यात्रा हो। परिवर्तनले गतिशीलताको मार्गचित्र तय गर्छ। तसर्थ, परिवर्तनले यथास्थितिबाट सुधारतर्फको यात्राका धारणा प्रस्तुत गर्छ। यथास्थितिको मार्गबाट विकासको खुट्किलासमेत निर्माण गर्नका लागि टेवा पु-याउने गर्छ। यो एक चलायमान अवधारण हो। परिवर्तन सधैँ सकारात्मक हुन्छ भन्ने पनि हुँदैन। कुनै पनि गतिशील समाज, सङ्गठनका लागि परिवर्तन अपरिहार्य तìवको रूपमा रहने गर्छ। तसर्थ, परिवर्तनका लागि आन्तरिक र बाह्य दुई किसिमका शक्ति रहन्छन्। परिवर्तन आमूल र क्रमिक, योजनाबद्ध र प्रतिक्रियात्मक पद्धतिका आधारमा हुने गतिशील तìवका रूपमा लिने गरिन्छ। 

कुशल नेतृत्वले प्रतिरोधको पूर्वानुमान गरी परिवर्तनलाई सहज रूपमा व्यवस्थापन गर्न सक्नुपर्छ। कुनै पनि व्यक्ति, घर, परिवार, समाज, सङ्गठन, राष्ट्रको गतिशिलताका लागि परिवर्तन आवश्यक रहन्छ। परिवर्तन यथास्थितिबाट रूपान्तरणको यात्रा हो। 

सङ्गठनात्मक परिवर्तनले सङ्गठनको कुनै विशेष क्षेत्र वा सम्पूर्ण कार्य प्रक्रियामा प्रभावकारिता अभिवृद्धि गर्न परिवर्तन आवश्यक हुन्छ। परिवर्तनको स्वरूप र यसले पार्ने प्रभावको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ। परिवर्तनलाई अङ्गीकार गर्दा यसले पार्ने असर र प्रभावका बारेमा प्रारम्भमै सजग र सचेत हुनुपर्छ। 

परिवर्तन व्यवस्थापनले सङ्गठनलाई गतिशील बनाउँदै परिवर्तित परिवेशलाई आत्मसात् गर्न, सङ्गठनले प्रवाह गर्ने सेवामा परिमार्जन गर्न तथा उत्पादित वस्तुलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउन, नयाँ मूल्यमान्यता र प्रविधिलाई आत्मसात् गर्न, सुधारात्मक कार्यप्रक्रिया अवलम्बन गर्न, सङ्गठनको दक्षता र प्रभावकारिता अभिवृद्धि गर्न, विगतका कमीकमजोरीको पहिचान गरी सुधार गर्न मद्दत मिल्छ। परिवर्तन व्यवस्थापनका विभिन्न आयाम जस्तै राजनीतिक, न्यायिक, प्राविधिक, आर्थिक, सामाजिक–सांस्कृतिक, व्यवस्थापकीय, आन्तरिक तथा बाह्य प्रभाव आदि आयाम रहन्छन्। परिवर्तन व्यवस्थापनलाई संस्थागत गर्न आन्तरिक र बाह्य शक्तिहरू रहन्छन् जस्तै आन्तरिक शक्तिको रूपमा नयाँ रणनीतिको अवलम्बन, जनशक्ति अभिवृद्धि, श्रमिक वा कर्मचारीको दबाब आदि त्यस्तै बाह्य शक्तिको रूपमा उत्पादनका नयाँ नियमहरू, प्रतिस्पर्धी सङ्गठनको रणनीति, राजनीतिक परिवर्तन, नयाँ ऐन नियम, अदालतको निर्णय र निर्देशन, नयाँ प्रविधिको प्रयोग, मौद्रिक तरलता, आर्थिक मन्दी, लागत वृद्धि, सामाजिक सांस्कृतिक मूल्य मान्यता आदि। सङ्गठनमा परिवर्तन व्यवस्थापनले मुख्यतः दुई पक्षमा जोड दिन्छ। जस्तै परिवर्तनको अवरोधको समाधान गर्ने र नयाँ ढङ्गबाट सङ्गठन सञ्चालन गर्ने।

सार्वजनिक प्रशासनमा परिवर्तन ल्याउन बाध्य बनाउने विभिन्न स्रोत जिम्मेवार रहेका हुन्छन्, जस्तै राजनीतिक, कानुनी, प्राविधिक, कार्य वातावरण, सङ्गठनात्मक स्वरूप आदि। सामान्य अर्थमा भन्ने हो भने उद्देश्य र उपलब्धिबीचको खाडलले परिवर्तनको आवश्यकतालाई उजागर गरिरहेको हुन्छ। त्यस्तै परिवर्तन व्यवस्थापनका विभिन्न प्रकार रहन्छन् जस्तै प्रवृत्तिका आधारमा क्रान्तिकारी र सुधारात्मक परिवर्तन, गतिको आधारमा द्रुत र सुस्त परिवर्तन, प्रकृतिका आधारमा प्राविधिक र व्यवस्थापकीय परिवर्तन, लक्ष्यका आधारमा प्रक्रियागत र गुणात्मक परिवर्तन, माग र आपूर्तिका आधारमा मागका आधारमा गरिने परिवर्तन र आपूर्तिका आधारमा गरिने परिवर्तन आद।

परिवर्तनका तरिकाहरू मूलतः परिवर्तन व्यवस्थापन योजनाबद्ध र परिस्थितिजन्य तवरबाट हुने गर्छ। जसले परिवर्तनलाई अवश्यभावी बनाउँछ। तसर्थ, योजनाबद्ध रूपमा हुने परिवर्तन एउटा निश्चित स्वरूपमा पूर्वनिर्धारित कार्यप्रक्रिया अनुरूप हुन्छ जुन सुधारात्मक परिवर्तनसँग सम्बन्धित रहन्छ भने परिस्थितिजन्य परिवर्तन अपेक्षा वा योजना नगरिएको घटनाको प्रतिक्रियाको रूपमा आउनुका साथै कुनै विशेष अवस्थाले सिर्जना गरेको परिवेशलाई सम्बोधन गर्न बाध्य बनाउँछ। त्यसैले जहिले पनि आकस्मिक रूपमा हुने परिवर्तनलाई भन्दा योजनाबद्ध रूपमा हुने परिवर्तनलाई नै प्राथमिकता दिने गरिन्छ।

परिवर्तन व्यवस्थापनका केही प्रतिरोध पनि रहन्छन्। सबै परिवर्तनलाई सबैले सहजताका साथ स्वीकार गर्दैनन् र यसको समुचित व्यवस्थापन गर्न आवश्यक हुन्छ। परिवर्तनलाई प्रतिरोध गर्नको पछि निश्चित कारण रहेका हुन्छन्। परिवर्तनले अनिश्चय ल्याउँछ। सेवाको असुरक्षाको भावना विकास गराउँछ। यथास्थिति भित्रैबाट पूर्ति भएको स्वार्थको शृङ्खला भत्किने डर हुन्छ। प्रयोग गरिरहेको अधिकार खोसिएला भन्ने चिन्ता हुन्छ। परिर्वतनप्रति हरेक व्यक्तिका भिन्नभिन्न धारणा, मूल्याङ्कन तथा आकलन हुन सक्छन्। सामाजिक सम्बन्धमा विचलन आउने डर पनि उत्तिकै हुन्छ, जसले परिवर्तनलाई प्रतिरोध गराउँछ। यस्ता विषय जे परिवर्तनसँगै जोडिएर परिवर्तनको विरुद्धमा आइरहेका हुन्छन्, तिनको समुचित व्यवस्थापन गरेर मात्र परिवर्तनप्रति सबैलाई प्रतिबद्ध बनाउन सकिन्छ।

परिवर्तनले नयाँ कुराको थालनी गर्छ। यो सुधारतर्फको यात्रा हो। त्यसैले परिवर्तनलाई प्रतिरोधले पराजित हुन दिन हुँदैन। सहभागिता परिवर्तनको प्रतिरोध हुन नदिने प्रमुख उपाय हो। परिवर्तनको योजनादेखि कार्यान्वयनसम्म सरोकारवालाको सहभागिताले परिवर्तनप्रति अपनत्वको भावना विकास गर्छ। अनिश्चितता घटाउँछ। परिवर्तनको आवश्यकताबारेमा प्रारम्भदेखि नै सम्बद्ध सरोकारवालालाई शिक्षित र सुचित गर्न सकियो भने परिवर्तनप्रति सकारात्मक भावनाको विकास गर्न मद्दत पुग्छ। आकस्मिक रूपमा परिवर्तन नगरी परिवर्तनको कार्ययोजनाका बारेमा सम्बद्ध सरोकारवालालाई अभ्यस्त गराई त्यसपछि कार्यान्वयनमा ल्याइएमा सम्भवतः प्रतिरोधबाट बच्न सकिन्छ। त्यसैगरी, कुनै पनि परिवर्तनको पक्ष र विपक्षमा तर्कहरू हुन सक्छन्। पक्ष विपक्षमा जनमत नै हुन सक्छ। त्यस्ता तर्क र जनमतको शक्ति र अवस्थाको समुचित विश्लेषण गर्दै परिवर्तनका बाहकहरूले प्रतिरोधक शक्तिलाई क्रमशः शून्य गर्दै लैजानुपर्छ। प्रतिरोधलाई न्यून गर्ने अन्तिम अस्त्रचाहिँ दबाब वा बल प्रयोग गर्नु हो। तर यो सबैभन्दा पछिल्लो रणनीतिको रूपमा मात्र आउँछ। त्यस्तै कुनै पनि सङ्गठनलाई परिवर्तित तुल्याउनका लागि मुख्यतः तीनवटा पक्षहरूमा ध्यान दिनुपर्छ। पहिलो सङ्गठनात्मक संरचना, स्वरूप र ढाँचा, दोस्रो प्रविधि र कार्यसञ्चालन प्रक्रिया र तेस्रो सङ्गठनमा क्रियाशील जनशक्ति। पहिलो परिवर्तनले सङ्गठनको बाह्य पक्षमा परिवर्तन गर्छ। यस्तो परिवर्तन भौतिक वा देखिने प्रकृतिको हुन्छ। दोस्रो खालको परिवर्तनले सङ्गठनको कार्यप्रक्रियालाई छिटोछरितो र सरल बनाउँछ। यो परिवर्तनद्वारा परिणाम दिने माध्यम हो। तेस्रोले आन्तरिक वा अन्तःचेतनामा सुधारको विषय समेटेको पाइन्छ। यी अनुभूति गर्न सकिने सुधारको क्षेत्र हो।

नेपालको सार्वजनिक प्रशासन बाह्य दबाबको आधारमा मात्र परिवर्तन हुने गरेको पाइन्छ। विशेषगरी राजनीतिक परिवर्तनसँग जोडिएर सार्वजनिक प्रशासन संयन्त्रमा परिवर्तन हुने गरेको देखिन्छ। सहयोग प्रदान गर्ने दाताहरूको दबाब, निर्देशन र पूर्वसर्तका कारण परिवर्तनलाई अङ्गीकार गरिने गरिन्छ। नेपालको सार्वजनिक प्रशासन केवल संरचना र प्रक्रियामा परिवर्तन गर्न उत्सुक देखिन्छ। समयको गति परिवर्तनको आधार बन्ने गरेको छ। परिवर्तनलाई प्रतिरोध गर्ने संस्कृति प्रशासनमा व्याप्त छ। कुनै पनि परिवर्तनलाई बीचैमा लत्याएर यथास्थितिकै आडलाई वकालत गर्ने गरिन्छ। 

 नेपालका प्रशासनिक सङ्गठनमा परिवर्तन व्यवस्थापन मिश्रित किसिमको रहेको पाइन्छ। परिवर्तन व्यवस्थापनका लागि विभिन्न समयमा अनेकौँ प्रयास भएका छन् र सफलता पनि हासिल भएका छन्। तर ती व्यवस्थापन योजनाबद्ध, रणनीतिक र अध्ययन अनुसन्धानमा आधारित भने हुने गरेको पाइँदैन। धरैजसो परिवर्तन व्यवस्थापन तदर्थवादमा आधारित हुन्छन्। एक किसिमको परिवर्तनको व्यवस्थापनका राम्रा पक्षलाई अर्को परिवर्तन व्यवस्थापन गर्दा पृष्ठपोषणको रूपमा लिने गरिँदैन। सङ्गठनमा कार्यशैली र व्यवहारगत पक्षमा सुधार गर्ने विषय सधैँ गौण रहने गरेको छ। संरचना र प्रक्रियामा परिवर्तन गर्ने विषयमा जोड दिने गरिएको छ। हरेक चासोलाई अन्तिम घडीमा आएर टालटुल गर्ने संस्कारको विकास भएको छ, जसले गर्दा दीर्घकालीन समाधान दिन सक्दैन। 

 कुनै पनि सङ्गठनमा परिवर्तनको आवश्यकता हुन्छ। नेपालको सार्वजनिक प्रशासनमा परिवर्तन व्यवस्थापन गर्ने क्रममा व्यवस्थापनले विविध किसिमका अवरोधको सामना गर्नुपर्ने हुन्छ। तर नेपालको सार्वजनिक प्रशासनले बदलिँदो परिवेशअनुरूप परिवर्तन व्यवस्थापनलाई आत्मसात् गर्न सकेको छैन। तथापि योजनाबद्ध तरिकाले समस्याको सही पहिचान, तिनको उचित कार्यान्वयन र मूल्याङ्कनको माध्यमबाट नेपालको सार्वजनिक प्रशासनमा परिवर्तनको व्यवस्थापन गर्न सकिन्छ। फलस्वरूप परिवर्तन व्यवस्थापनले सार्वजनिक प्रशासनको ख्याति, लाभ लागत कमी, सेवा प्रवाहमा सरलता, कर्मचारीको मनोबलमा वृद्धि आदि पक्षमा सकारात्मक परिवर्तन ल्याउने गर्छ।