पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, असार २१ गते । पश्चिम नवलपरासीको सुनवल र बर्दघाट नगरपालिकामा सञ्चालित विभिन्न मासु पसलहरूमा गरिएको अनुगमनको क्रममा अस्वस्थ्यकर मासु भेटिएको छ । पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्रवणकुमार चौधरीका अनुसार जिल्ला अनुगमन टोलीले सुनवलका ६ वटा र बर्दघाट नगरपालिकाका ९ वटा गरी कुल १५ वटा मासु पसलको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा अधिकांश मासु पसलहरूले न्यूनतम मापदण्ड पूरा नगरेको, सरसफाइमा ध्यान नदिएको, पसल दर्ता र नवीकरण नगरी सञ्चालन गरेको, मूल्य सूची व्यवस्थापन नगरेको र अस्वस्थकर मासु बिक्रीका लागि राखेको पाइएको थियो ।
यस क्रममा २८ किलोभन्दा बढी अस्वस्थकर मासु बरामद गरिएको छ भने एउटै पसलबाट १७ वटा खसीबोकाको अस्वस्थकर टाउको फेला परेको छ । बर्दघाट नगरपालिका– ४ मा रहेको हाम्रो मासु पसलबाट १७ वटा खसीबोकाको अस्वस्थकर टाउको बरामद भएको थियो । यसैगरी, बर्दघाटकै सलिम मासु पसलबाट ४ किलो अस्वस्थकर मासु फेला परेको थियो ।
अनुगमनका क्रममा २५ किलो खसीको मासु र दुई किलो कुखुराको मासु अस्वस्थकर अवस्थामा बरामद गरियो । बरामद भएको सम्पूर्ण मासु पशु सेवा विज्ञ केन्द्रले अनुगमन टोलीको रोहवरमा नष्ट गरेको छ ।
अनुगमन टोलीले सबै मासु पसल सञ्चालकहरूलाई नियमसंगत तरिकाले व्यवसाय सञ्चालन गर्न सुझाव दिएको छ । यदि यी सुझावहरू कार्यान्वयन नभएमा आगामी दिनमा नियमानुसार कडा कारबाही गरिने चेतावनी पनि दिइएको छ । यो अनुगमन बजारमा स्वस्थकर मासुको उपलब्धता सुनिश्चित गर्न र उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि महत्त्वपूर्ण कदम मानिएको छ ।
अनुगमन गरिएका पसलहरूमा रेसुङ्गा मिटसप एण्ड फ्रेस हाउस, नौसाद मासु पसल, सुरज मासु पसल, चन्द्र मासु पसल, खुसियाली आलम मासु पसल, सोमई मासु पसल (सुनवलमा) र चिकेन सेन्टर पंचनगर, कुरैसी मासु पसल, सप्तरङ्गी मिट मार्ट, बर्दघाट मासु पसल, सलिम मासु पसल, हाम्रो मासु पसल ९बर्दघाटमा० रहेका थिए ।