• १३ असोज २०८१, आइतबार

जिम्बावेलाई ७१ रनले पराजित गर्दै भारत सेमिफाइनलमा

blog

जिम्बावेविरुद्ध ब्याटिङ गर्दै भारतका केएल राहुल । तस्बिर : क्रिकबज

काठमाडौं, कात्तिक २० गते। अष्ट्रेलियामा जारी आइसिसी टी-२० विश्वकपमा जिम्बावेलाई ७१ रनले हराउँदै भारत सेमिफाइनल प्रवेश गरेको छ। आइतबार मेलबर्नमा भएको समूह चरणको अन्तिम खेलमा जिम्बावेलाई ७१ रनले पराजित गर्दै समूह विजेता बनेको भारत अन्तिम चारमा प्रवेश गरेको हो। 

भारतले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको जिम्बावे १७ ओभर २ बलमा अलआउट हुँदै १ सय १५ रनमा समेटिएको हो। पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो।

भारतका लागि सूर्यकुमार यादवले ६१ र केएल राहुलले ५१ रनको अर्धशतकीय इनिङ खेल्नुभयो। उसका लागि विराट कोहली २६, हार्दिक पाण्डेयले १८ रन जोड्दा  कप्तान रोहित शर्माले १५ रन बनाउनुभयो। 

जिम्बावेका सिन विलियम्सले दुई विकेट लिनुभयो। आइतबारको खेलमा भारतको जितसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। बुधबार सेमिफाइनलमा भारतले इंग्ल्यान्डको सामना गर्नेछ। सेमिफाइनलको दोस्रो खेलमा बिहीबार न्युजल्याण्डले पाकिस्तानको सामना गर्दै छ।