• १२ साउन २०८१, शनिबार

मधेश कृषि विश्वविद्यालयमा विद्यार्थी भर्ना सुरु

blog

राजविराजस्थित मधेश कृषि विश्वविधालयको कार्यालय भवन । तस्बिर : ललिता साह

ललिता साह 

बोदेबर्साईन (सप्तरी), कात्तिक २८ गते । मधेस कृषि विश्वविद्यालयले आफ्नो पहिलो शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु गरेको छ । विश्वविद्यालयका रजिस्ट्रार डा. श्रीभगवान ठाकुरका अनुसार विश्वविद्यालयले नयाँ शैक्षिक सत्रमा कक्षा सञ्चालन गर्नेछ । तयारीसहित कात्तिक २९ गतेदेखि मङ्सिर २८ गतेसम्म अनलाइन माध्यमबाट विद्यार्थी भर्ना लिने उहाँले बताउनुभयो । 

मधेस प्रदेश सरकारद्वारा गत वर्ष मङ्सिर २७ गते सप्तरीको राजविराजमा स्थापना गरिएको विश्वविद्यालयले सोमबारबाट खोलिएको नयाँ भर्नामा विद्यार्थीले बी.एस.सी.÷एजी अर्थात् कृषि विषयमा स्नातक तहमा भर्ना हुन पाउनेछन् । विश्वविद्यालयले नयाँ शैक्षिक सत्रमा कक्षा सञ्चालन गर्न आफ्नो  तयारी सुरु गरेको ठाकुरले जानकारी दिनुभयो ।

विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले यो कोर्स गर्न भर्ना हुन पाउनेछन् । तीन महिनाअघि कोर्स डिजाइन गरिएअनुसार विश्वविद्यालयले खासगरी महिला, मधेसी, दलित, अपाङ्ग, मुस्लिम लगायतका कोटाहरू छुट्याएर पहिलो वर्ष ५० सिटमा भर्ना खुलाइएको उपकुलपति डा. वैजनाथ महतोले बताउनुभयो ।  

मधेस कृषि विश्वविद्यालय सञ्चालन अध्यादेश २०७८ अनुसार स्थापित प्रदेश विश्वविद्यालयमा अर्को वर्षदेखि कृषि, भेटनरीको, बागवानी, मत्स्य लगायतको पढाइसँगै कृषिको आधुनिकीकरण, व्यवसायीकरण, औजारीकरणको अध्ययन अध्यापन गराइने डा. महतोले बताउनुभयो ।

विश्वविद्यालयको शैक्षिक गतिविधिले प्रदेशमा वस्तुको उत्पादकत्व बढाउनुका साथै खाद्य तथा पोषण सुधार कृषकको जीविकोपार्जनमा सुधार तथा रोजगारीमा वृद्धि हुने उद्देश्य राखेको रजिस्ट्रार ठाकुरले बताउनुभयो । यो सँगै विभिन्न समसामयिक विषयमा अनुसन्धान तथा कृषक एवं कृषि प्राविधिकलाई तालिम र प्रविधि प्रसार समेत गरिने ठाकुरले जानकारी दिनुभयो ।

पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह र मधेश कृषि विश्वविद्यालयका कुलपति समेत रहनुभएका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रूपमा गत मङ्सिर २७ गते विश्वविद्यालयको उद्घाटन गर्नुभएको थियो ।