• २८ असार २०८२, शनिबार

गोबरको डल्लो

blog

आमाको राम्रो ‘म’ बाट सुरु भएको मेरो जिन्दगी मेरै वरिपरि मलाई नै परिभाषित गर्न खोज्दै दौडिरहेछ, निरन्तर मेरै तालमा मेरै वेगमा ।  आमाले मलाई राम्रो देखे पनि मलाई हरिलट्ठक भन्नेको कमी थिएन सुरुवाती दिनमा । बाबाले खै के देख्नुहुन्थ्यो ममा, मलाई सधैँ ‘मेरो नाक’ भन्नुहुन्थ्यो । म उहाँको नाक कसरी भएँ भनेर सोच्दासोच्दै विद्यालय पुग्थेँ, जहाँ गुरु मेरो टाउकोमा गिदीको सट्टा गोबर भरिएको उदाहरण सबैसामु प्रस्तुत गर्नुहुन्थ्यो । आमाको राम्रो ‘म’ अनि बाबाको ‘नाक’ तर गुरुले मलाई सिर्फ एउटा ‘गोबरको डल्लो’ भन्दा बढी केही पनि देख्नुभएन । त्यही गोबरको डल्लो पनि भुत्ले कपालले ढाकिएको अनि धारामा पानीको खडेरी पर्दा नुहाउन नपाई जुम्रा र लिखाको सिङ्गो संसार बन्न पुग्थ्यो । ती दिनमा सबैको घृणा पात्र बन्न पुग्दा म बिनाटाउको नै किन नजन्मिएको होला भन्दै आफैँलाई धिक्कार्न पुग्थेँ । आमालाई संसारकै सबैभन्दा राम्रो लाग्ने अनुहार बोकेको मेरो टाउको म आफैँलाई भारी लाग्न थालेको मेरो ती बालापनका दिन प्रायः अर्थहीन नै गुज्रिएका थिएभन्दा अत्युक्ति नहोला । मनमा उर्लेका तरङ्गमा अलमलिँदै आमा र बाबाको आशाको किरण म गुरुअगाडि आइपुग्दासम्म सेलाइसकेका हुन्थे । यी तीन जनाको त्रिकोणमा एउटा कुनाबाट अर्को कुना ठक्कर खाँदाखाँदै कतिखेर बालापन सकिएछ पत्तै भएन ।

बालापनबाट जवानीको खुड्किलो चढ्दा आफूलाई सिनेमाको ‘हिरो’ नठानेको होइन मैले । त्यसैको फलस्वरूप होला तरुनीको अघिपछि लाग्दै रत्तिभर पनि ज्ञान नभएका विषयमा उपबुज्रुक भएर उफ्रिनु र राजनीतिको जोडघटाउमा आफूलाई माहिर बताउनु मेरा दिनचर्या बनेका थिए । कलेजका कक्षामा उपस्थित नहुनु, तरुनीको पछिपछि सहर परिक्रमा गर्नु, जिन्दाबाद र मुर्दाबादको नारामा ढुङ्गा बोक्दै निसाना हान्ने अभ्यास गर्नु अनि चुरोटको धुवाँमा बाआमाका सपना उडाइदिनु सायद त्यही गोबरको डल्लोको नै उपलब्धि हुन सक्छ । गुरुले दिएको गोबरको डल्लोको संज्ञा मेरो जवानीकालसम्म पनि मसँगै साथसाथ हिँडिरहेको थियो । अनि यसैसाथ हिँडिरहेका थिए मेरा गज्जबका विचार र योजना । 

बाले ठुलो मान्छे बन्नु पर्छ भनेको कुरालाई चरितार्थ गर्न म दिनहुँ योजना बनाउने गर्थें अनि दिनहुँ उहाँलाई सम्झन्थेँ । आमालाई राम्रो भए पुग्ने तर बालाई नाक राख्ने हुनु जरुरी थियो । आमाबाको चपेटामा पर्दा, म राम्रो बन्ने धुनमा घन्टौँ ऐनाअगाडि उभिन्थेँ अनि ठुलो बन्ने सुरमा अनेकथरी उटपट्याङ कुरा गर्न पुग्थे ।  हिजोआज राजनीति पनि उटपट्याङ नै लाग्छ मलाई । त्यसैले त्यही गर्दै छु । मन्त्री बन्ने योजना छ । पढ्न पनि नपर्ने, टाउकोमा जे भरिएको भए पनि फरक नपर्ने अनि ठुलो मान्छे पनि भइने । ढिलै भए पनि बाको नाक राख्न पाइने वातावरण बनेको छ । आमाको राम्रो छोरो म ठुलो मान्छे बन्ने बाटोमा हिँड्दै छु । गुरुले संज्ञा दिएको गोबरको डल्लो अहिले सिङ्गै देशमा राज गर्ने राजनीतिज्ञ बन्ने तरखर गर्दै छ । धेरै चोटि नराम्रो ‘म’ भए पनि, अब राम्रो ‘म’ बन्दै छु ।

यो राजनीतिज्ञ बन्ने लहड चलेदेखि जीवन निकै सरल भएको छ । खासमा मलाई अब केही सोध्नै पर्दैन, बुझ्नै पर्दैन, गर्नै पर्दैन । मलाई अब कसैले हरिलट्ठक भने पनि केही फरक पर्दैन न कसैले गोबरको डल्लो भने पनि । किनकि यही गोबरको डल्लोमा राजनीतिक सुगन्ध मिसिएपछि यो उर्वर हुन पुग्छ । जसरी गाईको गोबरलाई सुकाएर पूजाकोठामा बालिन्छ, त्यसरी नै राजनीति भन्ने चिजले मलाई पनि कुनै दिव्य वस्तु बनाइदिएको भान हुन थालेको छ ।

अब म ठुलो मान्छे बन्छु । मेरा बाले सधैँ भने जस्तै ‘ठुलो मान्छे !’रमाइलो कुरा के भने ठुलो बन्न तड्पिनुपर्ने, पढ्नुपर्ने, कोसिस गर्नुपर्ने, सङ्घर्ष गर्नुपर्ने सबैबाट छुटकारा मिल्छ । बस् ठुला कुरा गर्नबाट चाहिँ रोकिनुहुन्न । अनि राजनीति सिक्न बाक्ला किताब पढ्नु पर्छ भन्ने बाध्यता पनि छैन । अब न मेरो टाउकोमा गोबर भरिएको छ भनेर चिन्ता गर्नु पर्छ न बाले ‘मेरो नाक’ भनेको कुरालाई गम्भीरतासाथ लिनु पर्छ । किनभने अब मेरा अनुयायी भइसके, कार्यकर्ता छन् अनि फेसबुकमा मेरो पोस्टमा लाइक थिच्ने लाखौँ समर्थक छन् ।

मलाई थाहा छैन किन गुरुजीले मलाई गोबरको डल्लो भन्नुभएको थियो, सायद उहाँले त्यतिबेला नै अनुमान गर्नुभएको थियो, म भविष्यमा नेता बन्छु भनेर । किनकि राजनीति गर्नेको विशेषता नै त्यही त हो, खाली कुरा मात्रै गर्ने, तथ्यलाई तोडमोड गर्ने अनि कहिल्यै जवाफदेही नहुने । मेरा बाल्यकालका गुरुजी त बिचरा शिक्षक हुनुहुन्थ्यो, उहाँहरूले भन्नुभएकै के थियो र ! मेरो टाउकोभित्र के थियो भनेर उहाँहरूको दृष्टिकोण थियो अनि बाआमाको अलग अलग दृष्टिकोण तर अब मलाई सिङ्गो राष्ट्रले हेर्ने छ । राष्ट्रले मेरो टाउकोभित्रको गोबर मात्र होइन, मेरो मुखबाट निस्कने महìवपूर्ण भाषण पनि सुन्ने छ ।

किनभने अब म मन्त्री बन्ने योजना बनाउँदै छु ।

मन्त्री हुन सजिलो छ र ? प्रश्न उब्जिन्छ कहिलेकाहीँ । सोच्छु म, के नै पो गर्नु पर्छ र ! 

मात्र ठुला कुरा गर्नु पर्छ । अरूलाई दोष दिनु पर्छ । जनता दुःखी छन्, बेरोजगार छन्, भोकै छन् तर जसरी भए पनि चुनाव जित्नु पर्छ । बस्, यत्ति त हो । अरू के नै छ र ! अब मलाई कुनै कलेज जानु पर्दैन । कुनै विद्वान् बन्न आवश्यक छैन । कुनै उद्यम गर्न जरुरी छैन । मेरो टाउकोमा जे भरिएको छ, त्यही टाउको लिएर अब म सिंहासन चढ्ने छु । अनि त्यही टाउकोबाट निस्केका अन्टसन्ट विचारलाई आफ्नो भाषण भन्दै गफ हाँक्दै बस्ने छु ।

हिजोआज आमाको कुरा याद आउँछ धेरै । उहाँ भन्नुहुन्थ्यो, “मेरो छोरो राम्रो छ !” अब यो कुरालाई प्रचारका रूपमा अघि सार्नु पर्छ । चुनाव आउँदै छ, अब मेरा समर्थक घर घर जालान्, भोट माग्लान् अनि नारा घन्काउलान्, “हाम्रो नेता, राम्रो नेता !” मलाई लाग्छ, आमा अहिले भए गर्वले फुल्नु हुन्थ्यो । बाको नाक त राखियो, अब त आमाको सपना पनि पूरा भयो किनभने मेरो अनुहारमा मकैको चामल झैँ पोटिलोपन देख्ने आमाले अब मलाई टिभीमा पनि देख्न पाउनुहुने छ । समाचारपत्रमा मेरो फोटो छापिन्छ । पत्रकारहरूले मेरो नाम लिन्छन् ।

राजनीति गर्न अलिकति गम्भीर पनि देखिनु पर्छ भन्ने सल्लाह पाएपछि मैले निर्णय गरेँ, अब म ‘माटो र देश’ को कुरा गर्छु ।

गुरुजीले मलाई गिदी नभएको भन्नुभएको थियो तर अब म राष्ट्रको नीति निर्धारण गर्ने तयारी गर्दै छु । 

तर नीति बनाउन ज्ञान चाहिन्छ रे !

“कसले भन्यो ?”

जसरी पढाइ नगरी पास भएका विद्यार्थीले सरकारमा नीति बनाइरहेका छन्, जसरी कहिल्यै हिसाब नबुझ्नेहरू अर्थ मन्त्रालयमा छन्, जसरी मेसिन नदेखेका मानिसहरू उद्योग मन्त्रालय समालिरहेका छन्, त्यसरी नै म पनि अब मन्त्री बनेर राष्ट्रको नीति निर्धारण गर्ने छु । अनि त्यो सबै गर्ने छु, जुन गर्नबाट अहिलेसम्म मलाई वञ्चित गरिएको थियो । म देश विकासको कुरा गर्छु । देशका उत्पादनको कुरा गर्छु । ‘मेड इन नेपाल’ भन्ने नारालाई बुलन्द बनाउँछु । देशमा उत्पादन हुने बेरोजगारी, झुटा सपना, घुसखोरी, भत्तामा रमाउने नेतृत्वलगायतका कुराहरुको म दिल खोलेर प्रचार गर्छु । 

कलेजको गेटमा जिन्दाबाद र मुर्दाबाद गर्दा गरेका भाषण नै अब राष्ट्रव्यापी भाषण बन्छन् । टोलका चिया पसलमा गरिएका बहस नै अब संसद्का छलफल बन्छन् । अब मलाई मन्त्री हुनबाट कसले रोक्ने ?

गुरुजी, तपाईं सही हुनुहुँदो रहेछ । “गिदी होइन, गोबर भरिएको छ !” उहाँले भन्नुभएको थियो । सही भन्नुभएको थियो किनभने यही गोबरले नै राजनीति चल्छ । ज्ञानले होइन, नैतिकताले होइन, दूरदृष्टिले होइन । 

अब मलाई ढुक्क भइसक्यो ।

आमाको राम्रो ‘म’, बाबाको नाक, गुरुजीको गोबर– यी सबै समेटेर म मन्त्री बन्ने यात्रा तय गर्ने छु ।

ढिलोचाँडो मेरो टाउकोमाथि राष्ट्रको मुकुट राखिने छ । अनि एक दिन मेरा आफ्नै गुरुजी मेरोसामु झुक्नु हुने छ, “हजुर, तपाईंको टाउकोमा गोबर भए पनि तपाईं राष्ट्रनायक हुनुहुन्छ !” र म मुस्कुराउँदै, इतिहासलाई सम्बोधन गर्ने छु, “हो, म गोबरको डल्लो नै हुँ तर अब म देश चलाउने छु !”