• २२ वैशाख २०८१, शनिबार

ललितपुर निर्वाचन क्षेत्र नम्बर १

कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा, २१ उम्मेदवार चुनावी मैदानमा

blog

काठमाडौं, कात्तिक २२ गते । ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का नवराज सिलवाल र नेपाली कांग्रेसका उदय शमशेर जबराबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा मधुसूदन पौडेल र (ख) मा चेतनाथ सञ्जेल एमालेको उम्मेदवार हुनुहुन्छ । यसैगरी, गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का हरि दाहाल प्रदेशसभा सदस्यतर्फ (क) मा र ललितपुर (ख) मा कांग्रेसका मीनकृष्ण महर्जन उम्मेदवार हुनुहुन्छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यस क्षेत्रमा जनता समाजवादी पार्टी, नेपालका गोपाल राज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्य, नेपाल मजदुर किसान पार्टीका कविन्द्र डंगोल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मनिष बहादुर श्रेष्ठ, मङ्गोल नेशनल अर्गनाइजेसनका सूर्य तामाङ बल, नेश्नलिष्ट पिपल्स पार्टीका सुभद्रा महर्जन, राष्ट्रिय जनमुक्ति पार्टीका बालकृष्ण घिमिरे, आमूल परिवर्तन मसिहा पार्टी नेपालका विष्णु लामा, राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन कुमार घिमिरे गरी राजनीतिक दलका तर्फबाट ११ र स्वतन्त्र १० गरी जम्मा उम्मेदवार सङ्ख्या २१ रहेको छ ।

कांग्रेस र एमालेबीच प्रतिस्पर्धा

एमालेका उम्मेदवार नवराज सिलवालले विगत पाँच वर्षमा जनताको प्रतिनिधि सभा सदस्यको रूपमा काम गर्दा खेलकुद मैदान, ढललगायत नेपालको सबैभन्दा ठूलो सभा हल सनराइज हल निर्माणलगायत पूर्वाधार निर्माणको क्षेत्रमा विविध कार्य भएको बताउनुभयो ।

विगतका नेतृत्वबाट निराशा

नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर जबराले सो क्षेत्रमा विगतका सांसदले काम नगरेको भन्ने प्रतिक्रिया स्थानीयवासीबाट प्राप्त भइरहेको बताउनुभयो । विगतका जनप्रतिनिधिले कुनै नयाँ योजना नल्याएको भन्नुहुँदै उहाँले गठबन्धनसहित कांग्रेसको पक्षमा धेरै मत प्राप्त हुने आङ्कलन रहेको बताउनुभयो ।

२०७४ निर्वाचन परिणाम

वि.सं. २०७४ सालको निर्वाचनमा ललितपुर – १ मा एमालेका नवराज सिलवाल २६ हजार ९५१ (५४.९ प्रतिशत) मतसहित विजयी हुनुभएको थियो । साे बेला एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन रहेको थियो । 

नेपाली कांग्रेसका उदय शमशेर जबरा २० हजार ७२९ (४२.२ प्रतिशत) मतसहित दोस्रो स्थानमा हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टी (माले) का विक्रम बहादुर खड्काले ५१५ मत, विवेकशील साझा पार्टीका केशव प्रसाद तिमल्सिनाले २५५ मत प्राप्त गर्नुभएको थियो ।

यस क्षेत्रमा अन्तर्गत महांकाल गाउँपालिका, बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र गोदावरी नगरपालिकाका वडाहरू १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १३ पर्दछन् ।

गत स्थानीय तह निर्वाचन परिणाम 

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा महाकांल गाउँपालिका अध्यक्षमा कांग्रेसका गणेश केसी ३ हजार ४५५ मतसहित विजयी हुनुभएको थियो । एमालेका कल्पना लामा तामाङले २ हजार ८८७, माओवादी केन्द्रका भगीरथ तिमल्सिनाले २३८ मत प्राप्त गर्नुभएको थियो ।

बागमती गाउँपालिका अध्यक्षमा कांग्रेसका वीरबहादुर लोप्चन ४ हजार ९०९ मतसहित विजयी र एमालेका नवराज सञ्जेल ४ हजार ०५३ मतसहित दोस्रो स्थान प्राप्त गर्नुभएको थियो ।

कोन्ज्योसोम गाउँपालिका अध्यक्षमा एमालेका कृष्णमान लामा ३ हजार १०४ मतसहित विजयी र माओवादी केन्द्रका गोपीलाल सिंतानले २ हजार ५०९ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी, गोदावरी नगरपालिका प्रमुखमा कांग्रेसका गजेन्द्र महर्जन १९ हजार १७० मतसहित विजयी र एमालेका गम्भीर बहादुर रानाले १५ हजार २३२ मत प्राप्त गर्नुभएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजकुमार महर्जन १ हजार ४८३ मतसहित तेस्रो स्थानमा हुनुहुन्थ्यो ।

गोदावरी नगरपालिका अन्तर्गत वडा १, २, ४, ५, ६, ७, ९, १० र ११ मा कांग्रेस विजयी भएको थियो । वडा ३, र ८ मा माओवादी केन्द्र र वडा १३ मा एमाले विजयी भएको थियो ।

वडा १ मा कांग्रेसका राज थापा, वडा २ मा कांग्रेसका मनोहर सिलवाल, वडा ३ मा माओवादी केन्द्रका सानुराजा घिमिरे, वडा ४ मा कांग्रेसका सानु भाइ नगरकोटी, वडा ५ मा कांग्रेसका मिलन सिलवाल, वडा ६ मा कांग्रेसका विष्णुमान महर्जन, वडा ७ मा कांग्रेसका मथुराप्रसाद शर्मा, वडा ८ मा माओवादी केन्द्रका शुकबहादुर लामा, वडा १० मा कांग्रेसका शेखर न्यौपाने, वडा ११ मा कांग्रेसका निलबहादुर देशार, वडा १३ मा एमालेका भास्कर थापा वडाध्यक्षमा विजयी हुनुभएको थियो ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।