• ४ जेठ २०८१, शुक्रबार

मत माग्न घरदैलोमा उम्मेदवार

blog

घोराही समाचारदाता 

घोराही, कात्तिक २१ गते । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिएसँगै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू गाउँ–गाउँमा निर्वाचन प्रचारप्रसारमा व्यस्त छन् । 

निर्वाचन प्रचारप्रसारमा हिँडेका उम्मेदवारहरूले मतदाताको घरदैलोमा पुगेर मतदाताका कुरा सुन्दै र आफ्ना कुराहरू सुनाउँदै हिँड्ने गरेका छन्। 

निर्वाचनमा आफू र आफ्नो पार्टीलाई मतदानका लागि आग्रह गर्ने गरेका छन्। तीन प्रतिनिधि सभा निर्वाचन क्षेत्र र छ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दाङमा राजनीतिक दल र स्वतन्त्र गरी ८९ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

निर्वाचन आउन दुई साता मात्रै बाँकी रहँदा अधिकांश उम्मेदवारहरू घोषणापत्रसँगै आफ्ना एजेन्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन्। जिल्लामा एमालेबाहेकका अन्य दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन्। 

चुनावी प्रचारप्रसारका क्रममा गाउँगाउँ पुगेका उम्मेदवारले  मतदातालाई रिझाउनका लागि मतदातासँगै धान काट्ने, खेत जोत्नेदेखि खन्नेसमेतका काम गर्ने गरेका छन् । राजनीतिक दलले मतदान गर्ने तरिका र चुनाव चिह्नको विषयमा मतदाताहरूलाई सिकाउने काम गरिरहेको नेपाली कांग्रेस दाङका सचिव क्षेत्र नं. २ का सचिव रमेश केसीले जानकारी दिनुभएको छ। 

उहाँका अनुसार गठबन्धनले चुनावी प्रसारप्रसारका क्रममा भेटघाट, घरदैलोसँगै मत बदर हुन नदिनका लागि मतदान गर्ने तरिका बारेमा समेत सिकाउने गरिरहेको बताउनुभयो। 

“निर्वाचनका लागि घरदैलोसँगै मतदाता भेटघाटका कार्यक्रमहरू सबै निर्वाचन क्षेत्रमा भइरहेका छन्,” सचिव केसीले भन्नुभयो, “स्थानीय तह निर्वाचनमा गठबन्धनको धेरै मत बदर भएकाले यस पटक बदर मत घटाउन मतदातालाई सिकाउने कामसमेत भइरहेको छ।” 

गठबन्धनसँगै नेकपा एमालेले पनि सबै निर्वाचन क्षेत्रहरूमा चुनावी प्रचारप्रसारका क्रममा मतदाता भेटघाट तथा वडा भेला गर्ने, उम्मेदवारहरूले आफ्ना कुराहरू मतदातालाई राख्ने काम गरिरहेको एमालेका जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभएको छ।

“मतदाता भेटघाटसँगै वडास्तरीय भेलाको आयोजना गरेर उम्मेदवारहरू प्रचारप्रसारमा हुनुहुन्छ,” सचिव बुढाथोकीले भन्नुभयो। सत्ता गठबन्धन र एमालेसँगै निर्वाचनमा आफ्नो पक्षमा मत तान्नका लागि अन्य साना दलका उम्मेदवारहरू पनि मतदाता भेटघाट र घरदैलोमा जुटेका छन्। 

यद्यपि जिल्लामा सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच प्रमुख प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका नेकपा एकीकृत समाजवादीका नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरी र एमाले उम्मेदवार एवं निवर्तमान सांसद शान्ता चौधरीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ।

यद्यपि उक्त क्षेत्र थारू बाहुल्य क्षेत्र भएकाले पूर्वसांसद गङ्गा चौधरी, रुक्मिणी चौधरी र नेपाली कांग्रेसबाट नागरिक उन्मुक्ति पार्टीमा गएर उम्मेदवार बन्नुभएका सुरेन्द्र चौधरीले पनि राम्रै मत पाउने चर्चा छ। प्रतिनिधि सभा क्षेत्र नं. २ मा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेखा शर्मा र एमालेका महासचिव शङ्कर पोखरेल पनि चुनावी प्रचार–प्रसारका क्रममा व्यस्त हुनुहुन्छ। माओवादीमा उदयमान नेत्री शर्मा र एमालेका महासचिव पोखरेलबीचको प्रतिस्पर्धा चर्चाको विषयसमेत हुने गरेको छ। 

प्रतिनिधि सभा क्षेत्र नं. ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी र एमालेबाट उम्मेदवार बनेकी कोमल वली पनि प्रचारप्रसारका लागि घरदैलोमा जुट्नुभएको छ। जिल्लाको सबैभन्दा धेरै मतदाता रहेको उक्त क्षेत्रमा उम्मेदवारहरू मतदाता भेट्नका लागि घर पुग्नेदेखि वडाहरूमा कार्यक्रम गरेर आफ्ना एजेन्डाहरू राख्दै चुनाव प्रसारप्रसार गर्दै आउनुभएको छ ।