• ११ मंसिर २०८१, मङ्गलबार

ज्येष्ठजनलाई भत्ता लिन सकस

blog

लीलाधर वली 

घोराही, कात्तिक २४ गते । निर्वाचनका क्रममा राजनीतिक दलहरूले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरमै उपलब्ध गराउने घोषणा गरे पनि व्यवहारमा भने लागू हुनसकेको छैन। 

सामाजिक सुरक्षा भत्ता लिन सहर तथा बैङ्क भएको स्थानमा जानुपर्ने बाध्यताले दुःख पाउने गरेका छन्। सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि जिल्लामा ज्येष्ठ नागरिकहरूले दिनभरि पैदल हिँडेर बजारमा रहेको बैङ्कसम्म पुग्नुपर्ने बाध्यता छ। 

सामाजिक सुरक्षा भत्ता बुझ्नकै लागि दिनभर हिँडेर बङ्गलाचुली गाउँपालिका–५, मुर्कुटीमा रहेको बैङ्कमा पुग्नुपर्ने बाध्यता रहेको ७६ वर्षीया टीका गाहामगर बताउनुहुन्छ। “भोटका लागि घरमा आउने नेताहरूले मलाई जिताउनुभयो भने गाउँमै वृद्धभत्ता पाउनुहुन्छ भन्छन्,” टीकाले भन्नुभयो, “तर घरमा त के वडामा पनि पाइँदैन। वृद्धाभत्ताका लागि मुर्कुटीमा रहेको बैङ्कमा पुग्नुपर्छ।” वृद्धभत्ताका लागि जबरकोटबाट बिहान ६ बजे हिँडेर श्रीमान् र नातिसँगै मुर्कुटी आइपुगेको उहाँले बताउनुभयो। त्यसैगरी घोराही उपमहानगरपालिका–१, काडाकुटी निवासी ९२ वर्षीय होमलाल पौडेल पनि सामाजिक सुरक्षा भत्ताका लागि बिहान ८ बजे घोराहीस्थित सिभिल बैङ्कमा लाम लाग्न पुग्नुभयो। स्थानीय सरकारले सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि वडा नं. १ का ज्येष्ठ नागरिकलाई सिभिल बैङ्कमा व्यवस्था गरिदिएपछि आफूले विगत एक वर्षदेखि बैङ्कबाट भत्ता बुझ्दै आएको उहाँले बताउनुभयो।

“चुनावका क्रममा घरमा पुग्ने दलका नेता तथा उम्मेदवारहरूले आफू र आफ्नो पार्टीले जितेपछि घरमै वृद्ध भत्ताको व्यवस्था गर्छौं भन्छन्,” पौडेलले भन्नुभयो, “तर चुनाव जितेपछि आश्वासन बिर्सिन्छन्।” शारीरिक रूपमा अशक्त ज्येष्ठ नागरिकलाई सम्भव भए घरमै र त्यहाँ पनि नभए वडा कार्यालयबाट वृद्धभत्ता बुझ्ने व्यवस्था गरिदिएमा सहज हुने काडाखुटी निवासी ७१ वर्षीय खुमानन्द गिरी बताउनुहुन्छ। 

घोराही उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिका मात्रै होइनन्, जिल्लाका अधिकांश स्थानीय तहले वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता हुने भन्दै बैङ्किङ प्रणालीमा लगेपछि ज्येष्ठ नागरिकहरू गाउँबाट घोराही बजार आउनुपर्ने अवस्था छ।