• १४ असार २०८१, शुक्रबार

निहारिकाको छोरोको डिएनए शिवराजसँग मिल्यो

blog

निहारिका राजपुत । फाइल तस्बिर

लक्ष्मी चौधरी

जनकपुरधाम, कात्तिक १८ गते। कुमारी आमा  निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी शिवराज श्रेष्ठसँग मिलेको छ।

करिब नौ महिनाको सङ्घर्षपछि महोत्तरी जिल्ला जलेश्वरकी निहारिका राजपुतको छोराको डिएनए धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का शिवराज श्रेष्ठसँग मिलेको हो।

विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको निहारिकाले जानकारी दिनुभयो।

निहारिकाले  २०७९ साउन २७ गते राष्ट्रपति कार्यालय, शीतल निवास अगाडि आत्मादाहको प्रयास गर्नु भएको थियो। त्यसपछि भदौ ५ गते तत्कालीन कानुनमन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति भएपछि निहारिकाले अनशन तोड्नु भएको थियो ।

सहमतिमा उहाँको माग बमोजिम आरोपी श्रेष्ठसँग कुमारी आमा निहारिकाको बच्चाको डिएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो। त्यसक्रममा भएको राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा छोरा र श्रेष्ठको डीएनए जाँच भएको थियो। सो डीएनए रिपोर्ट श्रेष्ठसँग छोरासँग मिलेको शुक्रबार सार्वजनिक गरेको निहारिकाले बताउनुभयो।

डिएनए रिपोर्ट आएता पनि सार्वजनिक गर्न नमानेपछि शुक्रबार निहारिका प्रधानमन्त्री निवास बालुवाटार गएर धर्नामा बस्नुभएको थियो। सो धर्ना पश्चात् रिपोर्ट सार्वजनिक गरिएको निहारिकाले बताउनुभयो। 

बच्चा शिवराजकै रहेको निहारीकाको दाबीपछि उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गएको भदौ ८ गते दुवै जनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो।