शङ्कर केसी
सल्यान, मङ्सिर २७ गते । नेपाल मगर सङ्घ सल्यान जिल्ला समन्वय समिति सल्यानको नयाँ कार्यसमिति चयन भएको छ ।
दशौं जिल्ला अधिवेशनले हर्क पुन मगर अध्यक्ष रहेको आठ सदस्यीय कार्यसमिति चयन गरेको हो । यसैगरी अधिवेशनबाट तिलक पुन मगर उपाध्यक्ष, विजय राना मगर सचिव, टीकाराम पुन मगर सहसचिव र सीता घर्ती मगर कोषाध्यक्षमा चयन हुनुभएको छ ।
सदस्यहरूमा बलबहादुर कवँर मगर, महेन्द्र पुन मगर र पुष्पा घर्ती मगर रहनु भएको छ । अन्य सदस्यहरू पछि थप गरिने मगर सङ्घले जनाएको छ ।
त्रिवेणीको लुहाममा आयोजना भएको अधिवेशनमा नेपाल मगर सङ्घ केन्द्रीय समिति सदस्य ठगेन्द्र पुन मगर, सङ्घका कर्णाली प्रदेश समिति उपाध्यक्ष बेलबहादुर घर्ती मगर, केन्द्रीय समितिका पुर्व उपाध्यक्ष निम बुढा मगर, नेपाल मगर सङ्घ सल्यान काठमाडौँ सम्पर्क मञ्चका टीकाराम पुन मगर, बौद्ध सेवा समाजका बलबहादुर कवँर मगर लगायतको सहभागिता थियो ।
मगरात सभ्यता सहितको समृद्ध मगर समाज भन्ने मूल नाराका साथ यम थापा मगरको अध्यक्षतामा सम्पन्न अधिवेशन समारोहको सहजीकरण पुष्कर बबाल मगरले गर्नु भएको थियो ।