• ११ मंसिर २०८१, मङ्गलबार

‘लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि गठबन्धनको विकल्प छैन’

blog

कोणसभालाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोर । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, कात्तिक १९ गते । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठोरले नेपाली कांग्रेसको नेतृत्वमा मात्रै नेपालमा विकास, स्थायित्व र समृद्धि हुने बताउनुभएको छ।

बाँके क्षेत्र नम्बर-३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सहमहामन्त्री राठोरले चुनावी सभालाई सम्बोधन गर्दै संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि गठबन्धनको विकल्प नरहेको बताउनुभयो।

लामो समयमसम्म जनताले गरेको सङ्घर्ष, बलिदान र त्यागबाट प्राप्त भएको  संविधान र लोकतन्त्रको रक्षाका लागि सबै नेपाली पुनः एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । सहमहामन्त्री राठोरले निर्वाचनले देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउने बताउनुभयो।

‘हामीले चुनाव जितेपछि गर्न सक्ने काम मात्रै जनतालाई भन्ने हो । गर्न नसक्ने झुटो आश्वासन दिने होइन,’ उहाँले भन्नुभयो ‘कांग्रेसले अहिलेसम्म जनतालाई झुटो आश्वासन दिएको छैन, अब पनि जनतालाई झुटो र उधारो आश्वासन दिँदैन । संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि गठबन्धनको जित आवश्यक छ ।’ 

गठबन्धनले जितेपछि बाँके क्षेत्र नम्बर-३ मात्र नभएर सिङ्गो मुलुकको समृद्धि र विकास हुने उहाँको भनाइ छ।