• १३ पुस २०८१, शनिबार

यसरी बुझौँ ‘फाइभजी’

blog

पछिल्लो समय नेपालसहित विश्वका धेरै देशमा फाइभजीको चर्चा हुने गरेको छ । कतै फाइभजी परीक्षण सुरु भएको, कतै फाइभजीको प्रयोग नै सुरु भएका खबरहरू प्रविधिका पछिल्ला समाचार बनिरहेका छन् । नेपालमा पनि नेपाल टेलिकमले फाइभजी परीक्षणका लागि अनुमति पाइसकेको छ । त्यसैअनुसार टेलिकमले देशका विभिन्न चार सहरमा फाइभजी परीक्षणको तयारी पनि गरिरहेको छ । विश्वका धेरै देशले एकदमै जोड दिइरहेको फाइभजी के हो त ?

भाइबहिनी, फाइभजी बुझ्नु पहिले मोबाइल प्रविधिको इतिहास बुझ्यौ भने यसबारे थप प्रस्ट हुन सकिन्छ । हामीले कुराकानी गरिरहने मोबाइल पनि आफैँमा एउटा प्रविधि हो, जहाँ नेटवर्कको सहायताले एक ठाउँबाट गरेको कुराकानी अर्को ठाउँसम्म पुग्छ । मोबाइल नेटवर्कको यस्तो विकास पहिलोपटक सन् १९७९ मा जापानमा भएको थियो, जसलाई यस्तो प्रविधिको पहिलो पुस्ता अथवा ‘वनजी’ भनिन्छ । वनजी वास्तवमा कुराकानी अर्थात् भ्वाइस कलका लागि मात्र थियो तर विश्वबाटै अहिले वनजी प्रविधि विस्थापित भइसकेको छ । 

वनजी प्रयोगमा आएको एक दशकपछि सन् १९९० को दशकमा मोबाइल प्रविधिमा पनि परिवर्तन आयो जसको परिणामस्वरूप विश्वभर टुजी प्रयोगमा आयो । टुजीलाई मोबाइल नेटवर्क प्रविधिको दोस्रो पुस्ता मानिन्छ, जसबाट भ्वाइस कलसहित एसएमएससमेत गर्न सकिन्थ्यो । सीमित मात्र भए पनि टुजीबाट इन्टरनेटसमेत चलाउन सम्भव भयो । यो प्रविधि पनि विश्वका अधिकांश देशबाट अहिले विस्थापित भइसकेको छ । 


टुजीले मोबाइल नेटवर्कबाट इन्टरनेट प्रयोग सम्भव देखाएपछि यसबारे थप अध्ययन अनुसन्धान सुरु भए । सन् २००१ देखि मोबाइल प्रविधिमा तेस्रो पुस्ताको सुरुवात भयो, जसलाई थ्रीजी भनिन्छ । थ्रीजीमा फोन कलको गुणस्तरमा पनि केही सुधार भयो, त्योभन्दा धेरै सुधार आयो इन्टरनेट गतिमा  ।

 थ्रीजीले मात्र इन्टरनेटमा मानिसहरूले खोजिरहेको चाहनालाई सम्बोधन गर्न सकिरहेको थिएन । इन्टरनेटमा आधारित काम बढ्दै गर्दा थ्रीजीले उपलब्ध गराएको इन्टरनेट स्पिड पुगिरहेको थिएन । थ्रीजीमा देखिएका कमीकमजोरी सुधार गर्दै मोबाइल नेटवर्कको चौथो पुस्ताको आविष्कार गरियो जसलाई फोरजी भनिन्छ । विश्वका धेरै देशमा अहिले फोरजी प्रयोगमा छ । भाइबहिनीले पनि आफ्नो मोबाइल डेटा अन गर्दा नेटवर्क रहेको ठाउँमा फोरजी लेखेका देखेकै हुनुपर्छ । यसको मतलव नेपालमा पनि फोरजी प्रयोग गर्न सकिन्छ । विश्वमा पहिलो पटक सन् २००९ मा फोरजी प्रयोगमा आएको थियो तर नेपालमा सन् २०१७ मा मात्र फोरजी प्रयोगमा आएको थियो । 

फोरजी प्रयोगमा आइसकेपछि इन्टरनेट नै नचल्ने समस्या करिब अन्त्य भयो । त्यो मात्र होइन खासगरी भिडियो कन्टेन्ट र गेमिङका लागि त फोरजी वरदान नै साबित भयो । युट्युब, अमेजन, नेटफ्लिक्स, टिकटकजस्ता भिडियोमा आधारित कन्टेन्टको प्रयोगलाई फोरजीले नै स्थापित गरिदिएको हो । भाइबहिनीले खेल्ने पब्जी, 

फ्रिफायरजस्ता खेलहरू प्नि फोरजी प्रविधिले नै सम्भव बनाएको हो । फोरजीले विश्वभर नै मानिसहरूलाई इन्टरनेटप्रति आकर्षित बनायो । मानिसहरूलाई इन्टरनेटमा बानी पारिदिने काम नै वास्तवमा फोरजीले गरिदिएको हो । अहिले नेपालमा एक करोड ५० लाखभन्दा बढीले फोरजी चलाउँछन् । 

के हो त फाइभजी ? 

फाइभजी, मोबाइल नेटवर्क प्रविधिको पाँचौंँ पुस्ता हो । फाइभजी शब्दमा रहेको फाइभले पाँच अर्थात् पाँचौँ र जीले जेनेरेसन अर्थात् पुस्ता बुझाउँछ । मोबाइल नेटवर्क प्रविधिमा भएको अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो फाइजभी । फाइभजीको पहिलो सफल प्रयोगले दक्षिण कोरियाले सन् २०१९ मा गरेको थियो । त्यसपछि विश्वका धेरै विकसित देशहरू यसको प्रयोगमा जुटेका छन् । अहिलेसम्म विश्वका ७४ वटा देशले फाइभजी प्रयोग गरेका छन् । छिमेकी मुलुक भारतमा पनि यसै महिनादेखि फाइभजी प्रयोगमा आएको छ । ठूलाभन्दा ठूला फाइल पनि फाइभजीले सेकेन्डमै आदानप्रदान गर्न सक्छ । अझै सजिलोसँग बुझ्दा तीन–चारवटा पूरै चलचित्र नै एक सेकेन्डमै इन्टरनेटमा अपलोड गर्न सक्ने क्षमता फाइभजीमा हुन्छ । 

भाइबहिनीले इन्टरनेटअफ थिङ्स (आईओटी) त सुनैकै हुनुपर्छ । सुनेको छैनौँ भने पनि केही छैन । जस्तो तिमी घरमा छैनौँ तर तिम्रो के भइरहेको छ भन्ने जानकारी तिम्रो मोबाइलमा भएको एप्सले जानकारी दिन्छ भने त्यो आईओटी हो । यसमा तिम्रो मोबाइल एप र घरमा राखिएको उपकरणबीच आपसमा कुराकानी भएको हुन्छ र त्यसको जानकारी तिमीसँग आइपुग्छ । भाइबहिनीले गुगलको ड्राभइरलेस कारबारे सुनेका छौ । यो त्यस्तो कार हो जहाँ ड्राभइर नै हुँदैन तर त्यसले भनेकै ठाउँमा लैजान्छ । यो सबै डेटाले गर्दा भएको हो । यस्तो कारमा आफ्नो वरपर भइरहेको गतिविधि एकदमै छोटो समयमा थाहा पाउने प्रविधि प्रयोग गरिएको हुन्छ । 

यसरी वरपरका सबै गतिविधिको डेटा सेकेन्डभन्दा पनि कम समयमा थाहा पाएर सोहीअनुसार तोकिएको काम गर्न फाइभजीले सघाइरहेको हुन्छ, किनकि फाइभजीबाट एकदमै धेरै र छिटो डेटा आदानप्रदान गर्ने सुविधा हुन्छ । 

फाइभजीको सबैभन्दा राम्रो प्रयोगबारे विश्वमा अहिले पनि खोज अनुसन्धान भइरहेको छ । सन् २०२५ भित्र त फाइभजी एकदमै धेरै प्रयोगमा आउने अनुमान पनि गरिएको छ । नेपालले पनि सन् २०२२ भित्रै फाइभजीको परीक्षण गर्दैछ । फाइभजी प्रयोग गर्न भने त्यसलाई सपोर्ट गर्ने मोबाइल आवश्यक पर्छ ।