• १२ मंसिर २०८१, बुधबार

‘समयको महत्त्व रहेछ, पाँच मिनेट पनि खेर नफालौँ’: गीताकेशरी

blog

भाइबहिनीहरू, जब हामी कोही व्यक्तिका बारेमा कुरा गर्छौँ, सुन्छौँ कथाजस्तै लाग्छ । हुन पनि हरेक व्यक्ति स्वयं एउटा सिङ्गो कथा हो तर सबै कथा सुन्न र पढ्न लायक हुँदैनन् । मान्छे मान्छे भएर बाँच्न पनि सजिलो कहाँ छ र ? व्यक्तित्व बनाउन र मान्छे भएर बाँच्न लगनशील हुनुपर्छ ।  चाहना राख्नु राम्रो हो । त्यसका लागि  क्षमता चाहिन्छ, सामाजिक परिवेश तथा वातावरण चाहिन्छ । 

झन्डै साढे आठ दशक पहिलाको हाम्रो समाज ।  छोरीलाई पढाउने चलन थिएन । लेखन क्षेत्रमा लाग्नु त झन् अपत्यारिलोजस्तै लाग्ने अनुभव गरेका बताउँछन । त्यतिखेरका कुरा थाहा पाउन त्यही समयमा थाहा पाउने र अनुभव गरेकाको नै सुन्नु नै राम्रो हुन्छ ।   

हामीले भाइबहिनीसँग साक्षात्कार गराउन र तत्कालीन अनुुभव थाहा पाउन त्यस्तै व्यक्तित्वसँग लाँदैछाँै । तत्कालीन  राजनीतिमा बीपी कोइरालाबाट प्रभावित हामीसँग हुनुहुन्छ, ‘गीताकेशरी’ ।  

साहित्य सिर्जना विशेषतः उपन्यास र कथामा चर्चा कमाएको व्यक्ति । 

साहित्यिक फाँटमा १४ वटा उपन्यास, तीनवटा कथा सङ्ग्रह तथा विभिन्न पत्रपत्रिकामा फुटकर रचना प्रकाशित छन् उहाँका । नेपाल वायु सेवा निगममा जागिरे जीवन बिताएकी उहाँ प्राज्ञिक थलो नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सदस्यसचिव हुनुहुन्थ्यो ।  

आर्थिक रूपमा सम्पन्न परिवारमा बालापन बिताएकी उहाँ अभाव के हो ? झेल्न नपरेको, दुःख भन्ने ख्यालै नभएको व्यक्त गर्नुहुन्छ । राणाका दरबारसँग सामीप्य रहेकी उहाँलाई घरैमा अध्ययन गर्ने अवसर जुट्यो । पिताजीले  हामीलाई पढाउनु हुन्थ्यो । हामी सबै सँगै बसेर पढ्थ्यौँ, लेख्थ्यौँ । एउटा अचम्म ! हाम्रो परिवारमा छोराछोरीबीच भेदभावको वातावरण थिएन । 

त्यतिखेर पनि घरभित्र महिलाले नै काम गर्थे । कामको मूल्याङ्कन हुँदैनथ्यो । त्यो परिपाटी अहिलेसम्म पनि बदलिएको छैन । भान्साको काम सघाउने जिम्मा हामी भुराको काँधमा पनि हुन्थ्यो । पढ्नु त थियो नै तथापि आमालाई सघाएर बचेको समयमा लेखपढ गथ्र्यौं ।  

त्यो सानो बेलामा दशैँ, तिहार एकदमै रमाइलो लाग्थ्यो । फेरि, हामी भुरालाई खान र खेल्न पाए के नै चाहियो ? उपत्यकाभित्र फराकिलो सडक थिएन । मोटर बाटो नहुनु यातायातका साधन हुने कुरै भएन । थियो त जताततै धान फल्ने खेत । पर्वको रौनक अझ रमणीय लाग्थ्यो, ती खेतका गरामा धानका बाला झुलेका आहा ! अहिले त सबै सपना जत्तिकै भयो । जमिन टुक्राएर ठड्याएका कङ्क्रिटमा बस्ने हामी कति अव्यवस्थित छौँ । 

त्यतिबेला नयाँ लुगा किन्न दशैँ नै पर्खिनु पर्दैनथ्यो । त्यस्तै घुम्न जान्थ्यौँ, खर्चको समस्या थिएन । तिब्बतबाट नुवाकोट हुँदै भेडा च्याङ्ग्रा बिक्री गर्न  हिँडेर यहाँसम्म आइपुग्थे । महिला वर्गले ढाकरमा अम्बा र नासपातीको भारी बोकेर ल्याउथे भने केटाकेटी वर्गले दलिन अथवा खाँबो हुने किसिमका काठ बोकेका हुन्थे । भारी बिसाउने ठाउँमा तिनीहरूलाई देख्दा औधी नै माया लाग्थ्यो । 

त्यो बेला सोह्रखुट्टेमा सोह्रवटा थाम भएको ’सोह्रखुट्टे पार्टी’ थियो । नजिकै गणेश स्थान, धेरैले त्यहाँ दर्शन पनि गर्थे । सबैभन्दा मुख्य कुराचाहिँ पार्टीमा ढाक्रेहरू बास बस्थे । खाना पकाउँथे, खान्थे । उत्तरी नाका तिब्बतबाट धाउनेहरू जब नयाँ बजारमा पाइला टेक्थे, ती भेडा च्याङ्ग्रा हाम्रो घरभित्र पनि पस्थे । रमितलाग्दो दृश्य कति चाँडो सबै चौपायालाई मालिकले धपाउँदै बास बस्ने ठाउँतर्फ लिएर जान्थे । 

गुर्जु पुरेतको छोरी मेरी माता । गुर्जु भनेको दरबारमा पुरेतको पनि पुरेत महापुरेतको दर्जा हो ! माताजी माइत जाँदा तामदान (डोली टाइपको) सवारी दरबारबाटै लिन आउँथ्यो र घर फर्किंदा पनि तामदानमै चढेर आउनुहुन्थ्यो । त्यसमा कोचिएर बस्दा नि दुई जनासम्म केटाकेटी अट्थ्यौँ । को जाने को नजाने भन्ने छलफल सम्झँदा अहिले भर्खर बोलेजस्तै लाग्छ । १३ वर्षको उमेरदेखि मात्र म औपचारिक रूपमा स्कुल जान थालेँ ।   ‘श्री शान्ति विद्या गृह’ लैनचौरबाट पढाइ सुरु गरेँ । पढ्नुपर्छ भनेर न कुनै दिन अल्छी लाग्यो, न त थकाइ  नै । स्कुल जाँदा अनिवार्य पोसाक भन्ने हदैनथ्यो । कापी किन्न पाइन्थ्यो । डटपेन/ पेन भनेको मसी भरेर लेख्ने हुन्थ्यो । वि.संं. २०१२ मा सोही स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि पद्मकन्या कलेजमा भर्ना भएँ र राजनीति शास्त्रमा एम.ए.सम्मको अध्ययन पूरा गरेँ । 

मेरा दुईटी फूपु खुब साहित्य लेख्नुहुन्थ्यो तर लुकेर, घरपरिवारबाट छलिएर ।  माइली फूपु त झन् बढी नै लेख्नु हुन्थ्यो । म त्यस्तै पन्ध्र सोह्र वर्षको थिएँ । कताकता त्यहीँ लत मैले पनि सिको गर्न थालेँ । घरमा जिजुबादेखि बुवा र मावली हजुरबासमेत शिक्षित हुनाले स्कुल आउँजाउँ म र कान्छी फूपु त साथी जत्तिकै थियौँ तर साहित्य विधामा प्रवेश गर्न भने सोचे जति सजिलो वातावरण थिएन । तैपनि लेख्न छाडेनौँ । लुकिछिपी लेखेका रचना एक अर्कोलाई सुनाउँथ्यौँ र भाँती नपुगेका ठाउँमा पुनः मिलाउथ्यौँ । 

२० वर्षको उमेरमा केशवराज (भण्डारी) केशरीसँग मेरो बिहे भयो । घरमा हामी श्रीमान् / श्रीमती मात्रै थियौँ । परिवार कहिले बनारस बस्नु हुन्थ्र्यो त कहिले राजविराज । बिहेलगत्तै नेपाल वायु सेवा निगममा जागिर खान सुरु गरेँ । लेखन पाटो पनि क्रमशः अघि बढ्दै गयो । रचना जसलाई च्यातेँ तिनको हिसाब नगरौँ । मेसो पाएर जब छाप्न थालेँ त्यो गन्तव्यले नेपाल प्रज्ञा प्रतिष्ठानमा सदस्यसचिवसम्मको यात्रालाई सम्झँदा काम गर्ने भनेको उमेरमा रहेछ । अतः समयको यति महत्व रहेछ, पाँच मिनेट पनि खेर नफालौँ ।