• ८ वैशाख २०८१, शनिबार

गान्धी आदर्श मावि अभिभावकको रोजाइ

blog

काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका–९ मा रहेको श्री गान्धी आदर्श माध्यमिक विद्यालयको स्थापना २०१० सालमा भएको हो । अहिंसात्मक आन्दोलनका प्रणेता महात्मा गान्धीबाट प्रेरित भएर समाज सुधारक तथा समाजसेवी श्री तुलसीमेहर श्रेष्ठले कारागारका रूपमा भएको जग्गामा यस विद्यालयको  पठन पाठन सुरु गराएका थिए । यसको स्थापना हुनुअघि राणा शासनको विरुद्धमा तुलसीमेहर लागेका थिए । उनी देशमा चलिरहेको जातीय र वर्गीय विभेदको पूर्ण रूपले विरोध गर्थे । 

त्यसैले उनलाई  तत्कालीन शासकहरूले देश निकाला गरेका थिए । त्यही बाध्यताका कारण उनी निर्वासित जीवन बिताउन भारतको शरणमा पुगे । त्यहाँ पुग्दा उनको भेट सत्यवादी  महात्मा गान्धीसँग भयो । गान्धीबाट उनमा समानता र शान्तिका पक्षमा लाग्न अभिप्रेरणा मिल्यो । यता नेपालमा पनि वि.सं. २००७ मा नेपाल प्रजातन्त्रको उदय भयो । अब भने तुलसीमेहर नेपाल आउन पाए । 

विद्यापीठको मेरुदण्डका रूपमा रहेका तुलसीमेहर महात्मा गान्धीका अनुयायी भएका कारणले नै यस विद्यालयको नाम पनि गान्धी आदर्श राखिन गयो । यस विद्यालयमा २०१४ सालमा नि.मा.वि. तहसम्म  पठनपाठन हुन्थ्यो ।  २०१८ सालमा यो विद्यालयले माध्यमिक तहको स्वीकृति पाएपछि २०१९ सालदेखि प्रवेशिका परीक्षासमेत यहीँ हुन थालेको थियो ।  वि.सं. २०३० पछि भने यहाँ छात्र र छात्रा  सबैले पढ्न पाउने व्यवस्था भयो । समय क्रममा वि.सं २०५६ देखि यस विद्यालयमा उच्च माध्यमिक तह (हालको मा.वि. कक्षा ११ र १२) पनि सुचारु भयो र यो वर्तमानमा पनि निरन्तर छ । हाल यस विद्यालयको कक्षा ११ र १२ मा शिक्षा, मानविकी र व्यवस्थापन सङ्कायका विषयहरू पठनपाठन हुन्छन् ।

गान्धी आदर्श माध्यमिक विद्यालयमा पाँचवटा आफ्नै भवन रहेका छन् । यसभित्र जापानी रोटरीले सहयोग गरेर निर्माण भएको २५० जना अट्न सक्ने सभा हल पनि रहेको छ । यहाँ कक्षा नर्सरीदेखि कक्षा एघार र बाह्रसम्म पढाइ हुन्छ भने आधुनिक विज्ञान प्रयोगशालाको कक्ष, कम्प्युटर प्रयोगशालाको कक्ष, पुस्तकालयको पनि राम्रो व्यवस्था रहेको छ । 

यो विद्यालयले पढाइका अतिरिक्त खेलकुदका माध्यमबाट पनि विद्यार्थीको सर्वाङ्गीण विकास गर्न सकिन्छ भन्ने मान्यता अवलम्बन गरेको छ । यहाँ विद्यार्थीहरूलाई खेल्नका लागि ठूलोे खेल मैदान रहेको छ । यस विद्यालयका विद्यार्थीहरू रेडक्रस र स्काउटमा पनि सहभागी रहेका छन् जसबाट विद्यालयमा हुने सामान्य घटना तथा दुर्घटना घट्दा तत्कालको उद्धार तथ थप सहयोगका सन्दर्भमा राहत मिल्ने गरेको छ । यहाँ विद्यार्थी अनुपातका आधारमा छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालयको पनि राम्रो प्रबन्ध गरिएको छ र विद्यालय परिसरभित्र स्वच्छ पिउने पानीको लागि दसवटा धाराको पनि प्रबन्ध गरिएको छ । 

गान्धी आदर्श माध्यमिक विद्यालयमा अध्यापन गर्न विभिन्न भेगबाट विभिन्न जातजातिका विद्यार्थी दैनिक आउने गर्छन् । यहाँ अध्यापन गराउने शिक्षक शिक्षिकाको सङ्ख्या ६५ रहेको छ । यहाँ कतिपय शिक्षक आन्तरिक स्रोतबाट पनि व्यवस्थापन गरिएको पाइयो । 

विशेष ऐतिहासिक पृष्ठभूमि भएको गान्धी आदर्श माध्यमिक विद्यालय विद्यालयले शिक्षक, वकिल, डाक्टर, इन्जिनियर, पाइलट, राजनीतिज्ञ, कलाकारजस्ता हजारौँ राष्ट्रसेवक व्यक्तित्वको उत्पादन गरेको छ । एक अत्यन्तै साधारण संस्थाबाट सुरु भएको आदर्श गान्धी विद्यालय मनोहरा क्षेत्रको निकै नाम चलेको मध्ये एक हो । यसमा बिहानीको सत्रमा ७०० विद्यार्थी र दिवाको सत्रमा २७०० विद्यार्थीहरू अध्ययनरत छन् । सामुदायिक विद्यालयमा विश्वास गर्ने अभिभावकको पायकको स्थान, गुणस्तरीय शिक्षा अनि त्यसैअनुरूपको उत्पादनका कारण यहाँ भर्नाको समयमा विद्यार्थीको निकै भीड लाग्ने गर्छ ।