• २८ असार २०८२, शनिबार

बाढीको जोखिममा राजापुर

blog

कर्णाली नदीअन्तर्गत राजापुर नगरपालिका–४ अनन्तपुरमा बस्ती र सत्तीघाट पुल जोगाउनका लागि बोल्डर खसाल्दै । तस्बिर : यज्ञप्रसाद सापकोटा

यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया) असार २७ गते ।
वर्षायाम सुरु भएसँगै राजापुर नगरपालिकाको राजापुर बजार,  अनन्तपुर, छेदियासँगै सत्तीघाटको पुल नदीकटानको जोखिममा परेको छ । कर्णाली नदीमा गरिएको तटबन्ध गत वर्ष बगाएपछि सो क्षेत्र बाढीको जोखिममा परेको हो ।

यस वर्ष मनसुन बढी सक्रिय छ । तुलनात्मक रुपमा बढी वर्षात हुने अनुमान गरिएको छ । राजापुर बजार, अनन्तपुर, छेदियाका स्थानीयवासीहरू बाढीको त्रासमा बाँचिरहेका छन् । नदीको कटान रोक्नका लागि तत्काल कुनै उपाय नलगाए राजापुर नगरपालिका– ४ का अनन्तपुर, दलैघाट, छेदियाका बस्ती र सत्ती पुल जोखिममा रहेको वडाध्यक्ष विदुर पोखरेलले बताउनुभयो । यसैगरी, गेरुवा गाउँपालिका वडा नं २ को राजीपुर, राजापुर नगरपालिका वडा न १ को दौलतपुर टिहुनी, वडा नं २ को टेडिया र तिघ्रा नदी कटान र बाढीको उच्च जोखिममा छन् ।

बाढीको जोखिम कम गर्नका लागि कर्णाली नदी किनारमा ठुला ढुङ्गा (बोल्डर) थुपारिएको छ । गत वर्ष आएको बाढीले कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेको लन्चिङ एप्रोन र स्लोपिङ रिभेटमेन्ट कटान गरी बगाएको थियो । बाढी पस्ने जोखिम भएको सो स्थानमा गत वर्ष नदीजन्य पदार्थ थुपारेर बाढी पस्नबाट जोगाइएको थियो । थुपारिएको नदीजन्य पदार्थ कटान गरेर लैजानबाट रोक्न र बाढीको जोखिम कम गर्नका लागि ठुला ढुङ्गा नदी किनारमा राखिएको कर्णाली नदी व्यवस्थापन आयोजनाले जनाएको छ ।

आयोजनाले बढी जोखिम भएको क्षेत्रमा गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाको पश्चिम तर्फकोको किनारमा तटबन्ध निर्माण निर्माण कार्य सुरु गरेको थियो । तटबन्ध निर्माणका लागि लगाइएका तीन वटा स्थानमा निर्माण कम्पनीले काम नगर्दा झन् जोखिम बढेको कर्णाली नदी व्यवस्थापन आयोजनाका कार्यालय प्रमुख सुदिन मोक्तानले बताउनुभयो । तीन वटा ठेक्कामध्ये एक निर्माण व्यवसायीलाई कारवाही गरी कालोसूचीका लागि पठाइएको र बाँकी दुई निर्माण व्यवसायीलाई कारवाही गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।

नेपाल सरकारले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई कर्णाली नदीको कटान र बाढीबाट जोगाउनका लागि कर्णाली नदी व्यवस्थापन आयोजनाको स्थापना गरेको थियो । आयोजनाको कार्यालय स्थापना भएको एक दशक बितेपनि कुल काममध्ये १८ प्रतिशत मात्र काम भएको छ । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई ड्यामसहितको तटबन्ध निर्माण गरी सुरक्षित गर्ने कार्यालय उद्देश्य भए पनि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा र निर्माण व्यवसायीले समयमा काम नगर्दा लक्ष्य अनुरुप काम नभएको कर्णाली नदी व्यवस्थापन आयोजनाका प्रमुख मोक्तानले बताउनुभयो । उहाँले ७३ किलोमिटर ड्यामसहितको तटबन्ध निर्माण गर्ने योजना भए पनि १५ किलोमिटर मात्र तटबन्ध निर्माण भएको र अझै करिब ५८ किलोमिटर तटबन्ध निर्माण गर्न बाँकी रहेको बताउनुभयो ।

गुरुयोजना बमोजिम बजेटको विनियोजन नहुँदा निर्माण कम्पनीले सम्पन्न गरेको कामको रकमसमेत भुक्तानी हुन सकेको छैन । आयोजनाले हाल सम्म करिब दुई अर्ब रुपियाँ खर्च गरेको छ । तटबन्धलगायतका संरचना निर्माणका लागि व्यवसायीसँग सम्झौता भएको करिब ७३ करोड रुपियाँ कार्यालयको दायित्व रहेको आयोजनाले जनाएको छ ।