• ११ मंसिर २०८१, मङ्गलबार

सडक निर्माण तीव्र

blog

 रेखीराम राना 

पाल्पा, कात्तिक २५ गते । पाल्पाको पश्चिम भेगको वैकल्पिक सकडमार्गका रूपमा रहेको सुँगुरेढुङ्गा–नेपाने सडकको कालोपत्रे गर्ने काम तीव्र रूपमा अघि बढेको छ । रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ४, सुँगुरेढुङ्गादेखि वडा नं. ६ को नेपानेसम्मको तीन किलोमिटर सडकको कालोपत्रे गर्ने काम तीव्र गतिमा अगाडि बढेको हो । समपूरक कोषअन्तर्गत सङ्घ र पालिकाको बजेटबाट सडक कालोपत्रेको काम अगाडि बढेको हो । पाल्पा रैनादेवी छहराको सुँगुरेढुङ्गादेखि रूपन्देहीको सालझन्डीसम्म पुग्ने महत्वपूर्ण सडकका रूपमा रहेको यो सडकखण्डको स्तरोन्नतिको काम भइरहेको गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले जानकारी दिनुभयो ।

तीन किलोमिटर सडक निर्माण गर्न आठ करोड ४५ लाख रुपियाँमा २०७७ असार १५ गते पीएस–गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सनसँग ठेक्का सम्झौताअनुसार काम भइरहेको उहाँले बताउनुभयो । 

हालसम्म सडक फराकिलो पार्ने, रिटेनिङ वाल लगाउने, बेस र सबबेस बिछ्याउने काम सकिएको गाउँपालिकाले जनाएको छ । कालोपत्रे गर्ने कामको ७५ प्रतिशत काम सकिएको र अहिले प्राइम बिछ्याउने काम भइरहेको पालिकाका इन्जिनियर ईश्वर खनालले जानकारी दिनुभयो । 

डीबीएसटी प्रविधिबाट आगामी २०७९ पुस १५ गतेसम्म कालोपत्रेको काम सकिने गरी काम भइरहेको उहाँले बताउनुभयो । यो सडक निर्माण भएपछि पाल्पाको पश्चिम भेगको रैनादेवी छहरा, रिब्दीकोट, तिनाउ गाउँपालिकाका नागरिकलाई रूपन्देहीको बुटवल, सालझन्डीलगायतका स्थानको यात्रा गर्न सहज हुनेछ । 

यस्तै गुल्मी तथा अर्घाखाँचीका नागरिकको यात्रा समय र दूरीसमेत छोटिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारूले जानकारी दिनुभयो । हाल यस क्षेत्रका नागरिक छहराबाट रिब्दीकोट, तानसेन, बाँसटारी हुँदै बुटवल, भैरहवा, सालझन्डीलगायतका स्थानसम्म जाने गरेका छन् । बाटो बनेपछि भने ३० किलोमिटरभन्दा बढी यात्रा छोटिने र दुई घण्टाको समय अवधि कम हुने स्थानीय बासिन्दाको भनाइ छ । 

रुख कटान नहुँदा ढिलाइ

यसैबीच सडक पूर्वाधार विकास कार्यालय पाल्पाले सुरु गरेको नेपानेदेखि सालझन्डीसम्मको सडक कालोपत्रेको काममा भने ढिलाइ भएको छ । सुँगुरेढुङ्गादेखि रूपन्देहीको सालझन्डी सडकखण्डअन्तर्गतको साढे आठ किलोमिटर सडकको कालोपत्रे गर्ने काम ढिलाइ भएको हो । 

यस क्षेत्रमा पर्ने ५४८ वटा रुख कटान गर्न ढिलाइ भएपछि कालोपत्रेको काममा ढिलाइ भएको सडक पूर्वाधार विकास कार्यालय प्रमुख अरुण गुप्ताले जानकारी दिनुभयो ।

प्रदेश सरकारको ३० करोड लगानीमा बाटो निर्माणको काम सुरु भएपछि रुख कटान गर्न ढिला हुँदा निर्माणको काम प्रभावित बनेको उहाँले बताउनुभयो । सत्यवती र बल्ढेङ्गढी क्षेत्रमा ५४८ वटा रुखको कटान गर्न अनुमति पाएपछि काम सुरु हुने कार्यालयले जनाएको छ ।