• ८ वैशाख २०८१, शनिबार

अनौठा प्राणी र वनस्पतिको देश मडागास्कर

blog

मडागास्कर संसारको चौथो ठूलो टापु मुलुक हो । संसारकै सबैभन्दा ठूलो टापु चाहिँ ग्रिनल्यान्ड हो । दोस्रो नम्बरमा न्युगिनी पर्छ भने तेस्रो ठूलो टापु बोर्नियो हो । मडागास्कर हिन्द महासागरको दक्षिणपश्चिमी भागमा छ । पृथ्वीमा अन्यत्र कतै नपाइने वनस्पति र प्राणी यो देशमा पाइन्छ ।

भूगोल

पाँच लाख ८७ हजार ४१ वर्ग किलोमिटर क्षेत्रफलको मडागास्कर संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यभन्दा थोरै सानो र फ्रान्सभन्दा अलिकति ठूलो छ । यो मोजाम्बिकबाट करिब ४०२ किलोमिटर पूर्वमा छ । मोजाम्बिक चाहिँ अफ्रिकाको उत्तरपूर्वी तटमा छ । 

मडागास्करको राजधानी अन्तानानारिभो हो । यहाँको मुद्रालाई अरिअरे भनिन्छ । एक अमेरिकी डलर किन्न चार हजार २०० भन्दा बढी अरिअरे खर्च गर्नुपर्छ । जनसङ्ख्या दुई करोड ५० लाख हाराहारी छ । यो देशको मध्यभाग पहाड र हिमालले ढाकेको छ । दुई हजार ८७६ मिटर अग्लो माउन्ट मारोमोकोत्रो मडागास्करको सबैभन्दा अग्लो हिमाल हो । 

जनजीवन र संस्कृति

मडागास्करका अधिकांश मानिस टापुको पूर्वपट्टिको आधा भागमा बस्छन् । त्यसमा पनि धेरैजसोको बसोबास राजधानी सहर अन्तानानारिभोनजिकको मध्यपहाडी इलाकामा छ । अधिकांश मलागासे ग्रामीण भेगमा बसोबास गर्ने किसान छन् । धान, कफी र अन्य कृषि वस्तु उत्पादन गर्छन् । गरिबी व्यापक छ । यहाँका ७० प्रतिशत जति जनता निरपेक्ष गरिबीको रेखामुनि छन् । कुपोषण व्यापक छ ।  

यो देशको जनसङ्ख्यामा युवाहरू बढी छ । कुल जनसङ्ख्याको ६० प्रतिशतभन्दा बढी २५ वर्षभन्दा कम उमेरका छन् । सङ्गीत मालागासे संस्कृतिको महìवपूर्ण अङ्ग हो । गाउँमा सधैँ जसो उत्सवहरू हुने गर्छ, जसमा स्थानीय नाचगान गरेर रमाउँछन् । मडागास्करको राष्ट्रिय वाद्ययन्त्र गितार जस्तै छ ।  

यहाँका परिकारमा दक्षिणपूर्वी एसिया र अफ्रिकाको प्रभाव देखिन्छ । धेरैले खाने खानामा चामलको परिकार ‘भारी’ सागसब्जी वा मासुको परिकार ‘लाओका’ हुन्छ । सम्भवतः हाम्रोतिर तरकारी भात भनेजस्तै । लौका, अदुवा, प्याज, लसुन र मसलाले ढाकिएको हुन्छ ।


प्रकृति 

मडागास्करमा पाइने ९० प्रतिशत जति प्राणी र वनस्पति विश्वको अन्य भागमा पाइँदैन । बलियो समुद्रले मडागास्करलाई अफ्रिकी महाद्वीपसँग छुट्याएकोले यस्तो भएको हो । जसले गर्दा यहाँका कुनै पनि प्राणी टापुको सीमा नाघेर अन्यत्र जान सक्दैनन् । 

यो देशलाई घना जङ्गल, सुक्खा मरुभूमि र घाँसे मैदानले ढाकेको छ । समुद्री तट क्षेत्रमा मुगा चट्टान र नुनिलो पानीमा उम्रने उष्णप्रदेशीय झाडी छ । मडागास्करको ज्यादै प्रसिद्ध प्राणी 

लेमर जातको बाँदर हो । लेमर मडागास्करमा मात्रै पाइन्छ । सिल्की सिफाकस प्रकारको लेमर पृथ्वीको दुर्लभमध्येको एक प्राणी हो । यो मडागास्करको घना जङ्गलमा पाइन्छ । त्यसैगरी ठूलो पुच्छर भएको माउसुली, रातिमा सक्रिय हुने आये–आये भनिने लेमर पनि यहाँ पाइन्छ । मरुभूमिमा स्पाइडर कछुवा र अजिङ्गर पाइन्छ ।  

बाओबाब नामको अनौठो वृक्ष यहाँ पाइन्छ । यो मडागास्करको राष्ट्रिय वृक्ष पनि हो । वर्षाको पानी सङ्कलन गर्ने यो रुखको मोटो र सिधा काण्ड बोतलजस्तै देखिन्छ ।

मडागास्कर अर्ध–राष्ट्रपतीय गणतन्त्र हो । यो प्रणालीमा जनताले राष्ट्रपति चुन्छन् । राष्ट्रपतिले आफूलाई सल्लाह दिने मन्त्रिपरिषद् गठनका लागि प्रधानमन्त्री नियुक्त गर्छ । मडागास्करको अर्थतन्त्र कृषिमा आधारित छ । 

यहाँको अर्थतन्त्रमा करिब ८० प्रतिशत योगदान कृषि उद्योगको छ । जसमा वन पैदावार र माछा व्यवसायसमेत पर्छन् । मडागास्करले कफी, भेनिल्ला र उखुबाट उत्पादित वस्तु निर्यात गर्छ ।


इतिहास

मडागास्करमा मानव बसोबासको इतिहास धेरै लामो छैन । यहाँ मानिसहरू बसोबास गर्न थालेको १३ सय वर्ष मात्र भएको छ । यहाँका पहिलो बासिन्दा दक्षिणपूर्वी एसियाको इन्डोनेसियाबाट आएको मानिन्छ । सन् १८८३ मा फ्रान्सले मडागास्करमा आक्रमण ग¥यो । एक दशकसम्म यहाँका साना राज्यहरूले फ्रान्सको प्रतिवाद गरे । सन् १८९६ मा मडागास्कर फ्रान्सको उपनिवेश घोषणा भयो र एक आपसमा लडिरहने त्यहाँका स–साना राजा रजौटाको अस्तित्व सकियो ।  

दोस्रो विश्वयुद्धपछि सन् १९४७ मा स्थानीयले स्वतन्त्रताको लडाइँ सुरु गरे । सन् १९६० मा यो देश फ्रान्सको उपनिवेशबाट मुक्त भयो ।