• १३ असोज २०८१, आइतबार

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ सेमिफाइनलमा

blog

एपीएफका लागि १ सय ३० रनको शतकीय इनिङ खेलेपछि आसिफ शेख । तस्बिर : नेपाल क्रिकेट संघ

काठमाडौं, कात्तिक १९ गते । कर्णाली प्रदेशमाथि ४४ रनको जित निकाल्दै विभागीय टोलीएपीएफ काठमाडौंमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा शनिबार भएको खेलमाएपीएफले कर्णालीलाई ४४ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । एपीएफले दिएको दुई सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ९० रन मात्र बनायो । कर्णालीका लागि रविन्द्र  शाहीले ८० रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सक्नु भएन । यस्तै विपिन शाहीले ३४ रन जोड्दा अर्जुन घर्तीले २४ तथा दिनेश अधिकारीले २० रन बनाउनुभयो । एपीएफका मौसम ढकालले ४, कमल ऐरी र भुवन कार्कीले २/२ विकेट लिनुभयो । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले आसिफ शेखको शतकीय पारीको सहयोगमा ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ३४ रन बनाएको थियो । एपीएफका लागि आसिफ शेखले १ सय ३० रनको शतकीय इनिङ खेल्नुभयो । १ सय ३६ बलको सामना गर्नुभएका  आसिफले १५ चौका र एक छक्का प्रहार गर्नुभयो । 

यस्तै भुवन कार्कीले २३ रन जोड्दा प्रदीप ऐरीले २० रन बनाउनुभयो । लोकेश बम र दीपक बोहराले १०/१० रन मात्र बनाउनुभयो । कर्णालीका दीपेन्द्र रावत र प्रकाश जैसीले ३÷३, दिवन पुनले २ विकेट लिनुभयो । जितसँगै एपीएफले चार खेलमा ७ अङ्क जोडेर अन्तिम चारमा स्थान पक्का गरेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । कर्णालीले भने लगातार दोस्रो हार भोगेको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार मुलपानी मैदानमा सम्पन्न खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई ९२ रनले पराजित गरेको छ । मधेसले दिएको २ सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ५० ओभर सकिन एक ओभर बाँकी रहँदा सबै विकेट गुमाएर मात्र १ सय ६७ रन बनाउन सक्यो । 

जवाफी ब्याटिङ गरेको लुम्बिनीका लागि विशाल विक्रम केसीले सर्वाधिक ३४ रनको पारी खेल्दा कृष्ण कार्कीले ३१, सन्दीप रिजालले २३ र बसिर अहम्मद तथा मोहम्मद हुसेनले समान १५ रनको पारी खेल्नुभएको छ । 

यस्तै अभिषेक गौतम दुई रनमा अविजित रहनुभयो । लुम्बिनीको इनिङलाई सस्तैमा रोक्ने क्रममा मधेसका राजेश यादव र प्रदीप पासवानले समान ३/३ विकेट लिनुभयो । यस्तै हरिशंकर साहले दुई विकेट निकाल्दा रुपेश सिंहको नाममा एक विकेट रह्यो।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेसले ४८ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो । ओपनर सन्तोष कार्की र हरिशंकर शाहले अर्धशतकीय पारी खेल्नुभयो । सन्तोषले ५० रन बनाउँदा हरिशंकर शाहले ७६ रनको  व्यक्तिगत स्कोर बनाउनुभयो । 

यस्तै अनिल साहले पनि अर्धशतकीय पारी खेल्दा विवेक यादवले २१, मोहम्मद आदिल अलामले १२ रन जोड्नुबाहेक अन्यले राम्रो स्कोर बटुल्न सक्नुभएन । मधेसको सबै विकेट निकाल्ने क्रममा कृष्ण कार्कीले सर्वाधिक तीन, अनिल खरेलले २ विकेट निकाल्दा बसिर अहम्मद, देव खनाल, मोहम्मद हुसेनको नाममा एक/एक विकेट रह्यो ।

प्रतियोगितामा आइतबार दुई खेल हुनेछन् । मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब तथा कीर्तिपुर मैदानमा प्रदेश १ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ।