• २२ वैशाख २०८१, शनिबार

कात्तिक नाचको वस्त्रहरण लीला साेमबार राति प्रदर्शन हुँदै

blog

–फाइल फाेटाे । तस्विर –मनाेजरत्न शाही

काठमाडौं, कात्तिक २१ गते । कात्तिक नाचको नवौं दिन वस्त्रहरण लीला नाच साेमबार राति प्रदर्शन हुँदैछ । कृष्णलीलासँग सम्बन्धित यस नाचको सार रहेको कात्तिक नाच संरक्षण समितिका कोषाध्यक्ष एवम् कलाकार उत्तमरत्न शाक्य बताउनुहुन्छ ।

यस्तो छ नाचको कथा – वस्त्रहरण लीलामा कृष्णको प्रवेश हुन्छ । भगवान् कृष्णको प्रवेशपछि राधाका र उहाँका साथीहरु प्रस्तुत गरिन्छ । राधिका उनका साथीहरुसँग स्नान गर्न नदीमा जानुहुन्छ । स्नानमा रमाइरहेका राधाको वस्त्र कृष्णले लुकाइदिनुहुन्छ ।

यसरी स्नान सकेर आउँदा वस्त्र नभेटेपछि राधिकाले काले कृष्णले लुगा लुकाएको भन्दै रिस व्यक्त गर्नुहुन्छ । त्यसैबैला भगवान् कृष्ण भने रुखमा बसेर आफ्नै बाँसुरीको धुनमा मग्न हुन्छन् । रिसमा होश गुमाएकी राधाले कृष्णलाई आफ्नो लुगाा लुकाएकोमा गाली गर्नुहुन्छ । तर जवाफमा कृष्णले यसरी बिना वस्त्र नुहाउन लाज नलागेको भन्दै जवाफ फर्काउनुहुन्छ ।

दुई जनाको केहीबेरको बहसपछि राधाले भगवान् कृष्णसँग माफी माग्नुहुन्छ । राधाले माफी मागेपछि कृष्णले उहाँलाई बाजाको तालमा लुगा फिर्ता गर्नुहुन्छ। आजको वस्त्रहरण नाच सोही कथामा घुमेको छ ।

सात जना कलाकारको उपस्थितिमा देखाइने  वस्त्रहरण लीला नाच हरेक दिन जस्तै  साँझ ७ बजे पाटनस्थित कात्तिक डबलीमा प्रदर्शनी हुनेछ ।

३८२ वर्ष पुरानो यस नाचलाई सिद्धिनरसिंह मल्लले सञ्चालनमा ल्याउनुभएको थियो । राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणका लागि उहाँका गुरुद्वय हरिवंश उपाध्याय तथा विश्वनाथ उपाध्यायको सल्लाहमा ‘कात्तिक नाच’ चलाएको जनविश्वास रहेको कोषाध्यक्ष शाक्य बताउनुहुन्छ ।

पाँच दिनबाट सुरु भएको यो नाचपछि गएर राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लले यस नाचमा ‘बाँथ प्याँख’ अर्थात् सात दिनको लोक नाटक थपेर १२ दिनसम्म सञ्चालन हुने व्यवस्था गर्नुभएको थियो ।

यसपछि श्रीनिवास मल्लका छोरा योग नरेन्द्र मल्लले थप १५ दिन अर्थात् उषाहरण लीला र माधवनर लीला नाच थपेर तिहारको तीन दिन बाहेक कात्तिक महिनाभर २७ दिन सञ्चालन गर्नुभएको थियो । यसरी, कात्तिक महिनामा देखाइने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको शाक्य बताउनुहुन्छ ।