• १६ चैत २०८०, शुक्रबार

दुर्गम क्षेत्रका सात विद्यार्थीलाई छात्रवृत्ति प्रदान

blog

यस वर्ष छात्रवृत्ति पाउने विद्यार्थीसहितको सामूहिक तस्बिर । तस्बिर: चन्द्र

ताप्लेजुङ, कात्तिक २५ गते । ताप्लेजुङको दुर्गम र हिमाली क्षेत्रका सात जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । हाल उच्च शिक्षा अध्ययनरत दुर्गम क्षेत्रका जेहेन्दार विद्यार्थीलाई जर्ज बैन्ड मेमोरियल छात्रवृत्ति प्रदान गरिएको हो । 

ताप्लेजुङस्थित ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालकी शिक्षा विकास अधिकृत रोमाकुमारी माबो लिम्बूका अनुसार सातमध्ये तीन जनाले तीन वर्षसम्म नियमित र चार जनाले दुई वर्षसम्म निरन्तर छात्रवृत्ति पाउने छन् । यस वर्ष सिभिल इन्जिनियरिङ विषयमा अध्ययनरत फक्ताङलुङ गाउँपालिका–५ तापेथोककी साजना लिम्बू र विकेन्द्र लिम्बूले छात्रवृत्ति पाउनुभएको माबोले जानकारी दिनुभयो । 

उहाँका अनुसार सजना र विकेन्द्रले वार्षिक ६० हजार रुपियाँका दरले तीन वर्षसम्म जनही एक लाख ८० हजार रुपियाँ बराबर छात्रवृत्ति रकम पाउने छन् । साजना मोहनमाया कलेज झापा र विकेन्द्र सिरिजङ्घा गाउँपालिका–१ स्थित सिनाम माध्यमिक विद्यालयमा अध्ययनरत हुनुहुन्छ । 

यस्तै सिभिल इन्जिनियरिङको १८ महिने कोर्समा झापास्थित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानमा अध्ययनरत फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपकी कविता लिम्बूले ९६ हजार रुपियाँको छात्रवृत्ति पाउनुभएको छ । विज्ञान सङ्कायमा अध्ययनरत फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपकै याङ्ला शेर्पा र वडा नं. ५ तापेथोकका दीपेश लिम्बूले दुई वर्षे कोर्सका लागि वार्षिक ४२ हजार रुपियाँका दरले ८४ हजार रुपियाँ छात्रवृत्ति पाउनुभएको छ । याङ्ला कुमारी बोर्डिङ स्कुल काठमाडौँ र दीपेश दमक बहुमुखी क्याम्पसमा अध्ययन गर्दै आउनुभएको छ । 

त्यसैगरी फक्ताङ्लुङ गाउँपालिका–४ इखाबु खानीका सञ्जीव तामाङ र सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका आयुष राईले वार्षिक ३६ हजार रुपियाँका दरले छात्रवृत्ति पाउनुभएको छ । सञ्जीव र आयुषले दुई वर्षसम्म सो छात्रवृत्ति पाउनुहुने छ । सञ्जीव फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालय र आयुष इलाममा अध्ययनरत हुनुहुन्छ । यस वर्ष सात जना विद्यार्थीका लागि सात लाख ६८ हजार रुपियाँ छात्रवृत्ति रकम वितरण गरिएको शिक्षा विकास अधिकृत माबोले बताउनुभयो ।

सन् २०१३ मा स्थापना गरिएको जर्ज बैन्ड मेमोरियल छात्रवृत्ति यस वर्ष सात जनालाई प्रदान गरेसँगै हालसम्म ८० जना विद्यार्थीले सो छात्रवृत्ति प्राप्त गरिसकेका ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालका प्रबन्धक राजेन्द्र पन्तले जानकारी दिनुभयो । प्रबन्धक पन्तका अनुसार अहिलेसम्म छात्रवृत्ति रकमबापत साढे ५७ लाख रुपियाँ बढी रकम वितरण भइसकेको छ । 

दुर्गम फक्ताङ्लुङ गाउँपालिकाको इखाबु, लेलेप, तापेथोक, ओलाङ्चुङगोला तथा सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, खेबाङ र मामाङ्खेलाई कार्यक्षेत्र बनाएर रिड नेपालले आफ्नो क्रियाकलाप गर्दै आएको छ । स्थानीय स्तरमै प्राविधिक जनशक्ति उत्पादन गर्ने र शैक्षिक प्रवर्द्धन तथा विकास गर्ने रिड नेपालको मुख्य उद्देश्य रहेको छ । हिमालयन ट्रस्ट बेलायत (युके) को आर्थिक सहयोगमा सञ्चालित रिड नेपालमार्फत जर्ज बैन्ड मेमोरियल छात्रवृत्ति जेहेन्दार विद्यार्थीलाई प्रदान गरिँदै आएको छ । 

जर्ज बैन्ड विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घामा पहिलो पटक मानव पाइला राख्ने विदेशी नागरिक हुनुहुन्छ । बैन्डको भने पहिले नै निधन भइसकेको र उहाँकै स्मृतिमा स्थापित अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हिमालयन ट्रस्ट युके रहेको रिड नेपालले जनाएको छ । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।