• १३ असोज २०८१, आइतबार

प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनी र आर्मी विजयी

blog

प्लेयर अफ द म्याच बन्नुभएका लुम्बिनीका देव खनाल । तस्बिर : नेपाल क्रिकेट संघ

काठमाडौं, कात्तिक २० गते। प्रदेश १ माथि ३९ रनको जित निकालेको लुम्बिनी प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल सम्भावना जीवितै राखेको छ। 

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा  समूह ‘बी’ को चौथो खेलसँगै लुम्बिनी सेमिफाइनल प्रवेशका लागि अन्य टोलीको नतिजामा भर पर्ने पक्का भएको हो।  लुम्बिनीको समूह ‘बी’ मा चार खेलबाट चार अङ्क रहेको छ र तेस्रो स्थानमा छ। दुई खेल कम खेलेको मधेस प्रदेश चार अङ्कसहित दोस्रो स्थानमा छ। 

यो समूहबाट अन्तिम चारमा मधेसको बलियो सम्भावना रहेको छ। उसले बाँकी खेल जिते सिधै सेमिफाइनलमा पुग्नेछ। चार खेलबाट दुई अङ्क जोडेको प्रदेश १ र बिना अङ्क तालिकाको पुछारमा रहेको बागमती प्रदेश भने समूह चरणबाट बाहिरिसकेका छन्। तीनखेलबाट शतप्रतिशत जितसहित नेपाल पुलिस क्लब एक खेल अघि नै अन्तिम चारमा प्रवेश गरिसकेको छ।

लुम्बिनी प्रदेशले दिएको दुई सय ९१ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ५१ रन मात्र बनाउन सक्यो। जवाफी ब्याटिङ गरेको प्रदेश १ का लागि दुई खेलाडीले अर्धशतकीय इनिङ खेल पनि टोलीको हार टार्न सकेनन्।

कप्तान सिद्धान्त लोहनीले ६० बलमा १० चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ७४ रन बनाउँदा ओपनर अङ्कित सुवेदीले ४८ बलमा १० चौकासहित ५२ रनको पारी खेल्नुभयो। बलिङतर्फ लुम्बिनीका दुर्गेश गुप्ता, बसिर अहमद र देव खनालले समान दुई दुई विकेट लिनुभयो। यस्तै, नरेश नेपाली, अनिल खरेल र तुलबहादुर थापाले समान एक विकेट हात पारे। 

यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले पुरै ५० ओभर खेल्दै आठ विकेटको क्षतिमा २ सय ९० रन बनाएको थियो। लुम्बिनीका कप्तान देवले ९८ बलमा ११ चौका  मद्दतमा  ८९ रन बनाउनुभयो। 

आकाश त्रिपाठीले ४५ रन जोड्दा सन्दीप रिजालले ४४, विशाल विक्रम केसीले ३२ तथा कृष्ण कार्कीले ३१ रनको व्यक्तिगत स्कोर बनाउनुभयो। बलिङतर्फ दीपक जोशीले सर्वाधिक चार विकेट निकाल्दा श्रवण यादवले दुई तथा लुभ कामतले १ विकेट हात पार्नुभयो। 

त्यसैगरी, आइतबार मुलापानी मैदानमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि ६९ रनको जित निकालेको छ। समूह तालिकामा एक स्थानमाथि रहेको गण्डकीलाई हराउने क्रममा आर्मीका सुशन भारीको ५ विकेटको सहयोगमा आर्मीले सहज जित निकालेको हो। जितसँगै आर्मीले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाइनल सम्भावना कायमै राखेको छ।

१ सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३३.२ ओभरमा मात्र ९६ रन जोड्न सक्यो। जवाफी ब्याटिङ गरेको गण्डकीका लागि ओपनर समीर कँडेलले ३९ रन जोड्दा अर्जुन कुमालले १४ रनको योगदान गर्नुभयो।

गण्डकीलाई न्यून स्कोरमा सीमित गर्न आर्मीका सुशनले ९ ओभरभमा १४ रन खर्चँदै ५ विकेट लिनुभयो। उहाँ म्यान अफ दि म्याच बन्नुभयो।

जितपछि समूह ए मा आर्मीको ३ खेलमा ४ अङ्क छ भने दोस्रो स्थानको गण्डकीको ४ खेलमा ५ अङ्क छ। शीर्ष स्थानको एपिएफएको ४ खेलमा ७ अङ्क छ। एपिएफ समूह ए बाट सेमिफाइनल प्रवेश गरिसकेको छ।

यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीका लागि कप्तान  विनोद भण्डारीले अर्धशतकीय पारी खेल्नुभयो। ५४ रन जोड्ने क्रममा विनोदले ७९ बलमा चार चौका र दुई छक्का प्रहार गर्नुभयो। त्यस्तै कुशल मल्लले ४५ बलमा ३९ रनको योगदान गर्दा ओपनर अनिल मण्डलले २६ र अर्जुन साउदले  १३ रनको योगदान गर्नुभयो। 

प्रतियोगितामा सोमवार पनि दुई खेल हुनेछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बागमती प्रदेश र मधेस प्रदेश तथा मुलपानी मैदानमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबीच खेल हुनेछ।